एमालेमा महाधिवेशनको माग

UML-party-office-ST_2012062काठमाडौं, ९ असार । संविधानसभा चुनावको नयाँ मिति घोषणा भएका बेला एमालेमा महाधिवेशनको विवाद उत्पन्न भएको छ । राष्ट्रिय प्रतिनिधि परिषद् बैठक र चुनावी तयारीका लागि ७ असारका लागि तय भएको केन्द्रीय कमिटी बैठक एक महिना पर धकेलिएपछि पार्टीका वरिष्ठ नेता केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललगायतका नेताहरू महाधिवेशन गर्नु पर्ने पक्षमा उभिएका हुन् ।

एमालेले चुनाव तयारीको विस्तृत योजना बनाउन साउनमा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक र परिषद् बैठक तयारीका लागि असारको पहिलो साता केन्द्रीय कमिटीको बैठक राखेको थियो । तर, ६ असारमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष झलनाथ खनालले केन्द्रीय कमिटी बैठक एक महिना पर सार्ने प्रस्ताव राखेपछि ओली र पोखरेललगायतका नेताहरूले तत्काल महाधिवेशन आयोजक कमिटी बनाएर महाधिवेशनको मिति तोक्नु पर्ने माग गरेका हुन् ।
संविधानसभाको चुनाव घोषणा भए पनि महाधिवेशनको मिति तोक्दा त्यसले पार्टीको आन्तरिक जीवनमा कुनै असर नपर्ने बरु आयोजक कमिटीमा छुटेका नेताहरूलाई समेटेर लैजान सकिने भएकाले सहयोग पुग्ने नेताहरूको भनाइ छ । यसअघि केन्द्रीय कमिटीको बैठकमै केन्द्रीय सदस्य योगेश भट्टराईलगायतका नेताहरूले महाधिवेशन गरी पुरानो पुस्ताका नेताहरूले बिदा लिनु पर्ने प्रस्ताव गरेका थिए । ‘चुनाव घोषणा राष्ट्रिय राजनीतिको कुरा हो, पार्टीको महाधिवेशन आयोजक कमिटी गठन गर्दा पार्टीलाई घाटा पुग्दैन,’ केन्द्रीय सदस्य कर्णबहादुर थापाले सौर्यसँग भने, ‘बरु केन्द्रीय कमिटीमा छुटेका केही नेता र पार्टीसँग एकता प्रक्रियामा सामेल भएर आउनेहरूलाई पनि आयोजक कमिटीमा राखेर महाधिवेशनको मिति तोक्दा चुनावलाई सहयोग नै पुग्छ ।’
एमालेको आठाँै महाधिवेशन भएको फागुनमा ५ वर्ष पुरा हुनेछ । विधान अनुरूप एमालेको महाधिवेशन प्रत्येक पाँच वर्षमा हुनेछ र विशेष कारणले महाधिवेशन हुन नसके एक वर्ष म्याद थपेर अर्काे एक वर्षभित्र गर्नु पर्नेछ । पछिल्लो एक वर्षमा पार्टीमा आन्तरिक एकता भएको घोषणा गरे यता अध्यक्ष झलनाथ खनाल र नेता ओलीबीच खासै विवाद सार्वजनिक भएको थिएन । तर, तोकिएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई प्रभावित पार्नेगरी केन्द्रीय कमिटी बैठक सारिएपछि ओली र महासचिव पोखरेलसमेत महाधिवेशन आयोजक कमिटी गठन गर्नु पर्ने पक्षमा देखिएका हुन् ।
स्थायी समितिको ६ असारमा बसेको बैठकमा अध्यक्ष खनालले एक महिने चुनाव परिचालन अभियानबाट प्राप्त रिपोर्ट अध्ययन गरेपछि मात्रै केन्द्रीय कमिटीको बैठक डाक्ने भन्दै केन्द्रीय कमिटीको बैठक ५ साउनमा सारेका थिए । यसअघि स्थायी समितिको बैठकले नै एक महिने चुनावी अभियान सकिने दिन ७ असारका लागि केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको थियो ।
पछिल्लो एक वर्षयता राष्ट्रिय राजनीतिक मुद्दाहरूमा एमालेका सबै जसो शीर्ष नेताहरू एकै ठाउँ उभिदै आएका थिए । आठौँ महाधिवेशनमा खनाल र ओली अध्यक्षका प्रत्यासी थिए र एक सयभन्दा बढी मतले उनले ओलीलाई अध्यक्षमा
पराजित गरेका थिए । अध्यक्षलगायत केन्द्रीय कमिटीमा प्यानलगत प्रतिस्पर्धा गरेका उनीहरूले महाधिवेशनपछि पनि तल्लो तहसम्म प्यानलगत प्रतिस्पर्धा र समानान्तर कमिटीसमेत गठन हुन थालेपछि आन्तरिक एकताको घोषणा गरेका थिए । आन्तरिक एकतापछि एमालेको समीकरणमा खनाल र ओलीलाई एकै ठाउँ उभिएको बताइए पनि पछिल्लोपटक ओली र अघिल्लो महाधिवेशनमा खनालकै प्यानलबाट महासचिवमा जितेका पोखरेलले महाधिवेशन आयोजक कमिटी गठन गर्नुपर्ने धारणाअघि सारेका हुन् । केन्द्रीय कमिटीको साउनमा बस्ने बैठकमा महाधिवेशन आयोजक कमिटी गठन गर्ने प्रस्ताव राखिने केन्द्रीय सदस्य थापाले सौर्यलाई बताए ।
महाधिवेशन आयोजक कमिटी गठन गरी महाधिवेशनको मिति तोक्नु पर्ने ओलीले सार्वजनिक अभिब्यक्ति दिएपछि अध्यक्ष खनालले त्यसको कडा प्रतिवाद गरेका छन् । शनिबार राति प्रसारित एक टेलिभिजन कार्यक्रममा खनालले कसैले कराउँदैमा महाधिवेशन नहुने बताएका हुन् । ‘ओलीजीले पार्टीभित्र कुरा नगरीबाहिर किन यस्तो कुरा गरिरहनुभएको छ ? म अचम्मित छु,’ खनालले भने, ‘बैठकबाहिर आएका यस्ता कुरालाई केन्द्रीय कमिटीको आगामी बैठकमै राखेर कुरा गर्छु । कसैले कराउँदैमा महाधिवेशन हुँदैन ।’ खनालले पार्टीभित्र अनुशासनहीनता बढेर गएको पनि दाबी गरे । पार्टीको विधानअनुसार एक वर्ष अझै म्याद थपिन सक्ने भन्दै उनले आगामी फागुनमा महाधिवेशन नभएर फेरि एक वर्ष थपिन सक्ने संकेत गरे । नवौँ महाधिवेशनमा आफू फेरि अध्यक्षको दाबेदार रहेको पनि खनालले सो टेलिभिजन कार्यक्रममा बताएका छन् ।

प्रतिक्रिया