२५ वर्षदेखि थाँती रहेको जापानी आत्मीयता

Yosiyo-Aabe‘एक जना मेरो व्यक्ति नजिकै आए । उनको पोसाकमा गरिबी झल्किन्थ्यो । त्यसअघि नजिक आएका उनीजस्ता व्यक्तिहरू मसँग पैसा माग्दै हात पसार्थे । कि त सुकेका फूलका गुच्छा देखाउँदै ‘किनिदेऊ’ भनिरहेका हुन्थे । तर, यी व्यक्तिको व्यवहारमा सहयोगको अपेक्षा थिएन, बरु आत्मीयता बाँडे । भने, ‘तपाईं कुन ठाउँबाट आउनुभयो ? के कामका लागि, यहाँ कस्तो अनुभव भइरहेको छ ?’ यस्तो आत्मीय व्यवहार देखाउने व्यक्ति कहाँको होला ? उनका बारेमा जान्न मन लाग्यो मलाई । पछि थाहा पाएँ– मलाई फूल बेच्ने, नगद सहयोग माग्ने व्यक्ति भारतीय रहेछन् । अनि, आत्मीयतापूर्वक मेरो परिचय खोज्ने व्यक्तिचाहिँ नेपाली ।’

जापानी नागरिक योसियो आवेले २५ वर्षअगाडि भारतयात्राका क्रममा भोगेको अनुभव हो यो । त्यति बेलासम्म उनले नेपाल देखेका थिएनन् । न त नेपालीहरूका बारेमा जानकारी नै थियो । कलेजजीवनमा दक्षिण अफ्रिका, सोमालियालगायत गरिब मुलुकबारे पढ्ने क्रममा उनले नेपालको नाम पनि सुनेका थिए । उनलाई त्यतिबेला यत्ति थहा थियो, नेपाली गरिब छन् । जापानी नागरिक योसियोलाई भारतमा पाएको नेपाली आत्मीयताले लामो समयसम्म तानिरह्यो ।
जापानका व्यस्त जीवन बाँच्ने नागरिकहरूको भीडमा योसियो पनि आफ्नो करियर खोज्दै भौँतारिइरहे । उनको हृदयले आत्मीयताले भरिएको स्पर्श नेपाल आएर बाँड्ने चाहना गरिरहेको थियो । तर, व्यस्त जीवनभित्रको लहरोमा उनी अल्झिरहे । आत्मीयताभन्दा पनि बढ्दै गएको उपभोक्तावादभित्रको विकासे चंगुलमा फसिरहे योसियो ।
२५ वर्षपछि अर्थात् अहिले योसियो नेपाल आइपुगेका छन् । पहिलोपटक २५ वर्षअघिको स्मृति पुनर्ताजगी गर्दै छन्, नेपालीहरूको आत्मीयतामा रमाउँदै । पहिलोपटक एक साताअघि नेपाल आएका उनले परिवारको न्यानो माया नपाएर आनाथालयमा हुर्किरहेका बालबालिकाहरूसँग आत्मीयता बाँडे । ‘नेपाली इमानदार र आत्मीय हुन्छन्,’ नेपाल आएपछि पाएको व्यवहारबारे उनले यत्ति प्रतिक्रिया दिए ।
उपभोक्तवादभित्र हराउँदै गएको काठमाडौंको व्यस्त सहरमा पनि उनले आत्मीयता बाँड्ने नेपाली भेटे । आमाबाबुको न्यानो काख चुँडिएका आश्रयविहीन बालबालिकाहरूबाट अझ न्यानो आत्मीयता पाए । भक्तपुरमा रहेको नवयुवा बालसुधार केन्द्रमा गएर फर्किएपछि अझ प्रफुल्लित देखिए आवे । भक्तपुरमा ४६ जना बालबालिकासँग अन्तरक्रिया गरे । जापानी भाषामै भने, ‘साँच्चिकै नेपाली सुन्दर, इमानदार र असल छन् ।’
०००
