ओझेलमा परेको चमेरे गुफा

KB-Mashalचमेरो स्तनधारी पन्छी हो । विश्वमा झन्डै ११ सय प्रजातीमा पाइने चमेरा नेपालमा भने एकसय प्रजातीका मात्र पाइन्छन् । नेपालमा पाइने चमेराहरूका प्रजातीमध्ये केही प्रजातीका चमेराहरूको आश्रयस्थल गुफामा रहेको छ । गुफामा चमेराको वासस्थान भएकाले धेरै जिल्लाका गुफाको नाम पनि चमेरे गुफा राखिएको छ । दाङ जिल्लाको हलबार– ५ मूलकोटमा रहेको गुफाको नाम पनि चमेरे गुफा राखिएको छ । संसारमा पाइने चमेरामध्ये ७० % मासांहारी र ३०% चमेरा साहकारी हुन्छन् । वातावरण अनुकूलको प्रभाव बढ्दै जाँदा चमेराहरूको वासस्थान गुफामा बढ्न थालेका छन् । चमेराको मल संसारकै दश उत्कृष्ट प्रांगारिक मलमध्ये एक मानिन्छ भने औषधिमा समेत प्रयोग गरिन्छ । गुफामा बस्ने चमेराको बारेमा खोज अनुसन्धान हुन सकेको छैन ।

नेपालमा रहेका गुफा र चमेराको खोजी अहिले हुन थालेको छ । सिद्ध चमेरे गुफालाई पनि पर्यटन बोर्डले रकम उपलब्ध गराएर केही भौतिक पूर्वाधारको काम भएको छ । तर पनि गुफालाई संरक्षण गर्नुपर्ने धेरै काम बाँकी नै छन् । यतिखेर मुलुक भित्रेका कैयौ प्राकृतकि रूपमा रहेका गुफाहरू पर्यटकीयस्थल बनेका छन् । प्राचीन इतिहासमा हाम्रा पूर्वजहरूका घर आजभोलि पर्यटकीयस्थलका रूपमा विकास हुन थालेपछि गुफाको महत्त्व बढ्न थालेको छ । मानिस जंगली युगबाट अहिलेको सभ्यतामा आएको ३५ हजार वर्षभयो । जंगली युगमा मानवहरूले आफ्नो वासस्थानको रूपमा ओढार, गुफा र यस्तै आफूलाई अनुकूल हुने स्थानमा घाम पानीबाट बच्न आश्रयस्थल बनाउँथे । जुन कुरा हामीले इतिहासमा पाउँछौँ । तिनै आश्रयस्थल अथवा प्राचीन मानव घर आजभोलि पर्यटकीयस्थलका रूपमा विकास हुन थालेका छन् । जसको उदाहरण स्वरूप चमेरे गुफालाई पनि लिन सकिन्छ । गुफाभित्रको बनोट हेर्दा चमेरे गुफा ग्राफजाईट, ग्रेनाइट, स्लेट, बलौटेढुंगा, र चुनढुंगाले बनेको छ । चमेरे गुफा मात्र होइन नेपालको महाभारत पहाडमा रहेका प्राकृतिक बनोटमा देखिएका गुफाहरू पनि चमेरे गुफासँगै मिल्जाजुल्दा अवस्थामा छन् ।
दाङ जिल्लाको हलवार गाविसमा पर्ने महाभारत श्रृंखला मूलकोटमा रहेको चमेरे गुफा प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । महाभारत श्रृंखलाको भू–भागमा रहेको चमेरे गुफाले आन्तरिक एवं बाह्य पर्यटकहरू पाउन सकेको छैन । एसियाकै ठूलो उपत्यका मानिने दाङ उपत्यकाको उत्तरतिर सल्यान जिल्लाको सीमामा पर्ने महाभारत श्रृंखालाको चमेरे गुफा सामुन्द्रिक सतहदेखि करिबन १३५० मिटरको उचाइमा छ । मूलकोटभन्दा दक्षिणतर्फ घोर्नेटी र उत्तरतिर सल्यानको कटुंजेरी गाउँको बीचको चमेरे गुफा प्राकृतिक र ऐतिहासिक गुफा मानिन्छ । चमेरोको वासस्थान भएकोले गुफाको नाम पनि चमेरे गुफा राखिएको छ । चमेरे गुफा नजिकै सिद्ध र झाँक्रीको थान भएकाले यस गुफालाई झाँक्रीगुफा पनि भन्ने प्रचलित नाम भने सिद्ध चमेरे गुफानै छ । पहाडी श्रृंखलामा रहेको यो गुफालाई एसियाकै ठूलो गुफा भन्ने गरिए पनि आधिकारिक तथ्य भने केही छैन । यो गुफामा प्राचीन कालमा ऋषिमुनिहरूले तपस्या गरेको स्थल हो भन्ने कुरा अनुमान गर्न सकिन्छ । चमेरे गुफाको खोजपूर्ण अनुसन्धान हुन नसक्दा पर्यटकीय दृष्टिकोणमा ओझेलमा परेको छ ।
चमेरे गुफामा चुनढुंगाको मात्रा बढी छ । चुनढुंगा पानीको वेगको घर्षणबाट खिइने हुँदा, चुनको पहाडमा पानीको स्रोतले कालान्तरमा अहिलेको गुफा बनेको हन सक्छ । भू–गर्भविद् भन्छन्–चुनढुंगा र पानी भएको स्थानमा गुफा बन्ने र पुरिने क्रम भइनै रहन्छ । करोडौँ वर्षको बीचमा यस्तो प्रक्रिया हुनेहँुदा हामीलाई अचम्म लाग्छ । नेपालमा फेला परेका केही गुफाहरूको अध्ययनले के देखाएको छ भने कतिपय गुफामा प्राचीन कालमा मानवहरूको बसोवास भएको थियो । जसको प्रमाण स्वरूप गुफाभित्र देखिएका आकार र विभिन्न मूर्तिको प्रतिविम्बले ती कुरालाई प्रमाणित गरेको छ । चमेरे गुफाको भित्रीभागमा गएर तल हेर्दा विसाल मैदानी भाग देखिन्छ, भन्ने मानिस पनि भेटिन्छन् । तर चमेरे गुफाभित्रका सबै स्थलको आधिकारिक अध्ययन भने हालसम्म कुनै निकायले गरेको पाइन्न । पछिल्लो समयमा आएर मुलुकभित्र नयाँ ठाउँमा गुफा भेटिएका समाचारहरू पनि बनेका छन् । ती गुफाहरूमा देखिएका विभिन्न स्वरूपका चट्टानका आकृतिहरूलाई ईश्वरीय शक्तिको स्वरूप मानी मानिसद्वारा पूजाआजासमेत गरिएको छ । नयाँ फेला परेका गुफाहरूको नाम पनि गुप्तेश्वर, भूवनेश्वर, शिव, अकलाजस्ता नामले पहिचान गराइएको पाइन्छ । तर, ती गुफामा चमेराको बासस्थान भएको कुरा अध्ययनले देखाएको छ । भौगोलिक हिसाबले चमेरे गुफा दाङ उपत्यकाको विकट स्थानमा छ । एक दशक अगाडिदेखि गुफाको चर्चा पचिर्चा हुन थाले पनि हालसम्म सडक यातायातले सुविधा दिन सकेको छैन । पर्सेनी हलबार खाद्रे भएर पनि चमेरे गुफामा पुग्न सकिन्छ । तर, पैदल यात्राका लागि तुलसिपुर रक्षाचौर यातायातका साधन नियमित गुड्ने हँुदा त्यहाँबाट करिब २ घन्टाको पैदल घोर्नेटी हँुदै मूलकोट अर्थात् चमेरे गुफा पुग्न सकिन्छ । हाल आएर तुलसिपुर सल्यान मोटर मार्गमा पर्ने हर्नेटीबाट च्युरीबोटसम्म करिब चार किमि