‘एमालेसँग तत्काल पार्टी एकीकरण हुँदैन’

umlकाठमाडौं, १२ असार । नेकपा (माले) तत्काल एमालेसँग पार्टी एकीकरण हुन नसक्ने जनाएको छ ।
अध्यक्ष झलनाथ खनालको निवास डल्लुमा आज (बुधबार) भएको एमाले र मालेका शीर्ष नेताहरुको वार्तामा मालेका महासचिव सीपी मैनालीले दुई पार्टी एकीकरण तत्काल सम्भव नरहेको जनाएका हुन् ।
पार्टी एकीकरणको सम्भावनाका विषयमा एमाले अध्यक्ष खनालले मालेका महासचिव मैनालीसँग प्रस्ताव गरेका थिए । जवाफमा मैनालीले पार्टी एकीकरण तत्कालको कार्यसूची हुन नसक्ने जनाएको विज्ञप्तिमा उल्लेख छ ।
‘एकीकृत हुने पार्टीहरुको बीचमा सिद्धान्त, नेपाली क्रान्तिका विशेषता, नेपाल राष्ट्र निर्माणको रणनीति, पार्टीका कार्यशैली एवं कार्यपद्धति आदि जस्ता महत्वपूर्ण विषयहरुबारे आपसमा मिलनविन्दु प्राप्त भएको हुनुपर्छ,’ मैनालीले भनेका छन्, ‘अहिलेको आवश्यकता भनेको दुवै दलहरुबीचको सहकार्यलाई अघि बढाउनु र उपरोक्त विषयहरुमा मिलनविन्दु खोज्नको निम्ति वार्ता अघि बढाउने नै हो ।’
शीर्ष तहको वार्तामा समसामयिक राजनीति, संविधानसभा निर्वाचनलाई सुनिश्चित बनाउने र निर्वाचनमा वाम तथा लोकतान्त्रिक शक्तिहरुको सहकार्य सम्बन्धि विषयहरु छलफल भएको जारी विज्ञप्तिमा जनाईएको छ ।
आन्दोलनरत दलहरुलाई समेत निर्वाचन प्रक्रियामा सामेल गर्न/गराउन दुवै पक्षले सक्रियतापूर्वक काम गर्ने सहमति भएको मालेका महासचिव मैनालीले जानकारी दिए ।
वैदेशिक तावेदारीवाद र संकीर्णतावादको विरोध गर्दै राष्ट्रियताको संरक्षण एवं सम्वद्र्धन गर्न, अग्रगामी परिवर्तन तथा लोकतन्त्रको स्थायित्वका लागि सहकार्य गर्दै अघि बढ्ने सहमति पनि एमाले र मालेबीच भएको छ ।
संविधानसभा निर्वाचनमा समेत सहकार्य गर्ने उद्देश्यले सबै वाम तथा लोकतान्त्रिक दलहरुसँग एमाले र मालेले छलफल चलाउने जनाएका छन् ।
वार्तामा मालेका महासचिव सीपी मैनाली, पोलिटब्युरो सदस्यद्वय कुमार बेलबासे र वीरेन्द्र थपलिया तथा एमाले अध्यक्ष झलनाथ खनाल र पोलिटब्युरो सदस्य रघुजी पन्तको सहभागिता रहेको थियो ।

प्रतिक्रिया