खोटोबाट एक करोडभन्दा बढी आम्दानी

khotoरोल्पा, १३ असार । चालु आर्थिक वर्षमा मात्रै रोल्पाका एक सय ५१ सामुदायिक वन समूहले सल्लाको खोटो बिक्रीबाट एक करोड २९ लाख ९३ हजार ३ सय ७४ रुपियाँ आम्दानी गरेका छन् । ४१ हजार ६ सय ५६ क्विन्टल दुई किलो खोटो संकलन गरी सामुदायिक वनले लाखौँ आम्दानी गरेका हुन् ।

खोटो सामुदायिक वनले प्रति किलो ६ रुपियाँका बेचेको गणपति रोजिन एन्ड टर्पेनट्राइन प्रालिका प्रमुख रेशम आचार्यले जानकारी दिए । जिल्लाका जेदबाङ, कोटगाउँ, गैरिगाउँ, दुबिडाँडा, सखी, डुब्रिङ, लिवाङ, धबाङ, खुमेल, नुवागाउँ, मिझिङ, जौलीपोखरी, मसिना, करेटी, बूढागाउँलगायतका गाविसका सामुदायिक वन समूहबाट खोटो संकलन गरिएको थियो । गणपति रोजिन एन्ड टर्पेनट्राइन प्रालिले जिल्ला वन कार्यालय तथा सामुदायिक वन समूहसँग सम्झौता गरी १० वर्षदेखि रोल्पाका सामुदायिक वनबाट खोटो संकलन गर्दै आएको छ ।
सम्झौता गरिएका सामुदायिक वन समूहले संकलन गरिएको खोटोको तौलका आधारमा जिल्ला वन कार्यालयमार्फत रकम प्राप्त गर्ने बताएका छन् । सुरुमा १० वर्षका लागि सम्झैता गरी २०६० सालदेखि खोटो संकलन कार्य सुरु गरेको भएता पनि हाल पुन: पाँच वर्ष थपगरेर काम भइरहेको प्रालि रोल्पाका प्रमुख आचार्यले बताउनुभयो ।
सामुदायिक वनबाट संकलन भएको खोटो नेपालगञ्जमा प्रशोधन गरी औषधि तथा अन्य प्रयोजनका लागि भारत निर्यात हुने गरेको छ । वन उपभोक्ता समूहले जोगाएर राखेको सामुदायिक वनमा रहेको सल्लाका रूखबाट संकलित खोटो बिक्रीबाट प्राप्त भएको रकम वन समूहले आफ्नै गाउँको सामाजिक हित तथा आयआर्जनका क्षेत्रमा लगाउँदै आएको प्रगतिशील सामुदायिक वन समूह जेदबाङका अध्यक्ष जुद्धबहादुर पुनले बताए ।
रकमलाई शिक्षा, खानेपानी, मोटरबाटो निर्माण कार्यमा लगाउनुका साथै स्थानीय आमा समूह, युवा क्लव तथा अन्य कुनै संघ/संस्थाले व्यवसाय सञ्चालन गर्न चाहेमा दुई प्रतिशत व्याजदरमा ऋण दिँदै आएको पुनले बताए ।

प्रतिक्रिया