ललितपुरका ६ सय विद्यालय बन्द

काठमाडौं, ६ असार । नेकपा–माओवादीनिकट अखिल नेपाल शिक्षक संगठन र अखिल क्रान्तिकारीले डिएभी सुशील केडिया उच्च माध्यमिक विद्यालयका शिक्षक मुकेश मिश्रलाई विद्यालय प्रशासनले कुटपिट गरेको विरोधमा ललितपुरका सबै शैक्षिक संस्था बन्द गरेका छन् । शिक्षक कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै उनीहरूले बुधबार ललितपुरका सबै शिक्षक संस्था बन्द गराएका हुन् । विद्यालय बन्दका कारण ६ सय निजी तथा सरकारी विद्यालयको पठनपाठन ठप्प छ ।

स्थानीय प्रशासनले कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै प्रशासन र प्रहरीलाई जानकारी गराउँदासमेत कारबाही नगरेपछि विद्यालय बन्द गरेको आन्दोलनत पक्षले जनाएका छन् । शिक्षक संगठनका अध्यक्ष गुणराज लोहनीले कारबाही नगरेपछि शैक्षिक संस्था बन्द गराएको जानकारी गराए । ‘तलब माग्न जाँदा शिक्षकमाथि कुटपिट गरियो’ उनले भने, ‘कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दा पनि कुनै कारबाही नभएपछि दबाब दिन बन्द गराइएको हो ।’
विद्यालयले निष्काशन गरिएका शिक्षक मिश्रलाई पुन:स्थापित गरेर हाजिरी गर्न दिए पनि तलब दिएको थिएन । ‘न कक्षामा पढाउन भनेको छ न तलब दिएको छ,’ उनले भने, ‘तलब माग्न जाँदा उल्टै कुटाइ खाइयो ।’ तलब माग्न जाँदा विद्यालयका भाइस प्रिन्सिपल रामचन्द्र खनाल र कर्मचारी प्रशान्त समालले जेठ ३० गते कुटपिट गरेको मिश्रले आरोप लगाएका छन् । यता, भाइस प्रिन्सिपल खनालले आफूले कसैलाई नपिटेको दाबी गरेका छन् ।
पाँच महिनाअघि विद्यालयले मिश्रसहित तीन जना शिक्षकलाई निष्कासित गरेको थियो । पछि शिक्षा विभाग र शिक्षक संगठनको सहमतिमा राख्ने सहमति भएको थियो । यसअघि उनीहरूले भारतीय पाठ्यक्रम पढाएको भन्दै विद्यालय खारेजीको माग गर्दै माघ २८ गते पनि ललितपुरका सबै शैक्षिक संस्था बन्द गराएका थिए ।

प्रतिक्रिया