सांस्कृतिक रूपान्तरणबारे केही सबाल

Raju-Sayntanएकीकृत माओवादीले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको दिशामा जाने कार्यदिशा तय गरेको छ । एमाओवादीले राजतन्त्रको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक सिद्धान्तको स्थापनालगायतका केही राजनीतिक उपलब्धिलाई जनवादी क्रान्तिका पूरा भएका आंशिक राजनीतिक उपलब्धिको रूपमा संस्थागत गर्न खोजेको देखिन्छ । बाँकी जनवादी क्रान्तिको कार्यभार अब आर्थिक क्रान्ति, उत्पादन संघर्षको माध्यमबाट पूरा गर्न सकिन्छ भन्ने एमाओवादीले नीति लिएको छ । कार्ल माक्र्स भन्नुहुन्छ ‘मानिसको चेतनाले उनीहरूको अस्तित्वलाई निर्धारण गर्दैन, अपितु उल्टो उनीहरूको सामाजिक अस्तित्वले उनीहरूको चेतनालाई निर्धारण गर्छ ।’ यस भनाइबाट प्रस्ट हुन्छ कि समाजको कुनै पार्टी अथवा व्यक्तिको चेतनाले उनीहरूको अस्तित्वलाई निर्धारण गर्दैन, उसको उल्टो उनीहरूको सामाजिक अस्तित्वले उनीहरूको चेतनालाई निर्धारण गर्छ । के छ रुस र चीनका कम्युनिस्टभन्दा फरक नेपालका कम्युनिस्टहरूको आचरण ? नेपालमै अन्य कम्युनिस्टभन्दा केमा फरक छ, एमाओवादी पार्टीको व्यवहार ? आज यो विश्वजगत्मा चासोको विषय बनिरहेको छ । एमाओवादी पार्टीभित्र देखिएका केही सांस्कृतिक आचरणगत पक्षको छोटो चर्चा गरौँ ।
पहिलो पक्ष : पार्टीभित्र दृष्यभन्दा अदृष्य ढंगले चिन्तनमा अझ बढी वर्ग उत्थान भइरहेको पाइन्छ । सर्वहारा आचरण, आर्दश हात्तीको देखाउने दाँत भएको छ । स्तरअनुसारको कम्युनिस्ट ठगको जमात दिनानुदिन बढ्दो छ । श्रमको संस्कृति दन्त्य कथा भएको छ । हिजो जनयुद्धमा प्रचण्ड र बाबुरामलाई एक झल्को हेरेर मर्न पाए हुन्थ्यो भन्ने इमानदार कार्यकर्ताहरू आज घरबारी बन्दकी राखेर अरबको खाडीमा नचाहेरै पलायन हुन विवस भइरहेको छ । यसको दुष्परिणाम स्वरूप, एमाओवादी दलाल, तस्कर, गुन्डा, लोभीपापी र डनहरूको आश्रयस्थल बन्दै गइरहेको छ । एमाओवादी पार्टीभित्र लेनिनवादी संगठनात्मक सिद्धान्तमा अघोषित परिवर्तन भएको छ । अब एमाओवादीको पार्टी सदस्य बन्नका लागि निम्न चार सर्तहरू पूरा गर्नुपर्ने देखिन्छ । पहिलो सर्त सदस्य बन्न चाहने व्यक्ति, धूर्त फटाहा र जाली चरित्रको हुनुपर्ने, दोस्रो सर्त सहरमा चार/पाँचतले महल र चिल्लो पजेरो हुनुपर्ने, तेस्रो सर्त, माओवादीका नेतालाई समयसमयमा रेखदेख गर्दै आएको हुनुपर्ने र चौथौ सर्त फेल भएको भए पनि सर्टिफिकेटको चाङ हुनुपर्ने । आफू रूपान्तरण भएर समाज रूपान्तरण गर्ने महान् लक्ष्य बोकेको पार्टीको यो दुर्दशा साँच्चै सोचनीय छ ।
दोस्रो पक्ष : १९औँ शताब्दीमा दुनियाँ थर्काउने सोभियत संघ अन्तत: सांस्कृतिक रूपान्तरणको अभावमा गल्र्यामगुर्लुम ढल्यो । चिनियाँ क्रान्ति सांस्कृतिक विघटनसँगै लाखौँको बलिदान व्यर्थ भयो । नजिकैको यो नमिठो इतिहास आजका कम्युनिस्टहरूले सिक्नुपर्ने उदाहरणहरू हुन् । मानिसले भाषणमा के बोल्यो भन्ने प्रधान होइन रहेछ । प्रधान त उसले के गर्छ ? उसको चिन्तन, आचरण कस्तो छ ? भन्ने कुरा नै निर्णायक हुँदोरहे छ । समाजलाई समाजवादमा पुर्‍याउने अभियन्ताहरूले के पहिला आफू परिवर्तन हुनुपर्दैन ? के आर्थिक क्रान्ति गरेपछि तुरुन्तै समाजवादमा पुगिन्छ ? समाजको कस्तो सांस्कृतिक स्वरूपलाई समाजवाद उन्मुख संस्कृति मान्ने ? सांस्कृतिक रूपान्तरणबिना आर्थिक क्रान्तिको मात्रै नाराले सक्नेले कमाउ मोज गर, नसक्ने कतार जाऊ जस्तो देखिने खतरा छ । सहकारी, जनकम्युन नीति कति पर्याप्त छन्् ? यी अहम् सबालहरूमा क्रान्तिकारी पार्टीको ध्यान गएको देखिँदैन ।
तेस्रो पक्ष : आज समाज बजारवाद, उपभोक्तावादद्वारा खण्ड– खण्डमा विभक्त भएको छ । क्रान्तिकारी भन्नेहरूले आत्मीयता, कमरेड भावना उहिल्यै रोल्पाको जंगलमा छोडेर आएको देखिन्छ । दिनभर सांस्कृतिक रूपान्तरणको चर्को वकालत गर्दै हिँड्ने, बेलुकी जाँडपाटीमा आधारातसम्म झुम्ने, कविता, लेख, दस्तावेज, कार्यपत्रहरूमा ठूलाठूला कम्युनिस्ट आर्दशका कुरा गर्ने, बेलुकी डान्सबारमा गएर नाइटोमा पैसा छनर््े, दिनभर महिला समानता र हकहितको मिटिङमा प्रमुख अतिथि बनी भाषण गर्ने, यता भित्रभित्रै अघोषित श्रीमतीहरूलाई सन्तुलन मिलाएर राख्ने, दलित सम्बन्धि कार्यशालामा घन्टौँ मीठो भाषण गर्ने, बेलुकी आफैँसँग घरमा आएको साथीलाई ‘आमाले मान्नु हुन्छ दु:ख नमान्नु है,’ भन्दै ढोका बाहिरै राख्ने, यी र यस्तै सांस्कृतिक विचलनका तत्थ्यहरू आज एमाओवादी पार्टीभित्र सामान्य भइसकेका छन् ।
चौथो पक्ष : अर्को महत्त्वपूर्ण प्रश्न भनेको नेपालमा चलिआएका सांस्कृतिक परम्पराहरूको रूपान्तरणको प्रश्न हो । हाल चलिआएका सांस्कृतिक परम्पराहरू उच्च हिन्दू जातीय वर्णाश्रम व्यवस्थामा आधारित छन् । प्रगतिवादी साहित्यकार आहुति भन्नु हुन्छ– कार्ल माक्र्सले गर्नुभएको महान् संश्लेषण ‘धर्म मानिसको लागि अफिम हो,’ नेपाली कम्युनिस्ट आन्दोलनले धर्मबारे लिएको यही निति वाक्यका वरपर यहाँसम्म कि यो वाक्यको भित्री तहसम्म पुग्न नखोजी केवल नतमस्तक भएर घुमिरहेको देखिन्छ । माथिका भनाईबाट के प्रस्ट हुन्छ भने माक्र्सको उक्त महान् संश्लेषणप्रति समेत नेपालका कम्युनिस्टहरूले गहिरिएर सोचेका छैनन् । नेपालमा कम्युनिस्टकै सरकार भएको बेला कुनै जातिलाई धर्मको नाममा राँगो काटेर खान बजेट नै छुट्याइन्छ । चार्ड पर्वका बेला सिँगै पार्टी पंक्तिलाई बिदा गरिन्छ । धार्मिक विधिअनुसार सिलान्यास गर्न ठूला नेता नै पुग्छन्् । देउसी खेल्न सिँगै पार्टी पंक्तिलाई सर्कुलर गरिन्छ र जान्छन्् देउसेहरू बलिराजाले पठाको भन्दै । श्रीमतीलाई खुट्टाको पानी खुवाउँछन्् । नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका यी अन्तन्तै टिठ लाग्दा उदाहरणहरू हुन् । समाजवादको दिशातिर लम्किएको क्रान्तिकारी पार्टीले माथिका गम्भीर सबालतिर सोच्न जरुरी छ ।
केही सकरात्मक प्रयासहरू : ६० वर्षको जीवनमा कम्युनिस्टहरूले केही थोरै तर महत्त्वपूर्ण कार्य भने गरेको पाइन्छ । १० वर्षे जनयुद्धको अवधिमा सामन्तवादका सांस्कृतिक रूपहरू माथि प्रहार गर्‍यो । जनयुद्ध कालमा गाईको पवित्रता माथि निकै ठूलो प्रहार गर्ने काम भयो । जनयुद्धका योद्धाहरूले गाईको मासु खाए । यो चानचुने परिघटना थिएन । सामन्तवादी हिन्दू एक तन्त्रीय वर्णाश्रम व्यवस्थामाथि ठूलो धक्का थियो । त्यस्तै जनयुद्ध अवधिमा छुवाछुत, उचनिचजस्ता जातको आधारमा शोषण गर्ने सामान्तवादको परम्परामाथि पनि ठूलो प्रहार भयो । अन्र्तजातीय विवाहहरू प्रशस्तै भए । अर्को महत्त्वपूर्ण थालनी, महिलाले छोए बन्दुक पड्कँदैन भन्ने पितृसत्तात्मक शोषणको जालो समेत धुजाधुजा हुनेगरी च्याते । जनयुद्धमा देखिएका यी क्रान्तिकारी कदमहरू थिए । कम्युनिस्टहरूले यसैलाई नयाँ संस्कृति, जनसंस्कृतिको नमुनाका रूपमा संस्थागत गरी अगाडि बढाउनुपथ्र्यो । तर, जनयुद्धको नयाँ मोडसँगै ती मूल्य, आर्दश र क्रान्तिकारी कदमहरू धरमराएका देखिन्छन् ।
अन्तमा : एमाओवादी पार्टीले अवलम्बन गरेको नयाँ कार्यदिशा साँच्चै नयाँ र चुनौतीपूर्ण छन् । सांस्कृतिक रूपान्तरणबिना नै समाजवादमा पुगिन्छ भन्ने सोच्नु कम्युनिस्ट पतनको नयाँ शृंखला थप्नु मात्र हुनेछ । तत्काल ध्यान दिनुपर्ने केही विषयहरू निम्न बुँदाहरूमा उल्लेख गर्न सकिन्छ ।
१. १९१७ मा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भइसकेपछि पनि पार्टीभित्र घुसेका गलत चिन्तन, विचारविरुद्ध तत्कालीन रुसी कम्युनिस्ट पार्टीले १९३४ मा केन्द्रीय समितिको बैठक नै आयोजना गरेर सांस्कृतिक रूपान्तरणको विषयमा सिँगो पार्टीलाई सर्कुलर नै जारी गरेजस्तै नेपालमा पनि यस विषयमा तत्काल पहल लिन आवश्यक छ ।
२. एक जना कम्युनिस्टले के गर्नु हुन्छ ? के गर्नुहुँदैन भन्ने आधारभूत प्रश्नदेखि माक्र्सको तीन गर तीन नगर र माओका ध्यान दिनुपर्ने कुराजस्ता कम्युनिस्ट बन्ने आधारभूत प्रस्थापनामा अब अझै नयाँ विकास गर्नुपर्ने जरुरी देखिन्छ ।
३. पार्टीको केन्द्रीय समिति मै संस्कृतिविद्हरूको छुट्टै विज्ञ टिम बनाएर नयाँ कार्यदिशाअनुरूपको नयाँ सांस्कृतिक नीति कस्तो हुने भन्ने बारेमा व्यापक विचार विमर्श गरी छुट्टै प्रस्ताव पास गरिनुपर्छ ।
४. उक्त प्रस्तावलाई देशव्यापी रूपमा प्रशिक्षण, अन्तक्र्रिया, गोष्ठी गरी सिँगो पार्टी पंक्तिलाई प्रशिक्षित गरिनुपर्छ ।
५. नेपालमा मनाउँदै आएका चार्डपर्वहरूको बारेमा प्रस्ट धारणा बनाई जनवादीकरणका लागि पहल गरिनुपर्छ ।
६. पार्टीभित्रका सांस्कृतिक संघ/संस्थाहरूले साहित्यकला, गीतसंगीतमार्फत सांस्कृतिक रूपान्तरणको अभियानलाई देशव्यापी सञ्चालन गर्नुपर्छ ।
७. पार्टीभित्र घुसेका गैरसर्वहारा चिन्तन र व्यवहारका विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्दै त्यस्ता गलत प्रवृत्तिलाई सामाजिक बहिस्कारसम्मको कारबाही पार्टीले गर्नुपर्छ ।
८. अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखा परेका राजनीतिक वैचारिक कमजोरीका मात्रै समीक्षा गरेर पुग्दैन । सांस्कृतिक रूपान्तरणको अभावमा असफल क्रान्तिको सांस्कृतिक पक्षको विशेष समीक्षा गरिनुपर्छ ।
यी यावत सबालहरूमा गम्भीर भएर अगाडि बढ्दा प्रतिक्रान्तिको नेपाली संस्करण रोकिने र नयाँ युगको सुरुआत हुने निश्चित छ । अन्यथा वस्तुबिनासको प्रमुख कारण आन्तरिक नै पहिलो हुने गर्छ ।

प्रतिक्रिया