पश्चिममा अविरल वर्षाको ताण्डव

Rahat-Pashiamकाठमाडौं, ५ असार । अविरल वर्षाका कारण मध्य र सुदूरपश्चिममा आएको बाढी–पहिरोले दुई दर्जनभन्दा बढीको ज्यान लिएको छ । सयौँ परिवारका हजारौँ विस्थापित भएका छन् । महाकाली नदीकिनारमा रहेको दार्चुला सदरमुकाम खलंगा आधाभन्दा बढी बगेको छ ।

अविरल वर्षासँगै आएको पहिरोले कालिकोटमा १२, दैलेखमा एकै परिवारका सात, बैतडीमा पाँच र अछाममा दुई जनाको मृत्यु भएको छ । करोडौँको धनजन क्षति भएको छ ।
तीन दिनदेखिको लगातारको वर्षाका कारण आएको पहिरोले मंगलबार बिहान कालिकोटको मुम्रा गाविसमा १२ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पहिरोबाट मृत्यु हुनेमा मुम्रा–१ की ३५ वर्षीया कला थापा, सिप्खाना–२ की २३ कमरा शाही, नाम नखुलेका निजकी पाँच वर्षीया छोरी, तीन वर्षीया छोरा, सिप्खाना–२ का सत्य शाही, निजकी पत्नी सरिता शाही, नाम नखुलेका उनका पाँच वर्षीया छोरा र तीन वर्षीया छोरी, मेहलमुडी–४ डङखुलेका बजारका मनबहादुर शाही रहेका छन् ।
त्यस्तै, फुकोट–७ का ओभरसियर कृष्ण न्यौपाने, थिर्पु घर भएका अर्का ओभरसियर टक्कबहादुर बम, सिप्खाना–२ की चञ्चला शाही रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक रमेशकुमार पोखरेलले बताए ।
उनका अनुसार पहिरोमा परी सिप्खाना–२ का सुरज शाही र मेहलमुडी–४ का वृषबहादुर शाही घाइते भएका छन् । आठ जनाको शव भेटिएको छ भने अरू बेपत्ता रहेको उनले बताए । उनीहरूलाई जीवितै भेटिने सम्भावना क्षीण रहेको स्थानीय बासिन्दाले बताए । घटनास्थलमा स्थानीयवासी नेपाल प्रहरीलगायतले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी नायब उपरीक्षक पोखरेलले अझै बेपत्ताको विवरण आउन बाँकी रहेको बताए । घटनास्थलमा जिल्लाबाट उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली पठाइएको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले बताए ।
वर्षाका कारण मेहलमुडीमा १० वटा घरसहित लाखौँको मालसामान क्षति भएको छ भने सिप्खाना–२ चाटेबगर बजारमा सातवटा घरमा क्षति भएको छ । मेहलमुडी सिप्खाना आवत–जावत गर्ने एक काठेपुल र एक झोलुंगे पुलसमेत बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी, पहिरोले पोतमारास्थित विद्युत् गृहको इन्टेक, ट्रान्सफर मेसिन, १० वटा पोलसहित डेलिभेरी मेसिनसमेत बगाएको छ । वर्षाले सबैभन्दा बढी कर्णाली नदीको आसपासका क्षेत्रको स्थानीय जितेगडा र लालिघाट बजार डुबानमा परेको छ । जितेगडा बजारमा एक खुद्रा पसल बगाएको छ भने मान्म बजारमा तीनवटा घर भत्किएका छन् ।
पहिरोमा परी दैलेखमा सोमबार राति एकै परिवारको सात जनाको ज्यान गएको छ । मालिका गाविसमा मोहन कुमालको घर भत्किँदा परिवारका सबै जनाको मृत्यु भएको हो । बाढीले रामागाड र तल्लो डुंगेश्वरका ३५ घर बगाएको छ । थुपै्र घर डुबानबाट प्रभावित छन् ।
