कारबाहीमा परेका कलेजमा भर्नाको विज्ञापन

hsebकाठमाडौं : उच्च माध्यमिक शिक्षा परिषद्को कारबाहीमा परेको कलेजले नयाँ भर्नाका लागि धमाधम विज्ञापन गरिहेको छ ।
परिषद्ले कारबाही गरी यस शैक्षिक सत्रका लागि स्थगन गरेको जुलियट कलेज कालिमाटीले धमाधम भर्ना गरिरहेको छ । कलेजले गत वर्ष कक्षा १२ को विज्ञान संकायको फिजिक्स विषयको प्रश्नपत्र आउट गरेको पाइएपछि परिषद्ले यस वर्षको कक्षा ११ को भर्नामा रोक लगाएको थियो । तर, कलेजले परिषद्को कारबाहीलाई लत्याउँदै विभिन्न पत्रिकामा कक्षा ११ को भर्नाका लागि विज्ञापन गरिरहेको छ । परिषद्ले यस शैक्षिक सत्रको भर्नाका लागि रोक लगाएको कलेजले विज्ञापन गरेपछि रोक्न निर्देशन दिइएको छ ।
‘कारबाहीमा परी भर्ना स्थगन गरिएको कलेजले भर्नाका लागि विज्ञापन गरिएको पाइएको छ’ परिषद्का प्रवक्ता नारायण कोइरालाले भने, ‘हामीले विज्ञापन रोक्न भनेका छौँ । अझै पनि नरोके कलेजको सम्बन्धन खारेज गर्दछौँ ।’
यस्तै, परिषद्ले आचारसंहिताविपरीत विज्ञापन नगर्न सबै कलेजलाई आग्रह गरेको छ । कलेजहरूले आचारसंहिताविपरीत विद्यार्थीलाई आकर्षण गर्न होर्डिङ बोर्ड र महँगो विज्ञापन गर्न थालेपछि रोक्ने आग्रह गरेको हो । परिषद्का सहसचिवसमेत रहेका कोइरालाले कलेजहरूले आचारसंहिताविपरीत विज्ञापन गरिरहेको पाइएपछि रोक्न आग्रह गरिएको बताए । उनले त्यस्ता कलेजलाई कारबाही गरिने जानकारी गराए ।
हिसानका उपाध्यक्ष रमेश सिलवालले कलेजहरूले गत वर्षभन्दा विज्ञापनमा धेरै कम खर्च गरेको बताए । उनले आचारसंहिता पूर्णरूपमा कार्यान्वयन नभए पनि कलेजहरूको तडकभडक गत वर्षभन्दा कम भएको बताए । (सौस)

प्रतिक्रिया