चुनावको विरोध गर्ने दल पनि आयोगमा

elecation commition 1काठमाडौं, ६ असार । चुनाव घोषणाविरुद्ध आन्दोलनरत दलहरू पनि निर्वाचन आयोगले गरेको छलफलमा सहभागी भएका छन् । नेकपा–माओवादी सहभागी नभए पनि अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी दल र उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम नेपाल बुधबार आयोगले गरेको छलफलमा सहभागी भए ।

उनीहरूले निर्वाचनविरोधी गतिविधि नगर्ने प्रतिबद्धता पनि छलफलमा गरे । तर, उनीहरूसँगै आन्दोलनरत माओवादी भने छलफलमा सहभागी भएन ।
तोकिएकै मितिमा संविधानसभाको निर्वाचन गराउने भन्दै निर्वाचन आयोगले आफ्नो कार्यलाई तीव्रता दिन थालेको हो । आयोगका कारण समयमा चुनाव हुन सकेन भन्ने आरोपबाट मुक्त हुन र कुनै पनि मूल्यमा तोकिएकै मितिमा चुनाव सम्पन्न गर्नुपर्ने भन्दै आयोगले सबै दलहरूलाई चुनावमा सहभागी हुन अनुरोध गरेको छ ।
आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको भोलिपल्ट बुधबार दिउँसो आफ्नो कार्यकक्षमा दलका नेताहरूलाई बोलाई तोकिएकै मितिमा निर्वाचन गर्न आग्रह गर्दै चुनावमैत्री वातावरण बनाउन सहयोगको अनुरोध गरेको हो । आयोगले निर्वाचनको ‘वार्म अप’ भन्दै दलका नेताहरूसँग निर्वाचन मिति घोषणापछि आयोगले दलहरूसँग पहिलोपटक छलफल गरेको हो ।

छलफलमा चुनाव समयमै गर्न दलका नेताहरूले कस्तो भूमिका खेल्नुपर्छ, आयोगले कस्तो अपेक्षा गरेको छ भन्नेबारेमा दलका नेताहरूसँग प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले प्रश्न गरेका थिए । दलहरूबाट सकारात्मक भूमिका निर्वाह हुनेमा विश्वस्त रहँदै आन्दोलनमा रहेका दललाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण मिलाउन उनले आग्रह गरेका छन् ।
छलफलपछि पत्रकारसँग कुरा गर्दै आयोगका सदस्य अयोधिप्रसाद यादवले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न कहीँकतैबाट अवरोध नहुने वातावरण तयार पार्न सबै दलहरूबाट सहयोगको अपेक्षा गरिएको बताए । उनले दलका नेताहरूबाट पनि सकारात्मक जवाफ पाएको जानकारी दिए । छलफलमा नेकपा–माओवादीका नेताहरूलाई पनि बोलाएको जानकारी दिँदै उनले बुधबारको छलफलमा अनुपस्थिति रहेकालाई पनि अर्को कुनै बैठकमा पुन: आउन आग्रह गरिने जानकारी दिए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले यही असार मसान्तसम्म मतदाता नामावली संकलन गर्नेदेखि असोजको पहिलो हप्ता उम्मेदवार मनोनयन गर्नेलगायत कार्यक्रम तयार गरेर आयोगले चुनावका लागि वातावरण तयार पार्न आग्रह गरेको जानकारी दिए । उनले आफ्नो दल यसका लागि हदैसम्म लचक भएको र अन्य दललाई पनि चुनावमा सरिक हुन पहल गर्ने जानकारी दिए । चुनावको विकल्प नभएको र अन्तिम निकास नै चुनाव भएको पौडेलको भनाइ थियो ।
एमाओवादीका नेता पोस्टबहादुर बोगटीले निर्वाचनको कार्यतालिका अलि साँघुरो भएकाले यसमा बाधा नहोस् भन्ने आयोगको अपेक्षाअनुसार वातावरण सहज बनाउन आफ्नो दलले पनि पहल गर्ने जानकारी दिए । आयोगले अहिलेसम्म एक करोड २० लाख मतदाताको नाम संकलन गरिसकेको र यसको संख्या एक करोड ५४ लाखसम्म पुग्ने अनुमान गरेको जानकारी पनि बैठकमा दिइएको बोगटीको भनाइ थियो ।
सो छलफलमा नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, मधेसी जनअधिकार फोरमका सल्लाहकार अमरेशनारायण झा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका रामेश्वर राय यादव र संघीय समाजवादी पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष रिजवान अन्सारीलगायत नेताहरूको सभागिता रहेको थियो ।
आयोगले दलहरूसँग छलफल सकिएपछि सुरक्षा निकायसँग छलफल गरेको थियो । छलफलमा भाग लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख र प्रतिनिधिहरू आयोगपरिसरमा पुगेका थिए ।

प्रतिक्रिया