निषेधको राजनीति छाड्न पूर्वराजाको आग्रह

Gyanendra-Shahaजनकपुर, ६ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीति छाडेर सबैलाई मुलुक निर्माणमा एकजुट हुन आह्वान गरेका छन् । मधेस भ्रमणमा रहेका शाहले बुधबार ऐतिहासिक तिरहुतिया गाछीमा आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै अतितलाई गाली गर्दैमा भविष्य नबन्ने टिप्पणी गरे । ‘राष्ट्रको राष्ट्रिय विधि व्यवस्थाले कोही कसैलाई काखा–पाखा गर्नु हुँदैन,’ उनले भने, ‘कसैलाई निषेध गर्नुभन्दा परस्पर मिलेर जाऊँ भन्ने मेरो अन्तरमनको चाहना रहेको छ ।’

पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक दलतिर संकेत गर्दै मुलुकको शासन व्यवस्थाको रूप र आकार बदलिँदैमा नवीनतम् नहुने बताए । ‘मुलुकलाई कसरी सही बाटोमा लैजाने, भएका भूलचुकलाई कसरी सच्याउने र आमजनअपेक्षित निश्चित एवं निर्विवादित गन्तव्यमा पुग्ने भन्ने कुरामा हामीले गहिरो सोच राख्नुपर्छ,’ उनले आºनो सम्बोधनमा भने, ‘नेपाली जनताले कसैसँग डराएर होइन, अन्तरात्माको आवाज बुझेर अघि बढ्नुपर्छ भन्ने मैले बुझेको छु । आफ्नो ब्रह्मले देखेको सामाजिक यथार्थलाई जनसमक्ष प्रस्तुस्त गर्नुपर्ने हुन्छ ।’
जनताको विवेकसम्मत निर्णयमा आफ्नो सहयोग रहने बताउँदै शाहले मुलुकको अवस्थालाई आफूले पनि नियालिरहेको बताए । ‘भ्रमणका क्रममा देख्दै जाँदा, सुन्दै जाँदा र बुझ्दै जाँदा आमनेपालीले भोग्नुपरेको अहिलेको कठिन अवस्थाबाट सचेत नेपालीका साथै म पनि चिन्तित छु,’ उनले भने, ‘नारा र योजना निकै उच्चखालको दिइए पनि धरातल र व्यवहारको प्रचलनमा हेर्दा आज उराठलाग्दो अवस्था देखिन्छ ।’
मुलुकमा घट्दो साम्प्रदायिक सद्भावप्रति चिन्ता व्यक्त गर्दै उनले नेपाली–नेपालीबीचको एकता र मौलिकता कायम राख्न अपिल पनि गरे । ‘कोहीसँग काखा, पाखा गर्नु हुँदैन,’ उनले भने, ‘मुलुकमा विद्यमान विभिन्न भाषा, सनातन धर्म, विधि विधानलाई कुनै पनि कारणले लोप हुन दिनु पर्दैन ।’ उनले मुलुकको एकता तथा मौलिकतालाई रक्षा गर्न समावेशीको नीतिले राष्ट्र विकासमा लाग्नुपर्ने बताए ।
हाम्रो मौलिकता, विविधता र विशेषतालाई जगेर्ना गर्दै आ–आफ्नो क्षेत्र र समुदायबाट समावेशी भई राष्ट्र विकासमा जोड दिनुपर्ने बताउँदै भने, ‘सबै क्षेत्र, जातजाति, वर्ण, धर्म, वर्ग, समुदाय सबैले यो सुन्दररूपी बगँैचामा फल्ने, फुल्ने मौका पाउनुपर्छ । नेपालको परिचायक र मौलिक पनि यही नै हो ।’
तराईलगायत मुलुकका विभिन्न भूभागबाट युवा तथा महिला कामको खोजीमा विभिन्न देश जाने क्रम बढेको भन्दै उनले भने, ‘यसरी हाम्रो जनशक्ति पलायन हुन नदिने र आ–आफ्नै ठाउँमा समुचित रोजगारीको व्यवस्था गर्न तथा बिदेसिएकाहरूलाई स्वदेशमै फर्काएर आफ्नै ठाउँको विकासमा लगाउन विशेष पहल हुनुपर्ने देखिन्छ ।’
उनले अप्रत्यक्ष शाही शासनकालमा भएका काम–कारबाहीको आत्मालोचनासमेत गरेका थिए ।
अभिनन्दन कार्यक्रम चलिरहँदा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।
शाहले त्यसअघि जानकी मन्दिरमा पूजाअर्चनासमेत गरेका थिए । मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, मटिहानी मठका मान महन्थ जगन्नाथ दास वैष्णवसहितका साधु, सन्त तथा राजावादीले नागरिक अभिनन्दन गरेका थिए ।

प्रतिक्रिया