युवा लक्षित कार्यक्रमको खाँचो

Shiba-raj-Bhandariसमय आफ्नै गतिमा परिवर्तन भइरहन्छ भने युवाकालीन सपनाहरू समय र परिवर्तित सामाजिक परिवेशबाट निर्देशित हुन्छन् । भोलिको सामाजिक परिवेश कस्तो हुनेछ भन्ने कुराको निक्र्यौल आज राज्यस्तरबाट बुनिएको योजना र कार्यक्रमहरूमा भर पर्छन् । देशको उज्ज्वल भविष्य चाहने हो भने हामीले आज अहिल्यैदेखि काम सुरु गरिहाल्नु पर्नेछ । देशको भविष्य आगामी २० वर्षपछि कस्तो हुन्छ भन्ने कुराको प्रक्षेपण हामी आजको योजना र कार्यबाट गर्न सक्छौँ । हामी सबै अन्दाज गर्न सक्छौँ आजको काम गराइले नेपाल र नेपालीको भविष्य पक्कै सुनौलो हुने छैन, भविष्य अझै डरलाग्दो हुनसक्नेछ । राजनीतिक अस्थिरता र अदूरदर्शीता, वैदेशिक हस्तक्षेप, कूटनीतिक असफलता, न्यायिक अविश्वसनीयता, सामाजिक अराजकता, व्याप्त भ्रष्टाचार, सांगठनिक अपराध र गुन्डागर्दी प्रवृत्तिलाई बढावा, कर्मचारितन्त्रको गैह्रजिम्ेवारीपन, प्रशासनिक संयञ्त्रको असफलता, दण्डहीनता यी कुराले नेपाल र नेपालीको भविष्यलाई कष्टकर र पीडादायी खाँेचतर्फ घिसारिराखेको छ । जसले भविष्यमा कत्रो क्षति पुर्‍याउनेछ जसको आंकलन गर्न आज धेरै गाह्रो छ । त्यसमाथि लक्ष्यहीन बेरोजगार युवाहरूको ठूलो जमात जसले ठूलो शक्ति बोकिराखेको छ, यदि यी बेरोजगार युवाहरू संगठित अपराधतर्फ लागे भने राज्यले यो शक्तिलाई रोक्न सक्ने छैन । उनीहरूको काँधमा बन्दुक राखेर जो कोहीले पनि जोसुकैको छातीमा गोली हान्न सक्छन् । यो कुरा विगतले देखाइसकेको छ ।

