सरकारले उचित राहत दिएन : राप्रपा

lokendra bd chandकाठमाडौं, ९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसंग सुदूर र मध्यपश्चिमका बाढी पहिरो पीडितलाई उचित राहत उपलब्ध गराउन माग गरेको छ ।
बालुवाटारमा आज (आइतबार) भएको भेटमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायतका नेताहरुले दार्चुलाका बाढी पीडितलाई उचित राहत उपलब्ध गराउन माग गरेका हुन् । उनीहरुले बाढी पीडितलाई सरकारले उचित राहत दिन नसकेको आरोप पनि लगाए ।
दार्चुलाको सदरमुकाम खलंगा पुन: निर्माणमा ध्यान दिन पनि नेता चन्दले सरकारको ध्यानाकर्षण गराए ।
सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका जिल्लाहरुमा अबिरल बर्षाका कारण जनधनको ठूलो क्षति भएको जनाएको राप्रपाले बाढीको चपेटामा परेकाहरुको शीघ्र उद्दार गर्न पनि माग गरेको छ ।
नेता चन्दले सरकारले पीडितलाई पर्याप्त राहत नदिएको भन्दै अध्यक्ष रेग्मीको ध्यानाकर्षण गराएको ज्ञापन पत्रमा उल्लेख छ ।
राप्रपाले सरकारसंग यथाशीघ्र समुचित राहतको ब्यबस्था गर्दै विना भेदभाव, प्रभावकारी रुपमा राहत वितरणको माग गरेको छ ।
अध्यक्ष रेग्मीसंगको भेटका लागि राप्रपाका वरिष्ठ नेता चन्दका साथै प्रकाशचन्द्र लोहनी, बालाराम घर्तीमगर, जयन्त चन्द, धर्मराज जोशी, तिर्थराज चटौत, नन्दलाल चटौत, बिष्णुबहादुर सिंह, भरत चन्द, प्रेम बलायर, गणेश बिष्ट र बीरबहादुर ऐर बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया