चिसापानी–हुवास सडक निर्माणमा ढिलाइ

पर्वत : पर्वतको दक्षिण भू–भागलाई राष्ट्रिय राजमार्गसँग जोड्ने चिसापानी–हुवास–डुँड सडकको स्तरोन्नतिको काम समयमा पूरा नहुने भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
एसियाली विकास बैंकको सहयोगमा ग्रामीण पुनर्निर्माण तथा पुन:स्थापना आयोजनाले सुरु गरेको सडकको स्तरोन्नतिको सबै काम पूरा हुन नसक्ने स्थानीयवासीको चिन्ता रहेको छ । सडकका कजवे, स्ल्याब राख्ने तथा ह्युमपाइप राख्ने काम अधुरै रहने स्थानीयवासीको चिन्ता छ । सडक निर्माणको अन्तिम म्याद जुन ३० मा सकिने भए पनि कजवेको काम अधुरै छ भने स्ल्याब राख्ने र ह्युमपाइप राख्ने काम पूरा भएका छैनन् ।
सडकबारे स्थानीय शासन तथा जवाफदेही संयन्त्र
(एलजिएएफ)के सहयोगमा सिक्रेड नेपालले गरेको सार्वजनिक बहस कार्यक्रममा सहभागी स्थानीय राजनीतिक दलका प्रतिनिधि र सर्वसाधारण उपभोक्ताले सडकका बाँकी काम पूरा हुन नसक्ने अवस्थामा रहेकाले छिटो पूरा गर्न आग्रह गरेका थिए ।
‘बाटोमा बनाउने भनिएको कजवे र अन्य संरचनाको काम हुन सकेको छैन’ स्थानीय ताराप्रसाद न्यौपानेले भने, ‘काम पूरा नहुदै आयोजनाको म्याद सकिनुहुन्न, म्याद थप गर्न पहल हुनुपर्छ ।’
करिब पाँच करोड ५१ लाख रुपियाँको लागतमा स्तरोन्नति भइरहेको सडकमा करिब १२ लाख रुपियाँको लागतमा बन्ने तीनवटा कजवे पूरा भएका छैनन् ।
खोलामा पानीको बहाव बढेपछि नयाँ कजवेको काम थाल्न कठिन भएको छ भने सुरु भएको कजवेमा पनि पूरा नहुँदै सवारीसाधन गुडाएका कारण काम नलाग्ने अवस्थामा पुगेका छन् । चौध ठाउँमा ह्युम पाइप र पिभिसी पाइप राख्ने काम पूरा भएको छैन । ग्रामीण पुनर्निर्माण तथा पुन:स्थापना आयोजनाका जिल्ला आयोजना प्रमुख ओमबहादुर केसीले सडक स्तरोन्नतिको अधिकांश काम पूरा भएको बताए । उनले केही मर्मत र बाँकी काम पनि पूरा हुने आश्वासन स्थानीयवासीलाई दिए ।
‘आयोजनाको सबैजसो काम पूरा भएकाले भत्केका नाली बनाउनेलगायत काम एक वर्षको मर्मत अवधिमा पनि पूरा गर्न सकिन्छ,’ उनले भने । छलफलमा स्थानीयवासीले नाली निर्माणमा गुणस्तर कायम नभएको, ग्राबेल मात्राअनुसार नबिच्छाइएको, बायो–इन्जिनियरिङको काम पूरा नभएको, नालीमा स्लेप नराखिएको, कल्र्भट पूरा नभएको, नालीको फाउन्डेसन एक मिटर हुनुपर्नेमा ८० सेमि भएको, धेरै ठाउँमा बालुवा बढी प्रयोग गर्दा नाली भत्केको र पुरिएको गुनासो गरेका थिए ।
कार्यक्रममा स्थानीय शासन तथा जवाफदेही संयन्त्रका अध्यक्ष डा. प्रेम शर्माले स्थानीय विकास निर्माण तथा सेवाको समुदायमा आधारित अनुगमनबाट यसमा भएका त्रुटिलाई सच्याउने तथा राम्रा सिकाइलाई अन्यत्र प्रयोग गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा सिक्रेड नेपालका टिम लिडर टीकाराम भुसालले जनताबाट उठेका सवाल र जवाफदेही निकायबाट प्राप्त भएका प्रतिबद्धता पढेर सुनाए ।

प्रतिक्रिया