हामीले कहिल्यै पाठ सिकेनौँ, कसैलाई आफूभन्दा जान्ने देखेनौँ, कसैको अर्ती मानेनौँ र अर्ती दिएको पनि मनपराएनौँ । सिक्ने हो भने छिमेकी देश टाढा छैनन्, भारत र चीनलाई हेरौँ । उनीहरूले छोटो समयको अन्तरालमा गरेको आश्चर्यलाई हेरौँ । एक अध्ययनका अनुसार आज संसारका सबैभन्दा उच्च मनोबल भएका युवा चीन र भारतका युवालाई मानिन्छ किनकि उनीहरू विश्वका अन्य मुलुकका युवाभन्दा बढी महत्त्वाकांक्षी र भविष्यप्रति आसावादी छन् । उनीहरूलाई अहिलेको पुस्ताले सही बाटो देखाइरहेका छन् । उनीहरू यो विश्वास गर्छन्– आगामी दिनहरू उनीहरूका लागि स्वर्णिम हुनेछन्, सरकारप्रति उनीहरूलाई पूर्ण विश्वास छ र उनीहरू नेतृत्वप्रति भरोसा राख्छन् । उनीहरूलाई सानैदेखि यो छाप परेको हुन्छ कि रामं्रो कामको नतिजा पुरस्कार हुन्छ र नराम्रो र आपराधिक कामको नतिजा जेल । हामीले हाम्रा युवालाई यस्तो शिक्षा दिन सकेनौँ र सामाजिक परिवेशबाट पनि उनीहरूले राम्रो कुरा पनि सिक्न सकेनन् यो कुरा हामीले मान्नु पर्छ । नेपाली युवा जमातको बीचमा एउटा उखान लोकप्रिय छ ‘जहाँ पाप त्यहाँ फलिफाप ।’ हाम्रा ९० प्रतिशत युवा बिनालक्ष्य हिँडिरहेका छन्, यो सत्य हो । उनीहरू स्वयंलाई आफ्नो भविष्यको लक्ष्य के हो ? कसरी प्राप्त गर्ने थाहा छैन । अगाडि जे आइपर्छ त्यो नै उनीहरूको काम हुने गर्छ । बाटोमा ढुंगालाई भकुन्डो खेल्दै हिँडेको बेरोजगार युवाले अगाडि नारा जुलुस भइराखेको देख्यो भने ऊ त्यसैमा सामेल हुन्छ र बिनालक्ष्य नारा लगाउन थाल्छ, बाटोमा काटाकाट र ढुंगामुढा भएको देख्यो भने त्यो दिनको उसको काम त्यही नै बन्न जान्छ मतलब उसको दैनिकी निश्चित हुँदैन जसले जे गरौँ भन्यो ऊ त्यही गर्छ जसले जता जाऊँ भन्यो ऊ त्यतै लाग्छ । प्राय: शिक्षित अशिक्षित सबै युवाको एउटै सपना हुन्छ रातारात पैसा कमाउने, मोजमस्ति गर्ने र सानको जिन्दगी जिउने । रातारात पैसा कमाउन उनीहरू जस्तोसुकै काम गर्न तयार हुन्छन् । पूर्वराजालाई पैसाको लोभमा चप्पल हान्नेदेखि संगठित अपराधीको इसारामा लागुऔषध ओसारपसार, ज्यानमार्ने र अपहरण गर्ने यी घटनाहरू राम्ररी अध्ययन गर्ने हो भने सबै घटनामा समानता देखिन्छ । धटनामा संलग्न सबै युवा र किशोर किशोरी थिए, सबै बेरोजगार थिए, सबैको उद्देश्य पैसा कमाउनु नै थियो सबैजना अन्य समूहबाट पैसाको प्रलोभनमा पारिएका थिए । यस्ता युवाहरूतर्फ समयमै ध्यान दिन सकिएन भने उनीहरूको खालि दिमागलाई अराजक तत्वले आफ्नो अनुकूल घातक कार्यमा प्रयोग गर्न सक्छन् र जतिसुकै बेला अप्रिय घटना घटाउन सक्छन् जसको आधा जिम्मेवार राज्य पनि हुनेछ । अन्य देशमा बेरोजगार युवाको जमात बढ्दा समग्र देशको नीति नियममा नै परिमार्जन गरी सोही अनुरूपको युवा लक्षित कार्यक्रम ल्याउँछन् । उनीहरूलाई थाहा छ कि युवा उमेर आफँैमा अपराधोन्मुख उमेर हो त्यसमाथि बेरोजगारी र अपराध त एक अर्कोका पर्याय नै हुन् । विडम्बना हाम्रो देशमा हालसम्म उत्पादनशील कार्यमा योगदान गर्नसक्ने युवा कति छन् भन्ने कुराको यकिन तथ्यांक पनि राज्यसँग छैन ।
कहिलेकाँही अन्य युवा साथी र किशोरकिशोरीसँगको अन्तक्र्रियामा उनीहरूसँग देश र राजनीतिप्रतिको सोचाइ बुझ्ने कोसिस गर्छु । उनीहरूको सोचाइ र जवाफबाट म डरलाग्दो निष्कर्षमा पुग्छु । मैले उनीहरूबाट ३ किसिमको सोचाइ पाउँछु– पहिलो शक्तिको भक्ति गर्नुपर्छ र लाभ लिनुपर्छ भन्ने सोचाइ, दोस्रो निरासावादी सोचाइ र तेस्रो आक्रोश ।
पहिलो सोचाइ भएका समूहका युवा जो विश्वास गर्छन् कि शक्ति केन्द्रजस्तै उच्चपदस्थ सरकारी अधिकारीहरू, पहुँचवाला व्यक्तिहरू, राजनीतिक नेता र मन्त्रीहरूको विश्वास पात्र हुने, छोटो समयमा नै मालामाल हुने असहज परिस्थिति आएमा उनीहरूकै संरक्षणमा बस्ने । यस्ता वर्गका युवा शक्तिकेन्द्रको इसारामा अपराधिक क्रियाकपालमा सलग्न हुन हिचकिचाउँदैनन् । उनीहरू शक्तिकेन्द्रको छहारीमा सुरक्षित महसुस गर्छन् ।
दोस्रो वर्गका निराशावादी युवा सोच्ने गर्छन्– देशमा केही प्रगति हुनेवाला छैन् । आज जस्तो छ २५ वर्षपछि पनि यस्तै नै रहिरहनेछ सत्तामा पुग्ने नेताहरू पुरानै हुन् जसको कुनै भिजन नै छैन । मलाई त नेपालमा बस्नै मन लाग्दैन, कुनै कुराको पनि अवसर छैन, काम गर्ने वातावरण छैन आफ्नो गरिखान पनि दिँदैनन् । नेता र तिनका अरौटेभरौटेहरूले यो देश बिगारे खत्तम पारे, अब विदेशतिर लाग्छु । सपरिवार जान पाए जिन्दगीभरि कहिल्यै पनि नेपाल फर्किन्न ।
तेस्रो वर्गका आक्रोशित समूह जो राजनीतिको बारेमा चासो नै राख्दैनन् र उनीहरूसँग नेता र राजनीतिका बारेमा कुरा गर्नासाथ आक्रोशित हुँदै राजनीतिमा संलग्न जमातलाई अश्लील गाली गर्दै उनीहरूका विरुद्ध विष वमन गर्छन् । र, भन्छन्– यो देश तहसनहस र अस्तव्यस्त पार्ने भनेकै भ्रष्ट नेताहरू हुन् यदि देश बनाउनु छ भने यी सबैलाई एक एक गरी समाएर आजीवन जेलमा कोच्नुपर्छ र सक्षम नयाँ पुस्तालाई राजनीतिमा ल्याउनुपर्छ । यो समूहको जमात अन्य समूहभन्दा ठूलो छ ।
सबै समूहका सोचाइ र सपनाहरूले हाम्रा ऊर्जावान युवाहरूको प्रतिनिधित्व गर्छन् । यी सोचाइ देशमा हाल भइरहेको सामाजिक परिवेशले नै जन्माएको हो भन्दा फरक पर्दैन । सबै समूहको सोचाइ गलत हो यसले देशको उन्नति र प्रगतिमा कुनै पनि योगदान गर्न सक्दैन । यदि समयमा नै युवाहरूको मनोविज्ञानलाई अध्ययन गरी हरेकदिन व्यस्त राख्ने र आत्मनिर्भर नबनाउने हो भने यी युवा जमात देशका लागि उत्पादनशील ऊर्जा होइनन् भयावह स्थिति जन्माउन सक्ने कारक बन्नेछन् । त्यसैले सकेसम्म चाँडै राज्यका तर्फबाट युवाको व्यवस्थापनका लागि छुट्टै नीति र कार्यक्रम ल्याउनु जरुरी देखिन्छ । अन्यथा कुनै पनि बेला देशमा फेरि पुरानै संकट नदोहोरिएला भन्न सकिन्न ।

प्रतिक्रिया