‘मधेसी दल एकजुट हुनुपर्छ’

Anil-Kumar-Jhaकाठमाडौं : मधेसी दलहरू एक भए मात्र मधेसी जनताको मुद्दा समेटिने संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले बताएका छन् । यसका लागि उनले आगामी संविधानसभा निर्वाचनमा मधेसवादलाई आदर्श मान्ने सबै दलहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
सद्भावना पार्टीकै विभिन्न घटक दल र संस्थापक नेता तथा कार्यकर्ताहरू आ–आफ्नो पार्टी परित्याग गरी संघीय सद्भावना पार्टीमा प्रवेश गरेको जानकारी गराउन बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले मधेसको एजेन्डा धेरै पार्टी हुँदा कमजोर भएकाले विगतका तीक्तता भुलेर एक भई चुनावमा जानुपर्छ भन्ने मधेसी जनताको भावना रहेको बताए । ‘मधेसी दल फुट्दा शोषित पीडित मधेसीले अधिकार प्राप्त गर्न सक्दैनन्,’ उनले भने, ‘त्यसैले मधेसवादी दलहरूबीच बृहत् एकता र गणतन्त्रवादी शक्तिहरूसँग तालमेल गरेर अघि बढ्नु अहिलेको आवश्यकता हो ।’
झाले आफू फुटेको राजेन्द्र महतोसँग समेत एकता गर्न तयार रहेको भन्दै कसैसँग पनि राजनीतिमा छुवाछुतको स्थिति नहुने स्पष्ट पारे । मंसिर ४ गतेको घोषित मितिमा संविधानसभाको निर्वाचन कुनै पनि हालतमा हुनुपर्ने जिकिर गर्दै झाले त्यसका लागि सरकार, चार दल र आन्दोलनकारी दलहरू एक कदम पछि हटेर पनि सहमतिमा आउनुपर्ने बताए । उनले भने, ‘जे गरेर निर्वाचन हुन्छ । त्यो गर्नुपर्छ । त्यसको वातावरण सबै मिलेर बनाउनुपर्छ ।’ (सौस)

प्रतिक्रिया