श्याम र रोशनीलाई स्वर्ण

काठमाडौं : श्याललाल ढुंगाना र रोशनी अधिकारीले साउन्ड टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । एकल स्पर्धाको पुरुषमा श्याम र महिलामा रोशनी पहिलो भए । कीर्तिपुरस्थित लेबोरेटरी उमाविमा भएको पुरुष फाइनलमा श्यामले कृष्णप्रसाद दाहाललाई ११–४ र ११–३ को सोझो सेटमा पराजित गरे ।
श्याम गत साता राजधानीमा सम्पन्न १८औँ विद्यालयस्तरीय राष्ट्रिय विशेष खेलकुदको एथलेटिक्सतर्फ विभिन्न स्पर्धाका तीन स्वर्ण विजेता हुन् । सागर लामा र कुशल न्यौपाने संयुक्त रूपमा तेस्रो भए । जिल्ला विकास समिति, काठमाडौंको सहयोगमा नेपाल दृष्टिविहीन टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला एकल उपाधि भिडन्तमा रोशनीले समीक्षा भट्टराईको चुनौती सीधा सेटमा ११–१ र ११–४ ले समाप्त पारिन् । सजिता पाण्डे र अञ्जु गौतम तेस्रो स्थानमा रहे । प्रतियोगिताअघि कीर्तिपुर नगरपालिकाभित्र छरिएर रहेका युवा दृष्टिविहीन खेलाडीलाई लक्षित गरी साउन्ड टेबलटेनिस प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । ३ अजारदेखि ८ गतेसम्म सञ्चालित प्रशिक्षणमा समान १०–१० पुरुष र महिला गरी २० जना सहभागी थिए । प्रशिक्षणमै सहभागी खेलाडीलाई समावेश गराई प्रतियोगिता आयोजना गरिएको साउन्ड टेबलटेनिस प्रशिक्षक कुमार पौडेलले जनाएका छन् । पौडेलसहित राजु महर्जनले प्रशिक्षण सञ्चालन गरेका थिए । प्रशिक्षणमा सहभागी र विजेता खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत युवा कार्यक्रम शाखा प्रमुख रुद्रप्रसाद अधिकारी तथा अन्धा अपांग सीप विकास केन्द्रकी अध्यक्ष शशीकला सिंहले पुरस्कृत गरे । (सौस)

प्रतिक्रिया