रेग्मीको घरछेउमा बम भेटियो

Khilraj Regmi Cjपाल्पा, ११ असार । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पाल्पास्थित घरनजिकै शक्तिशाली प्रेसरकुकर बम भेटिएको छ । नेपाली सेनाको टोलीले तीन घन्टा लगाएर बम डिस्पोजल गरेको छ । पोखराथोक गाविस–६ मा रहेको रेग्मीको घरबाट करिब ४० मिटरनजिकै बम राखिएको थियो । बमसँगै नेकपा–माओवादी क्रान्तिकारी २ नम्बर मध्य फर्मेसनको नाम पर्चासमेत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पर्चा र कालो झोलाभित्र राखिएको अवस्थामा बिहान ६ बजेतिर अध्यक्ष रेग्मीका घर हेर्न श्रीराम थापाले बम देखेका थिए । बिहानै पानी लगाउन जाने क्रममा बम देखेपछि उनले नजिकैको आर्यभञ्ज्याङ प्रहरी चौकीमा खबर गरेका थिए । बुटवलबाट गएको सेनाको २२ नम्बर बाहिनीको डिस्पोजल टोलीले नजिकैको खोलामा लगेर बम डिस्पोज गरेको छ । बम डिस्पोज गर्दा डेटोनेटर र गन पाउडर भेटिएको जिल्ला प्रहरी प्रमुख स्थानेश्वर रेग्मीले बताए । प्रेसर कुकरसँगै तार राखेर टाइम डिभाइससमेत फिट गरिएको थियो । नेकपा–माओवादी(क्रन्तिकारी) २ नम्बर मध्य फर्मेसनका कमान्डर हिमाल र कमिसार दर्शनको संयुक्त हस्ताक्षर रहेको पर्चामा संविधानसभा चुनावको मिति घोषणाको विरोध गरिएको छ । यथास्थितिवादी सरकारले संविधानसभाको चुनाव गर्न नसक्ने उल्लेख गरिएको छ । अध्यक्ष रेग्मीको घर पोखराथोकको धोवादीमा नवलपरासीको बर्दघाटबाट आएर बसेका श्रीराम थापाको नौ जनाको परिवार बस्ने गर्छ ।

प्रतिक्रिया