पाटन क्याम्पसमा विद्यार्थी संगठनबीच झडप

aakhil umlकाठमाडौं, १२ असार । ललितपुरस्थित पाटन क्याम्पसका स्ववियु सभापति झपेन्द्र खत्रीलगायतका एमाले निकट अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई एमाओवादी समर्थक अखिल क्रान्तिकारीले कुटपिट गरेको छ ।
क्याम्पसको आन्तरिक विवादलाई लिएर आज (बुधबार) अखिल क्रान्तिकारीका नेता तथा कार्यकर्ताले अनेरास्ववियुका विद्यार्थी नेतालाई धारिलो हतियार प्रहार गरेर घाईते बनाएको एमालेले आरोप लगाएको छ ।
अखिल क्रान्तिकारीको कुटपिटबाट पाटन क्याम्पसका स्ववियु सभापति, कोषाध्यक्ष, अनेरास्ववियुका क्याम्पस प्रारम्भीक कमिटीका सचिवलगायतका नेता तथा कार्यकर्ता घाईते भएको एमालेका केन्द्रीय कार्यालयका सचिव पृथ्वी सुब्बा गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एमालेले आफ्नो विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थी नेतालाई स्वयं क्याम्पस प्रमुखले स्ववियुका सम्बन्धमा छलफल गर्न बोलाएर सुनियोजित रुपमा वाई.सी.एल र अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी लगाई कुटपिट गराएको दाबी गरेका छन् ।
धारिलो हतियार प्रहारबाट घाईते आफ्ना विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ । दुई विद्यार्थी संगठनबीचको झडप पछि पाटन क्याम्पस केही समय तनाव पूर्ण भएको थियो ।

प्रतिक्रिया