योसियो आवे जापानको सेइतोक्यु कम्पनीका अध्यक्ष हुन् । उनको कम्पनी संसारमै उत्कृष्ट तालिम दिने संस्थाका रूपमा प्रख्यात छ । विभिन्न प्रकारका निर्माण तथा केयर गिभरलगायत तालिम कम्पनीले प्रदान गर्छ । योसियो आवे ती तालिम नेपाली युवामा पनि विस्तार गर्न चाहन्छन् । ‘दोस्रो विश्वयुद्धपछाडि जापान तहसनहस भयो । हिरोसिमा र नागासाकी शहर त ध्वंस नै भयो । अमेरिकाले जापानलाई ध्वंस गराए पनि अन्तत: हामीले अमेरिकासँगै सीप लिएर देश बनायौँ ।’ नेपालको वर्तमान अवस्थालाई द्वितीय विश्वयुद्धपछिको जापानको परिदृश्यसँग तुलना गरे उनले ।
अहिले नेपालका म्यानपावर सस्तो मूल्यमा विदेशी बजारमा खरिद भइरहेको तथ्यबाट पनि लुकेका छैनन् आवे । जापानमै पनि सस्तो मूल्यमा पाइने कामदारका रूपमा चिनिन्छन् नेपाली । एकातिर श्रमको सस्तो मोल, अर्कोतिर नेपाली युवाको विदेसिने क्रम तीव्र । ‘नेपालका युवाहरूलाई सीप दिएर देशको विकासका लागि लाग्न प्रेरित गर्ने चाहना छ’, पहिलोपटक नेपाली भेटिएको साढे दुई दशकपछि नेपाल खोज्दै आउनुको तथ्य खुलाए उनले । आवे आफ्नो कम्पनीबाट नेपाली युवाहरूलाई दक्ष बनाएर स्वदेश नै फिर्ती गराइदिन चाहन्छन् । यही वर्षबाट नेपालमा जापानी सीप प्रदान गर्ने उद्देश्यले आएका आवेका अनुसार पहिलो चरणमा दुई सय जना नेपाली युवालाई तालिम दिने योजना छ । सोही योजनाअनुसार दश जना नेपाली युवा छनोट पनि गरिसके उनले । ‘१८ देखि २५ वर्ष उमेरभित्रका नेपाली युवा जापान लैजान्छाँै,’ आवेले भने, ‘तीन महिनासम्म लाग्ने तालिम खर्च सबै कम्पनीले नै बेहोर्छ । उनीहरूलाई सीपयुक्त युवा बनाएर स्वदेश फर्काइदिन्छौँ ।’
जापानका नागरिकले गरेको परिश्रमले देशको उन्नति भएको उदाहरण दिँदै उनले हातमा सीप हुनेले अवसर पनि पाउने बताए । स्पेक नेपाल नामक संस्थाको समन्वयमा उनी नेपाल आएका हुन् । नेपालमा अवसरको विस्तारका लागि आवेकै पहलमा नेपालमा कम्पनी सञ्चालनको पहल पनि थालिएको छ । यद्यपि, उनले नेपाली युवालाई तालिम दिएर आफ्नै कम्पनीको लागि म्यानपावर तयार गर्नु मात्रै लक्ष्य नभएको बताए ।
प्रत्येक वर्ष ५० जनाका दरले तालिमका लागि जापान लैजाने योजनाअनुरूप नेपाल आएका आवेले ‘टेक्नोलोजी ट्रान्सफर’ को लागि अभियान थालेको पनि बताए । एउटा नेपालीले गरेको आत्मीय व्यवहारले तानिएर आवे नेपालीहरूलाई अवसर दिन तयार भएका छन् । विशिष्ट प्रकारको सीप सिक्ने व्यक्तिहरूलाई पुन: सिकाइने पनि उनले जानकारी दिए । सीप हस्तान्तरणका लागि सहभागी हुने नेपाली युवाहरूले सभ्य व्यवहार प्रदर्शन गर्न सके आवेजस्तै नेपाललाई दीर्घकालीन विकसित बनाउने सोच भएका व्यक्तिहरूको ध्यान पनि तान्न सकिन्थ्यो कि †

प्रतिक्रिया