महाधिवेशनबारे केन्द्रीय कमिटीमा छलफल गरिने

umlकाठमाडौं, ११ असार । नवौँ महाधिवेशन आगामी फागुनमै गर्ने वा म्याद थपेर अर्का एक वर्षभित्र गर्ने भन्ने विषयमा एमालेले केन्द्रीय कमिटीको आउने बैठकमा छलफल गर्ने भएको छ । सोमबार पार्टी मुख्यालयमा भएको स्थायी समिति बैठकले साउन पहिलो साता हुने केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा तय गर्दै महाधिवेशनबारे भने केन्द्रीय कमिटीले नै एजेन्डा तय गर्ने सहमति गरेको छ । अध्यक्ष झलनाथ खनालले ७ असारमा पूर्वनिर्धारित बैठक एक महिना पर सार्दै साउन पहिलो साताका लागि तोकिएको राष्ट्रिय प्रतिनिधि परिषद् अनिश्चित भएपछि वरिष्ठ नेता केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललगायतका नेताहरूले नवौँ महाधिवेशनको मिति तोक्नु पर्ने भनाइ सार्वजनिक गरेका थिए । तर, सोमबारको स्थायी समिति बैठकले साउन पहिलो साताका लागि पूर्वनिर्धारित राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक भदौ दोस्रो सातासम्म गर्ने सहमति गरेको छ । ‘बैठकमा महाधिवेशन के गर्ने भन्ने पनि कुरा उठेको थियो । चुनाव सकेर गर्ने कि फागुनमा समय पुगेपछि गर्ने भन्ने कुरा केन्द्रीय कमिटीको बैठकले टुंगो लगाउँछ,’ सचिव शंकर पोखरेलले सौर्यसँग भने ।

साउनमा तोकिएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक प्रभावित हुनेगरी अध्यक्ष खनालले त्यही मितिमा गर्नेगरी पूर्वनिर्धारित केन्द्रीय कमिटी बैठक सारेपछि एमालेमा शीर्ष नेताहरूबीच दरार बढेको थियो । प्रतिनिधि परिषद् बैठक निर्धारित समयमा हुन नसक्नेगरी ७ असारमा तोकिएको केन्द्रीय कमिटी बैठक खनालले सहमतिबेगर साउन पहिलो साता सारेका थिए । सोमबारको बैठकमा भदौ दोस्रो सातासम्म प्रतिनिधि परिषद् बैठक गरिसक्ने सहमति नेताहरूबीच भएपछि ४–६ साउनमा बस्ने केन्द्रीय कमिटीको २२औँ बैठकका लागि कार्यसूची तय गरिएको थियो । ‘भदौको दोस्रो साताभित्र प्रतिनिधि परिषद् गरिसक्ने समझदारी भएको छ,’ पोखरेलले भने, ‘आजको स्थायी समिति बैठकले केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तय गरेको छ ।’
सोमबारको बैठकले केन्द्रीय कमिटी बैठकमा छलफलका लागि अध्यक्षको राजनीतिक प्रतिवेदन, भर्खरै सम्पन्न एकमहिने चुनाव केन्द्रित अभियानको समीक्षा रिपोर्ट, संविधानसभा निर्वाचन तयारी, पार्टी प्रवेश गरेकाहरूको जिम्मेवारी व्यवस्थापन र राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको कार्यसूची निर्धारणलगायतका विषय तय गरेको छ । पार्टीको विधान संशोधनलगायतका विषयमा समेत छलफल गर्नेगरी एमालेले राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको आयोजना गरेको हो । महाधिवेशनपछिको दोस्रो शक्तिशाली निकाय मानिएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक अनिश्चित भएपछि उत्पन्न विवाद एमालेमा तत्कालका लागि साम्य भएको छ ।

प्रतिक्रिया