२९ लाख भारतीय नक्कली रुपियाँ बरामद

Indian-moneyपर्सा, १० असार । पर्सा जिल्लामा प्रहरी २९ लाख ६५ हजार नक्कली भारतीय रुपियाँसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुलाई रकमसहित आज (सोमबार) पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा वीरगंज उपमहानगरपालिका–१५, मुर्लीका मनोहर गिरी भन्ने रञ्जीत झा, बारा जिल्ला प्रस्टोका–३ घर भई वीरगंज उपमहानगरपालिका–१८ भिष्वा बस्ने रामेश्वर सहनी र पर्सा जिल्ला भेडीयारी–८ घर भई हाल वीरगंज श्रीपुर तेजारथ टोल बस्ने मिथिलेश तिवारी रहेको प्रहरीले जनाएको छ ।
म्यूजिक कि–बोर्ड भित्र नक्कली भारतीय रुपियाँ ‘डिएचएल’को पार्सलमा फिटीङ्ग गरी मनोहर गिरीले पाउने गरी कुरियर पठाईएको थियो । सुराकीका आधारमा प्रहरी सो रकम बरामद गरेको जनाएको छ ।
महावीर स्थानमा निग्रानी गर्दा सामान लिन आएका मनोहर गिरी भन्ने रञ्जीत झालाई प्रहरीले नक्कली भारतीय नोट २९ लाख ६५ हजारसहित पक्राउ गरेको हो ।
बरामद नक्कली भारतीय नोटमा हजार दरका १ हजार ६ सय ९० थान र ५ सय दरका २ हजार ५ सय ५० थान रहेका छन् ।
प्रहरी प्रधान कार्यालय विषेश व्यूरो तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले नक्कली भारतीय रुपियाँसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । (फाईल तस्विर)

प्रतिक्रिया