नेपालीहरूको उद्धार गर्न भारतसँग आग्रह

काठमाडौं, १० असार । नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्डमा आएको बाढीबाट समस्यामा परेका नेपाली तीर्थयात्रीहरूको उद्धार तथा खोजी गर्न आग्रह गरेको छ ।

नेपालीहरूको उद्धारका लागि दूतावासद्वारा देहरादुन खटाइएको टोलीले आइतबार उत्तराखण्ड राज्यका मुख्यमन्त्री विजय बहुगुणासँग त्यस्तो आग्रह गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मुख्यमन्त्री बहुगुणाले नेपालीलगायत सम्पूर्ण तीर्थयात्री तथा बाढीग्रस्त क्षेत्रमा बसोबास तथा रोजगारी गर्ने सबै व्यक्तिको उद्धार तथा आवश्यक सहयोगका लागि उद्धार टोलीहरू परिचालन गरिएको जानकारी नेपाली टोलीलाई गराएका छन् ।
बद्रीनाथमा रहेका कम्तीमा ३० नेपालीको उद्धारका सम्बन्धमा सहयोगका लागि दूतावासका प्रतिनिधिहरूबाट राखिएको जिज्ञासाका सम्बन्धमा मुख्यमन्त्री बहुगुणाले बद्रीनाथमा रहेका तीर्थयात्रीको अवस्था सामान्य र सुरक्षित रहेको र अहिले प्राथमिकताका आधारमा हेलिकोप्टरबाट उद्धार भइसकेको र सडक मार्ग खोल्ने कार्य भइरहेको बताएका छन् ।
स्थानीय तहमा परिचालित केन्द्रबाट नेपालीहरूको उद्धारका लागि पूर्णसहयोग रहने आश्वासन दिँदै मुख्यमन्त्री बहुगुणाले दूतावासको टोलीले उत्तराखण्ड राज्यको आपतकालीन परिचालन केन्द्रमा गई नेपालीहरूको उद्धार तथा खोजी कार्यका लागि आवश्यक सम्पर्क तथा समन्वय गरेको उल्लेख गरे ।
बाढी प्रभावित क्षेत्रबाट सडक मार्ग हुँदै ऋषिकेश तथा हरिद्वार आउने र नेपालतर्फ फर्कने क्रम निरन्तर रहेको र केदारनाथ तथा यमुनोत्रीबाट हेलिकोप्टरद्वारा तथा सडक मार्गमार्फत उद्धार भई शनिबार साँझ तीन समूहमा ऋषिकेश आएका अर्घाखाँची, नवलपरासी, कपिलवस्तु र रूपन्देहीका ओविराम पाठक तथा छोटेलाल यादवसमेतका १ सय ३ नेपाली आइतबार बसबाट नेपालतर्फ फर्कने तयारीमा रहेको दूतावासले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रबाट हरिद्वार आइपुगेका नेपाली तीर्थयात्रीहरू त्यहाँका होटल, धर्मशाला तथा विश्राम गृहहरूमा सकुशल रही आफन्तसँगको सम्पर्कमा रहेको दूतावासले जनाएको छ । गुप्तकाशीबाट उद्धार भएका मुरारी अधिकारीसमेतका पाँच जना तीर्थयात्रीहरू हरिद्वारतर्फ आउँदै गरेको र बद्रीनाथनजिकै पाण्डुकेश्वरमा रहेका दामोदर भुर्तेलसमेतका चारजना नेपाली आज दूतावासको सम्पर्कमा आएको विज्ञप्तिमा उल्लेख छ ।
बाढीपीडित आफन्तको खोजीमा नेपालबाट तथा भारतमा रहेका केही परिवारजन देहरादुन, हरिद्वार तथा ऋषिकेश आइपुगेका र दूतावाससँग पनि सम्पर्कमा रहेको उल्लेख गर्दै दूतावासले बाढीपीडित कुनै नेपाली बेखर्ची भई, बिरामी परी वा सम्पर्कविहीन भई समस्यामा परेको अवस्थामा दूतावासबाट गएको टोलीबाट आवश्यक सहयोग प्रदान भइरहेको बताएको छ ।
हरिद्वार तथा ऋषिकेशमा आइपुगेका नेपालीलाई नेपाल फर्कनका लागि स्थानीय सरकारको आपतकालीन सहयोग परिचालन केन्द्र, नेपाली समुदाय, धर्मशाला तथा आफन्तजनहरूबाट समेत सहयोग प्राप्त भइरहेको दूतावासले उल्लेख गरेको छ ।
दूतावासले हालसम्म करिब ३ सय नेपाली तीर्थयात्री तथा बाढीग्रस्त क्षेत्रमा काम गर्ने करिब २ सय नेपाली कामदारको उद्धार भएको जनाएको छ । दूतावासका अनुसार परिवारको सम्पर्कमा नआएका र उद्धारको प्रतीक्षामा रहेका नेपालीको विवरण प्राप्त हुने क्रम जारी नै रहेको छ ।

प्रतिक्रिया