प्रतिशतमा नभइ एक मुष्ट तलब बढाउनुस्

New Imageकाठमाडौं, ९ असार । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कर्मचारीहरुको सरुवा, बढुवा र पदस्थापना ऐनले तोकेको कार्यविधि अनुसार हुने बताएका छन् ।

सिंहदरबारमा आज (आइतबार) विभिन्न ट्रेड युनियन सम्बद्ध कर्मचारीहरुको ज्ञापनपत्र बुझ्ने क्रममा कोइरालाले कर्मचारीको सरुवा, बढुवामा आफू नलाग्ने बताए । ‘म यस्तो खेलमा लाग्ने भए सचिवबाट नै त्यो कामको शुरुवात गर्थे,’ उनले भने, ‘मैले सचिव, सहसचिव र उपसचिव छोएको छैन् ।’
उनले सरुवा गर्ने अधिकार जसले पाएको छ उसैले गर्ने बताए । मन्त्री कोइरालाले भने, ‘बजेट तयारीको चटारोमा कसैलाई सरुवा गर्ने प्रश्नै आउँदैन् ।’
नेपाल कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनका प्रतिनिधिहरुले चुनावमा जाने कर्मचारीहरुको सुरक्षा प्रत्याभूति दिन माग गरेका थिए । उनीहरुले वर्तमान सरकार आफूहरुको अभिभावकसरह भएकाले भेद्भावपूर्ण व्यवहार नगर्न आग्रह गरे ।
यसैबीच, निजामती कर्मचारीहरुले प्रतिशतमा तलव बृद्धि नगर्न आग्रह गरेका छन् । उनीहरुले प्रतिशतमा तलव बृद्धि हुँदा विभेद कायमै हुने भएकाले एकमुष्ट तलव बढाउन माग गरेका हुन् । सरकारले नयाँ बजेटमा कर्मचारीको तलव २५ प्रतिशतसम्म बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया