बाढीपीडितलाई राहत दिन कांग्रेसको माग

Nepali Congressकाठमाडौं : नेपाली कांग्रेसले सुदूरपश्चिमका बाढी तथा पहिरो पीडितलाई राहत उपलब्ध गराउन माग गरेको छ । कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूद्वारा बिहीबार जारी विज्ञप्तिमा पुन:स्थापना र पुनर्निर्माण कार्यमा तत्काल युद्धस्तरमा क्रियाशील हुन आग्रह गरिएको छ । राहतसहित उद्धारका लागि तत्कालीन र दीर्घकालीन योजनाका साथै कांग्रेसले ५ बुँदे तत्कालीन र ४ बुँदे दीर्घकालीन कार्यक्रम ल्याउनसमेत सरकारसँग माग गरेको छ ।
तत्कालीन योजनाअन्तर्गत क्षतिको यथार्थ विवरण संकलन गरी घरविहीन भएकालाई तत्काल खाद्यान्न, टेन्ट र लत्ताकपडा एवं औषधोपचारको व्यवस्था गर्नुपर्ने र निकट भविष्यमै हुनसक्ने सम्भावित कटान र थप जनधनको क्षति रोक्नका लागि मुख्य–मुख्य नाकामा तत्काल तारजालीको तटबन्ध तयार गर्नका लागि सम्बन्धित क्षेत्रमा प्राविधिक टोलीका साथै थप सेना र प्रहरीलगायत स्थानीय जनपरिचालन गर्नुपर्ने माग कांग्रेसको छ ।
त्यसैगरी, बैतडी–दार्चुला सडकको क्षतिग्रस्त क्षेत्रमा तत्काल युद्धस्तरमा मर्मत कार्य सुरु गरी सडक सञ्चालन सुचारु गर्दै खाद्यान्न, औषधीलगायत आपूर्ति सहज गर्नुपर्ने, थप औषधी आपूर्ति र स्वास्थ्यकर्मी सक्रिय गराउनुपर्ने र दार्चुलामा बाढीले बगाएर लगेको महाकाली नदीको जौलजिबी पुललगायत अन्य जिल्लाका पुलहरू तत्काल निर्माण गरी नुन, तेल खाद्यान्न आपूर्ति सहज गर्नुपर्ने माग कांग्रेसले राखेको छ ।
त्यसैगरी, दीर्घकालीन योजनाअन्तर्गत घरविहीन हुन पुगेकालाई स्थानीय क्षेत्रमा वा तराईमा उपयुक्त र सुरक्षित स्थानमा पुन:स्र्थापित गर्नुपर्ने तथा सदरमुकाम क्षेत्रमा घर पसलहरू बगाई विस्थापित हुन पुगेका व्यापारीहरूलाई राहत र क्षतिपूतिका लागि बैंक ऋणको ब्याज मिनाहा एवं सहुलियतको प्रबन्ध गर्नुपर्ने, सर्वसाधारण जनताको क्षति यकिन गरी न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग कांग्रेसको छ । (सौस)्र

प्रतिक्रिया