दाहाल र वैद्यबीच गोप्य भेटवार्ता

Prachand 1mohanकाठमाडौं, १२ असार । एक वर्षअघि विभाजित माओवादीका दुई समूहबीच एकताका लागि औपचारिक संवाद सुरु भएको छ । दुवै पार्टीका नेताहरूबीच व्यक्तिगत तबरमा अनौपचारिक छलफल हुँदै आए पनि पार्टी अध्यक्षको तहमा मंगलबार गोप्य भेटवार्ता भएको हो ।

एमाओवादी नेता कृष्णबहादुर महराको ललितपुरस्थित निवासमा मंगलबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यबीच गोप्य संवाद भएको हो । भेटमा पार्टी एकता र सो सम्भव नभए संविधानसभाको आउने चुनावमा सहकार्य गर्ने विषयमा छलफल भएको स्रोतले बताएको छ । एमाओवादीका तर्फबाट नेता महरा र माओवादीका तर्फबाट सचिव नेत्रविक्रम चन्दको पहलमा यसअघि विभिन्न स्तरमा छलफल हुँदै आएको थियो । दुई माओवादीबीच एकता वार्ता भित्रभित्रै चलिरहेका बेला नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संशोधनवाद र राष्ट्रघातको दिशामा गएको समूहसँग एकता सम्भव नभएको जेठ अन्तिम साता विज्ञप्तिमार्फत भनाइ सार्वजनिक गरेका थिए । एकता असम्भव भएको भनाइ सार्वजनिक गरे पनि भित्रभित्रै सम्भव भएसम्म पार्टी एकता वा नभए चुनावी सहकार्य गर्न छलफल चलाउँदै आएका छन् ।
‘यतिवेला पार्टी फुटको औचित्य दुवै समूहले पुष्टि गर्न सकेका छैनन्,’ एमाओवादीका एक नेताले सौर्यसँग भने, ‘मुलुकको संक्रमणकालीन अवस्थामा किन अलग भएर जाने रु सके पार्टी एकता गर्ने र नभए चुनावमा सहकार्य गरेर भए पनि जान सकिन्छ भनेर कुराकानी भएको हो ।’ उनका अनुसार छलफल र संवाद सुरु भए पनि छलफल ठोस निष्कर्षतिर पुगेको छैन । पछिल्लोपटक हेटौंडा महाधिवेशनबाट एमाओवादीले लिएको राजनीतिक लाइन सुधारवादी हुँदै क्रान्तिको मान्यताविपरीत भएकाले त्यसलाई सच्याउन एमाओवादी तयार भए एकता पनि हुनसक्ने माओवादीका नेताहरूले बताएका छन् ।
‘पछिल्लोपटक पूरै संसदवादी लाइनमा उहाँहरू जानुभएको छ, फेरि क्रान्तिकारी धार पक्रेर परिवर्तनको बाटो समात्न तयार हुने हो भने मात्र एकता हुन्छ,’ नेकपा–माओवादीका एक नेताले भने, ‘त्यसका लागि सम्भावना के के छन् त्यो बुझौँ र पार्टी केन्द्रीय कमिटीको बैठकबाट निर्णयमा पुगौँ भनेर छलफल भएको हुन सक्छ ।’
दुवै पार्टीको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा पार्टी अध्यक्षहरूबीच एकता र सहकार्यका विषयमा छलफल भएको हो । एमाओवादीको केन्द्रीय समितिको बैठक १३ असारमा बस्दै छ भने नेकपा–माओवादीले १५ असारमा पोखरामा केन्द्रीय समितिको बैठक आयोजना गरेको छ । मंगलबार भएको गोप्य भेटवार्तामा एकताको सम्भावना खोज्ने विषयमा दुई पक्षबीच कुरा भएको स्रोतले बताएको छ । ‘सैद्धान्तिक पक्षमा भन्दा पनि भावनात्मक विभेदले पार्टी विभाजन भएको थियो,’ बैठक स्रोतले भन्यो, ‘कार्यनीतिक र अन्य योजनागत विषयमा भएका भिन्नताहरू हटाउन पनि पहिले भावनात्मक रूपले एक ठाउँमा आउनुपर्‍यो भन्ने कुरा भयो ।’
एमाओवादीसमेत सम्मिलित उच्चस्तरीय राजनीतिक समिति र चुनावी सरकार गठनप्रति नेकपा–माओवादी असन्तुष्ट रहेर सडक आन्दोलन घोषणा गरेको छ भने उसले यही सरकारले गराउने चुनावमा सहभागी नहुने बताउँदै आएको छ । तर, एमाओवादी चुनावी प्रक्रियामा सामेल हुनुपर्ने बताउँछ । पार्टी एकता र मधेसी दलहरूसँग चुनावी गठबन्धन नभए पार्टी आउने चुनावमा पराजित हुने अवस्थाका कारण पनि एकतामा जोड दिनुपरेको एमाओवादी नेताहरूको भनाइ छ ।
‘क्रान्तिकारी साख स्पिरिट र जनाधारमा अघिल्लो चुनावमा भन्दा धेरै क्षति भइसकेको छ, यस्तो अवस्थामा अझ पार्टी विभाजित छ,’ एमाओवादी नेताले भने, ‘क्रान्तिकारी शक्तिहरूबीच एकताबाटै चुनावमा परिवर्तनकारी शक्तिलाई सफल बनाउन सकिन्छ भन्ने स्वीकार गर्न पनि एकता अनिवार्य छ ।’ एमाओवादी पार्टी एकता वा मधेसी दलहरूसँगको गठबन्धनविना चुनावी सफलता नपाइने बुझाइमा रहेको र नेकपा माओवादीभित्र राजनीतिक कार्यदिशामै विवाद र अलमल रहेकाले दुवैलाई एकता आवश्यक बन्न गएको ती नेताको भनाइ छ । ‘नेकपा माओवादी हामीले लिएको बाटोलाई संसदीय राजनीतिक बाटो भन्छ भने उसले त्यसको विकल्पमा बाटो देखाउन र त्यो बाटो हिँड्ने वस्तुगत आधार देखाउन सकेको छैन’ एमाओवादीका ती नेताले भने, ‘यस्तो अवस्थामा अलग पार्टीका रूपमा अस्तित्व जोगाउन पनि उहाँहरूलाई अप्ठेरो पर्न सक्छ ।’
एक वर्षअघि काठमाडौंको बौद्धमा छुट्टै राज्य समिति बैठक आयोजना गरी एमाओवादीमा औपचारिक विभाजन भएको थियो । राज्यसमिति बैठकले वैद्यको नेतृत्वमा नेकपा–माओवादी गठन गरेको थियो । र, दुवै पार्टीले यसै अवधिमा पार्टीको महाधिवेशन गरेका थिए ।

प्रतिक्रिया