‘भाण्टा’को समाचारले तीन पत्रकार थुनामा

Sushil Panta

काठमाडौं, ७ असार । साईबर क्राइम अन्तर्गत पक्राउ परेका तीनजना पत्रकारलाई काठमाडौं जिल्ला अदालतले एकसाता थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
जिल्ला अदालतले पत्रकार सुशील पन्त, सन्तोष भट्टराई र पुष्कर कँडेललाई एकसाता थुनामा राख्न आदेश दिएको प्रहरीले जनाएको छ । प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न पाउनु पर्ने मागसहित आज (शुक्रबार) उनीहरुलाई अदालत पुर्‍याएको थियो ।
काठमाडौंको डिल्ली बजारस्थित कन्या क्याम्पसको शौचालयमा ‘भाण्टा’ भेटिएको समाचार प्रकाशित गरेको आरोपमा तीन पत्रकार विरुद्ध प्रहरीमा उजुरी परेको थियो । उजुरी पछि बिहीबार उनीहरुलाई प्रहरीले पक्राउ गरेर हनुमानढोकामा थुनेको थियो ।
कन्या क्याम्पसका प्रमुखले मनगडन्तले समाचार लेखेर छात्रा र क्याम्पसको बद्नाम गराएको भन्दै उजुरी दिएका थिए ।
यसैबीच, प्रेस काउन्सीलले पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेकोमा विरोध जनाएको छ । उसले आज विज्ञप्ति जारी गरेर समाारका विषयमा अनुसन्धान र कारबाही गर्ने जिम्मेवारीमा प्रहरीले हस्तक्षेप गरेको दाबी गरेको छ ।
काउन्सिलका पदाधिकारीहरुले आजै हनुमानढोका पुगेर प्रहरी अधिकारीहरुसँग पत्रकार पक्राउका विषयमा छलफल गरेको छ । अध्यक्ष बोर्णबहादुर कार्की, सदस्य किशोर श्रेष्ठ, खिलबहादुर भण्डारी र मनऋषि धिताल हनुमानढोका पुगेका हुन् ।

 

प्रतिक्रिया