बाढीपहिरोले अहिलेसम्म ४४ को मृत्यु

Darchula-khalangaकाठमाडौं, ११ असार । मध्य तथा सुदूरपश्चिमी जिल्लामा आएको बाढी र पहिरोमा परी अहिलेसम्म ४४ जनाले ज्यान गुमाएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । धनमाल, पशुपन्छी र अन्य भौतिक क्षतिको विवरण अझै आइनसकेको उसले जनाएको छ ।

रेडक्रसको प्रकोप व्यवस्थापन विभागका निर्देशक पीताम्बर अर्यालका अनुसार बाढीपहिरोमा परी सबैभन्दा बढी कालिकोटमा ११ जनाको ज्यान गएको छ । त्यस्तै, दैलेखमा ७ र बैतडीमा ५ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढीपहिरोले दार्चुला, कालिकोट, बर्दिया, हुम्ला, अछाम, बैतडी, कैलाली र कञ्चनपुरलगायत १६ भन्दाबढी जिल्ला प्रभावित भएका थिए । रेडक्रसले बाढीपहिरो पीडित परिवारलाई राहत तथा गैरखाद्य सामग्री वितरणमा सम्पूर्ण ध्यान केन्द्रित गरेको जनाएको छ ।
हालसम्म ५ सय २० बाढी तथा पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरिसकेको र वितरण कार्य जारी रहेको रेडक्रसले जनाएको छ । ‘स्थानीय रेडक्रस सोसाइटीका स्वयंसेवकद्वारा राहत सामग्री वितरण कार्य उच्च प्राथमिकताका साथमा भइरहेको छ,’ अर्यालले भने ।

प्रतिक्रिया