सडक मार्ग बन्ने काम भएको छ । तर, पक्की सडक नहुँदा चमेरे गुफामा जाने मानिस अधिकांश पैदल यात्रामा पुग्ने गरेका छन् । बाह्य पर्यटक एदाकदा आउने र हालसम्म आन्तरिक पर्यटकहरूले चमेरे गुफाको अवलोकन गर्ने गरेका छन् । महाभारत पर्वतको भिरालो पाखा, वरिपरि जंगल गुफाको वरपरबाट देखिने दाङ उपत्यकाको मनमोहक दृश्यले चमेरे गुफामा पुग्ने मानिस रमाउने गर्छन् ।
नेपालमा अहिलेसम्म पहिचान भएका गुफाहरू कुनै न कुनै आध्यात्मिक शक्तिसँग जोडिएर पहिचान दिलाइएको छ । त्यसैले हुन सक्छ चमेरे गुफालाई पनि सिद्ध र झाँक्रीसँग जोडिएको छ । आखिर गुफा के हो ? कसरी बन्छ ? यो कुनै शक्तिबाट बनेको हो ? यो जान्न जरुरी छ । जहाँ गुफा हुन्छ, त्यस पहाडमा चुनढुंगा हुन्छ । चुनढुंगा एउटा कमलो खालको चट्टान हो । भू–गर्भशास्त्रीहरूका अनुसार चुनढुंगालाई पानीमा रहेको सामान्य कार्बोनिक एसिडले खुवाउन सक्छ । यस किसिमको कार्बोनिक एसिडको उत्पादन आकाशबाट झर्ने पानीका थोपाहरूले हावाबाट कार्बनडाइअक्साइड लिएपछि यसको गति तीव्र हुन्छ । जमिनमा बग्दा पानीले माटोबाट अरू कार्बनडाइअक्साइड लिएर त्यो एसिड झन् शक्तिशाली बन्छ । जहाँ चुन ढुंगा छ त्यसक्षेत्रमा बग्ने पानीको धारसँग भएको कार्बोनिक एसिडले चट्टानलाई निरन्तर खियाएर पहाडलाई खोक्रो बनाउँछ । यस्तो क्रम हजाराँै वर्षसम्म भइरहने र पानीले चुनढुंगाको चट्टानलाई खियाउँदा पहाडी श्रृंखालामा अहिले भेटिएका गुफाहरू बन्छन । भू–गर्भशास्त्रीको भनाइअनुसार पृथ्वीमा ६ करोड वर्षअगाडिदेखि कार्बोनिक एसिड बन्न लागेको हो । र अहिले देखिएका गुफाहरू पनि त्यही समयदेखि बन्न लागेका हुन् । गुफाभित्र देखिने विभिन्न आकृतिका बारेमा पनि जान्न जरुरी छ । गुफाभित्र प्रवेश गरेपछि हामीले जुन आकृतिहरू देख्छाँै अथवा भन्ने गर्छांै, यो शिवजीको मूर्ति अथवा पाँचपाण्डप या यस्तै नामहरूले आकृतिहरूलाई हामीहरूले पहिचान गर्ने गर्छांै । तर, त्यसैलाई वैज्ञानिक तथ्यचाहिँ यस्तो छ । हामीले देखेका आकृतिहरू भू–गर्भविज्ञानको भाषामा स्टेलेक्टाइट र स्टेलेग्माइट भनिन्छ । यसलाई सजिलो तरिकाबाट बुझ्नका लागि माथिबाट झरेकोलाई स्टेलेक्टाइट र तल थुप्रिएर चुलिएर आकृति बनेकालाई स्टेलेग्माइट भनिन्छ । जुन आकृतिहरूलाई हामी देवताको स्वरूप मान्ने गर्छांै त्यो नै स्टेलेग्माइट हो । किनभने निरन्तर माथिबाट खसेको स्टेलेक्टाइटका पानीको थोपामा चुनमिश्रित खैरोरागको पानी चुहिरहेको हुन्छ । यस्तो आकृति बन्नका लागि गुफाभित्र हजारौँ वर्ष लाग्छ ।

प्रतिक्रिया