विकृत शिक्षकलाई एघार वर्ष कैद

चौतारा, ८ असार । आफ्नै छात्रलाई अप्राकृतिक मैथुन गर्ने शिक्षकलाई सिन्धुपाल्चोक जिल्ला अदालतले ११ वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना गर्ने फैसला सुनाएको छ । साँगाचोक गाविसस्थित जनजागृति माविका शिक्षक नारायण श्रेष्ठमाथि आफ्नै छात्राहरूलाई अप्राकृतिक मैथुन गरेको अभियोग लगाउँदै जिल्ला न्यायाधीश अनन्तराज डुम्रेको एकल इजलासले यस्तो फैसला गरेको हो ।

आफैँले पढाउँदै आएका छात्रालाई ट्युसन पढाउने क्रममा बढी नम्बर दिने प्रलोभन देखाई नौदेखि ११ वर्ष उमेरका ६ जनालाई अप्राकृतिक मैथुन गरेको अभियोग श्रेष्ठमाथि लगाइए पनि तीन जनाले मात्र प्रहरीमा जाहेरी दिएका थिए ।
श्रेष्ठले वि.सं. २०६७ चैतदेखि छात्रामाथि अप्राकृतिक सम्बन्ध राख्दै आए पनि आठ महिनापछि मात्र पीडित छात्राबाट घटना सार्वजनिक भएको थियो । गाउँ बालसंरक्षण समिति र पारालिगल समितिको सहयोगमा वि.सं. २०६८ कात्तिक २४ गते तीन जना बालकको जाहेरीमा श्रेष्ठलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो ।
नाबालकलाई जबर्जस्ती अप्राकृतिक सम्बन्ध राखेको ठहर गर्दै मुलुकी ऐन जबर्जस्ती करणी महलको दफा ३ अनुसारको सजाय तोकेको अदालतले जानकारी दिएको छ । ऐनमा १० वर्षमाथिका बालबालिकालाई जबर्जस्ती करणी गर्नेलाई १० वर्षसम्म कैद र अप्राकृतिक करणी गरेमा थप एक वर्ष सजाय हुने प्रावधान रहेकाले ११ वर्ष कैद तथा पीडकबाट पीडितलाई जनही ५० हजारका दरले क्षतिपूर्ति दिने फैसला भएको स्रेस्तेदार दशरथ पंगेनीले जानकारी दिए ।

प्रतिक्रिया