पूर्वाञ्चल फर्टिलाइजरबाट अवैध कारोबार

भैरहवा, ७ असार । विगत ३ वर्षदेखि उत्पादन बन्द रहेको पूर्वाञ्चल फर्टिलाइजर नेपाल प्रालिबाट अवैध कारोबार भइरहेको खुलासा भएको छ ।
रूपन्देहीको हाटिबनगाई–१, गरगट्टिमा मलखाद उत्पादन गर्ने उद्देश्यले स्थापना भएको सो उद्योग विगत ३ वर्षदेखि बन्द अवस्थामा थियो । तर, बिहीबार बन्द रहेको सो उद्योगमा प्रहरी र राजस्वको संयुक्त समूहले छापा मारी ठूलो परिमाणमा गैरकानुनी रूपमा भारतबाट नेपाल भित्र्याई स्टोर गरिराखेको अवस्थामा रासायानिक मल बरामद गरेको छ ।
भैरहवाका उद्योगी सञ्जय जैसवाल र नारायण बरइको संयुक्त लगानीमा सञ्चालनमा आएको रहेको सो उद्योगमा हाल पनि २१ जना मजदुर कार्यरत छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख हरिबहादुर पालले नेपालमा मलको अभाव भइरहेका बेला डम्पिङ गरिरहेको अवस्थामा उत्पादन बन्द रहेको उद्योगबाट मलखाद बरामद गरेको बताउँदै यसलाई चोरीपैठारी भएको जनाएका छन् । उनले कम्पनीमा तालबन्दी गरेको तथा थप कारबाही राजस्व र उद्योग विभागले गर्ने बताए ।
उनले भने, ‘जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी पाई राजस्व अनुसन्धान कार्यालय बुटवललाई खबर गरेको हो । यो कम्पनीमा चोरीपैठारीको समान भएको थाहा पाई बुधबार राति नै नेपाल प्रहरीले घेराबन्दी गरेको थियो ।’ किसानको नाममा कतिपय मानिसले तस्कर गरी सो उद्योगमा स्टोर गरिरहेको हुनसक्ने प्रहरीको प्रारिम्भक अनुसन्धानले देखाएको छ । बन्द उद्योगमा छापा मार्दा जम्मा ४ हजार ८ सय ३९ बोरा रासायानिक मल भेटिएको हो । केही बोरा भारतीय बोरामा राखेको भेटिएको पश्चिमाञ्चल राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख धमेन्द्र मिश्रले जनाएका छन् ।
राजस्व अनुसन्धान प्रमुख मिश्रले उद्योगमा सिलबन्दी गरी अनुसन्धान अगाडि बढाइएको र प्रारम्भिक अनुसन्धानमा उद्योगमा स्टोर गरेको मल गैरकानुनी देखिएको बताए । उनले भने, ‘हामीले कम्पनी सञ्चालकलाई ७ दिनको म्याद दिएका छौँ । यो म्यादभित्र लिगल डकुमेन्ट लिएर आए ठिकै छ । होइन भने भन्सार ऐन २०६४ अनुसार भन्सार चोरीपैठारी ऐनअनुसार कारबाही हुन्छ ।’
राजस्व र प्रहरीका संयुक्त समूहले बन्द रहेको सो उद्योगमा युरिया २ सय ७० बोरा, पोटास १ सय ६२ बोरा, डिएपी ६५ बोरा, सगरमाथा मल २ सय बोरा र अन्य बोरा पलेटी गर्दै गरेको अवस्थामा जम्मा ४ हजार ८ सय ३९ बोरा मल रहेको छ । अनुसन्धान समाप्त नहुँदासम्म मलखादसहित कम्पनी नै सिल गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी पोषराज पोखरेलले जनाए ।
मलखाद उत्पादन गर्ने सो कम्पनी तीन वर्षदेखि बन्द रहे पनि २१ जना मजदुर कार्यरत छन् । कम्पनीमै विगत ४ वर्षदेखि काम गर्दै आएका बाबा सिंह भन्ने एक मजदुरले सो उद्योगमा भारतबाट कच्चापदार्थ लिएर यहाँ मलखाद बनाउने गरेको बताए पनि सो उद्योगमा भारतीय रासायनिक मल चोरीपैठारी गरी ल्याउने गरेको बुझिन्छ । अर्का मजदुर रोशन यादवले कम्पनीमा के काम हुन्छ भन्दा पनि साहुले जे काम गर्न भन्छन्, त्यही गर्ने गरेको बताए ।
समाचारका विषयमा उद्योगका सञ्चालकलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । एकातिर उत्पादन नभएको प्रमाण देखाउँदै राज्यसँग सबसिटी माग्ने अर्कोतिर बन्द उद्योगबाट अवैध कारोबार हुनुलाई धेरैले आश्चर्यका रूपमा हेरका छन् । यसखाले अवैध कारोबार गर्ने कम्पनीमा सिलबन्दी गरिएको र सो सिलबन्दीको सुरक्षा गर्ने जिम्मा सञ्चालकको नै रहेको इलाका प्रहरी कार्यलय बेथरीका सई पदम पाण्डेले जनाए ।

प्रतिक्रिया