‘खुल्ला ठाउँमा शौच गर्ने अपराधी हुन्’

उदयपुर, ९ असार । ‘आफै सप्रे सप्रिन्छ सारा संसार, बोलेरमात्र हुन्न देखाऔँ व्यवहार खुल्ला दिसा मुक्त गराऔँ गाऊँलाई, सफासुघर राख्नुपर्छ हाम्रो ठाँउलाई’ धोद्रो स्वरमा गुनगुनाउँदै पिठ्युँमा डोकोभरि ढुंगाको भारी बोकेर पछ्यौरीको फेरले पसिना पुछ्दै उकालो निक्सिरहेकी छन् विन्दामाया ∕ खुम्चिएको सारी, दुवै बाउला च्यातिएको चौबन्दी चोलो, सेत्तै फुलेको कपाल, चाहुरिएको अनुहारभरि पसिना बगाउँदै ढुंगाबोक्नु उनको वाध्यता सँगै रहरपनि हो ।

अनि रहर भनौ अस्ताउन लागेकोघाम जस्तै भएकि छिन उनी, बाध्यता भनौँ बुढेसकालमा अझैँ बाँच्ने अभिलासा बोकेर निरन्तर सरसफाईमा लागेकि छिन् । यस्तै रहर र वाध्यता सँगै साक्षतकार गर्नु केहि समयकालागि उनको दिनचर्या बन्यो । डोकोमा ढुंगा बोकेरै उनले आफ्नो घरमा गजवको शौचालय निर्माण गरिन् ।
उदयपुरको पश्चिमवर्ती गाविस हर्देनी १ डाँडाटोलकी ६५ वर्षीया हजुरआमा विन्दामाया बुढाथोकीले खुल्ला दिसामुक्त घोषणा कार्यक्रम सुनेसँगै उनको दैनिकी डोको नाम्लो र ढुंगामा बित्यो महिना दिन । जिल्ला खानेपानी सरसफाई स्वच्छता समन्वय समिति उदयपुरले सन् २०१५ सम्ममा खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियान सञ्चालन गरेसँगै विन्दामायाले डोकोमा ढुंगा बोकेरै घरमा शौचालय निर्माण गरिन् ।
उक्त गाविसमा विन्दामायाजस्ता धेरै हजुरआमाहरूको प्रयासले शौचालय निर्माण सम्पन्न भएपछि गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ । यता घरमा शौचालय निर्माण गरिकेकी विन्दामाया र सरसफाईको अभावले प्रताडित डाँडाटोललाई नारा अनुसारकै काम कार्यान्वयन गर्न उनी यतिबेला लागि परेकी छन् ।
बिहान झिसमिसे उज्यालो भएसँगै भोर्लाको पातमा विँडी बनाएर सल्काउछिन् अनि पिठ्यूँमा डोको र गाग्री बोकेर बिँडीको धुँवा उडाउँदै पौने घण्टाको दुरीमा रहेको पँधेरा पुग्छिन् र पानी लिएर आउँछिन् । आधा पानी घर धन्दामा र आधापानी शौचालय सफाईमा लगाउँछिन् । घरमा शौचालय नबनाए गाविसले दिने सबै सेवा सुविधा बन्द गर्ने गाविसको घोषणाले पनि उनमा प्रभाव पारेको हुन सक्छ । घरमा भएका सवै छोराहरू रोजगारको शिलशिलामा घरबाहिर रहेका, छोरीहरू आ–आफ्नै घरमा र श्रीमान दैनिक भिरपाखा वस्तु गोठालो गर्दै फुर्सद नभएपछि सबैकाम उनको काँधमा आइलागेको हो ।
जताततै फोहोरले गर्दा विरामी बढिरहेको बेला सबैले ध्यान दिनुपर्छ, विन्दामाया भन्छिन्– ‘पहिलेका मान्छे आफैँले उत्पादन गरेका खानेकुराहरू खान्थे हृष्टपुष्ट हुन्थे, अहिले सबै युरिया लगाएको खान्छन्, काम पनि गर्दैनन् यो बेलापनि सरसफाई नगरे अकालमै ज्यान जान सक्छ’ । ‘खुल्ला दिसामुक्त क्षेत्र बनाउन सरकारनै लागिरहेको बेला चर्पी बाहिर दिसा पिसाब गरेर अरुको स्वास्थ्यमा खेलवाड गर्ने र चर्पी नबनाउनेहरू अपराधी हुन्’ । उनीहरू आफूपनि शौचालय बनाउँदैनन् खुल्ला रूपमा दिसा पिसाब गर्छन् लाजपचेकाहरूलाई सवैले अपाराधि भन्नुपर्छ ।
सिरिसेकी विन्दामायामात्र होइन जाँतेकी देवमायाको दिनचर्या पनि यस्तैगरी बितिरहेको छ । छोराहरू रोजगारीका लागि अन्यन्त्र गएका छन् भने छोरीहरू पनि आ–आफ्नै घर गएका कारण दुई वर्षको नाति काखमा च्यापेरै उनले पनि घरमा शौचालय निर्माण गरिसकेकी छन् । छ महिना अघिसम्म पेट सफा गर्न भित्ता, कान्ला र बारी पुछार चहारिहिँड्ने उनको पनि यतिबेला दैनिक जीवननै परिवर्तन आएको छ । पछिल्लो समयमा शौचलय निर्माण गरी व्यवस्थित शौच गर्न थालेपनि यतिबेला न उनलाई रोगनै लागेको छ न शोक नै । उनी भन्छिन्, ‘सौचालय नहँुदा शौच गर्न नै आधा घण्टा लगाएर बारी पुछार गइन्थ्यो, अहिले घरछेउमै व्यवस्थित शौचालय भएपछि समयको पनि सदुपयोग अन्य काम पनि भ्याइन्छ’ ।
यतिबेला जिल्लामा खुल्ला दिसामुक्त क्षेत्र घोषणाको लहर चलिरहेको बेला बृद्धा आमालाई यतिका चेतना छ तर समाजका अग्रज र बाठा भनाउँदाको घरमा शौचालय नहुँदा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न समस्या भएको बताइएको छ । जिल्लालाई अपेक्षाकृत रूपमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न पत्रकार खानेपानी सरसफाई स्वच्छता समन्वय समितिले पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बेला हजुरआमाले जस्तै तपाई सवैले शौचालय निर्माण गरेर व्यवस्थित रूपमा दिसापिसाब गरिदिए साँच्चैनै उदयपुरलाई सन् २०१५ अगावै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न अवसर मिल्थ्यो ।

प्रतिक्रिया