शिक्षक भन्छन् : राजनीति गर्न पाउनुपर्छ

काठमाडौं, १० असार । शिक्षकहरूले राजनीतिक अधिकारबाट आफूहरूलाई प्रतिबन्ध लगाउन नपाइने बताएका छन् । प्रत्येक वर्ष नतिजा खस्कँदै गएकोमा शिक्षकलाई दोषी देखाउँदै सरकारले राजनीति गर्न निषेध गरेपछि उनीहरूको यस्तो प्रतिक्रिया आएको हो ।

आइतबार अन्तरक्रिया कार्यक्रममा उनीहरूले विद्यार्थीको नतिजा कमी आएको भनेर आफूहरूको अधिकार खोसिन नहुने बताए । अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले नतिजा कमजोर देखाएर शिक्षकलाई राजनीतिक प्रतिबन्ध लगाउन नपाइने बताए । अन्तरिम संविधानले नै ट्रेड युनियनको अधिकार आफूहरूले पाएको भन्दै राजनीति गर्न पाउनुपर्ने बताए ।
‘हामीलाई संविधानले नै अधिकार दिएको छ । यसमा अंकुश लगाउन पाइँदैन,’ उनले भने, ‘हाम्रो कारणले शिक्षाको गुणस्तर खस्केको देखाएर राजनीति गर्नबाट प्रतिबन्ध लगाइएको छ ।’
शिक्षा मन्त्रालयले शिक्षक पढाउनेभन्दा राजनीतितिर बढी केन्द्रित देखिएको भन्दै प्रतिबन्ध लगाएको छ । मन्त्रालयले जिल्ला शिक्षा अधिकारीको स्वीकृतबिना कुनै पनि कार्यक्रममा जानसमेत रोक लगाएको छ ।
अखिल नेपाल शिक्षक संघका अध्यक्ष गुणराज लोहनीले आफूहरू रहरले नभई शिक्षा सुधारका लागि राजनीति गरिरहेको बताए । यही सुधारका निम्ति आफूहरूका माग पूरा गरिन्छ भने शिक्षकहरूले राजनीति नगर्ने जानकारी गराए । ‘हामी कुनै पार्टीको झन्डा बोकेर हिँडेका छैनौँ । हाम्रा माग पूरा गरे हामी राजनीति गर्दैनौँ,’ उनले भने ।
नेपाल शिक्षक युनियनका अध्यक्ष दिलबहादुर जोशीले मन्त्रालयको आचारसंहिता पालना गर्न तयार रहेको भन्दै तर शिक्षकलाई राजनीतिमा बन्देज लगाउनु नहुने बताए । अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रत्न वलीले शिक्षकका कारण नभएर पुरानो शिक्षा नीतिकै कारण नतिजा खस्केको बताए । ‘शिक्षकलाई दोष देखाएर राजनीतिमा प्रतिबन्ध लगाउन पाइँदैन,’ उनले भने, ‘शिक्षा प्रणाली सुधार गर्नुपर्‍यो अनि नतिजामा सुधार आउँछ । शिक्षकलाई दोष देखाएर राजनीति गर्नबाट रोक्न पाइँदैन ।’
शिक्षा मन्त्रालयका सहप्रवक्ता रोजनाथ पाण्डेले शिक्षककै कारण नजितामा कमी आएकाले राजनीतिबाट शिक्षक टाढा रहनुपर्ने बताए । ‘राजनीति गर्ने शिक्षक पढाउन पाउँदैन । राजनीति नै गर्ने हो भने पढाउन छाडे हुन्छ,’ उनले भने, ‘दुई डुंगामा खुट्टा राखेर नदी तर्न सकिँदैन भनेजस्तै अब शिक्षकले राजनीति वा शिक्षक पेसा एक रोज्नुपर्छ ।’

प्रतिक्रिया