पहिरोमा परी मृत्यु हुनेमा ३० वर्षीय मोहन कुमाल, उनकी श्रीमती २७ वर्षीया तुलसा, छोरा ११ वर्षीय गणेश, ७ वर्षीय खगेन्द्र, ६ वर्षीय नगेन्द्र तथा छोरी ३ वर्षीया कृष्णा र २ वर्षीया सुन्तली कुमाल रहेका छन् । तल्लो डुंगेश्वर र माथिल्लो डुंगेश्वर चौकीबाट खटिएको प्रहरीले मृतकको उद्धार गरेको छ ।
प्रहरीका अनुसार तीन दिनयताको भारी वर्षाले नदीनाला बढेपछि आसपासका थुपै्र बस्तीलाई प्रभावित पारेको छ । कर्णाली र रामागाड खोलाको दोभानमा रहेका मंगलबार बिहान बगाएकाले मानवीय क्षति हुन नपाएको स्थानीयले बताएका छन् । त्यहाँ ३० घर अझै डुबानमा छन् । माथिल्लो कर्णालीको सुरक्षार्थ रक्तकाली गणका सशस्त्र प्रहरीले पीडितको उद्धार गरिरहेका छन् । कर्णाली राजमार्गमा पर्ने सात्तला गाविसको रामागाड व्यापारिक क्षेत्र हो । यहाँ ०४० सालपछि भएको यो ठूलो क्षति हो ।
त्यस्तै, बैतडी सिद्धेश्वर गाविस–९ मा पहिरो जाँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ । चार दिनदेखि परिरहेको अविरल वर्षापछि आएको पहिरोले रामसिंह ऐरको परिवारका ५ जनालाई बगाएको हो ।
पहिरोमा परी मृत्यु हुनेमा ३४ वर्षीया कलावती ऐर, २६ वर्षीया सीता ऐर, उनका १ वर्षीय छोरा अर्जुन, ३ वर्षीया छोरी विन्देश्वरी र १२ वर्षीय परमेश्वर रहेको प्रहरीले जनाएको छ । पहिरोमा परेकाको खोड्पे प्रहरी चौकी, इलाका प्रहरी कार्यालय पाटनबाट गएको टोलीले उद्धारकार्य जारी राखेको छ । ४ जनाको लास पहिरोमा पुरिएको अवस्थाबाट निकालिएको भए पनि परमेश्वर ऐरको शव अझै नभेटिएको इन्स्पेक्टर मनोज शाहीले बताए ।
त्यस्तै, अविरल वर्षाले डडेलधुरा जिल्ला शीर्ष गाविस–९ परिगाउँका १८ परिवार र जोगबुडा गाविस–३ तातोपानीका २५ परिवार विस्थापित भएका छन् । विस्थापित आफन्तको घरमा बसिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण प्रसार्इंले बताए ।
अछाम कुन्तिबन्डाली­३ मा पहिरो जाँदा सोही स्थान बस्ने ३५ वर्षीय मीनबहादुर बोगटीकी श्रीमती ३२ वर्षीया अनिता र छोरी सबिनाको मृत्यु भएको छ । मंगलबार बिहान साढे पाँच बजे गोठमा सुतिरहेका अवस्थामा पहिरो आउंँदा उनीहरूको मृत्यु भएको हो । मीनबहादुर र उनका छोरा मुकेश र रोहित सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
२५ दिनकी सुत्केरी घरको छतमा
यस्तै, कर्णाली नदीमा आएको बाढीका कारण बर्दियाको दौलतपुर मुर्गौवाका एकै परिवारका ४ जनाको उद्धारमा कठिनाइ परेको छ । मुर्गौवा गाउँमा चारैतिर बाढीले घेरेपछि सुरक्षित स्थानतिर जान नसकेर मुर्गौवाका जयबहादुर खत्री, उनकी पत्नी, २५ दिनकी सुत्केरी बुहारी र नवजात शिशु घरको छतमा बसिरहेको र उद्धारका लागि अनुरोध गरिरहेको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । उनीहरूको उद्धारका लागि हेलिकोप्टर मगाइएको प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले बताए ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले दिएको पछिल्लो जानकारीअनुसार राजापुर क्षेत्रमा रहेका ११ गाविसका झन्डै दुई हजार बढी घर डुबानमा परेका छन् । पाताभार गाविसको राजीपुर, सन्कट्टी र बनकट्टी, दौलतपुर गाविसको मुर्गौवा, सोनपुर, खैरीचन्दनपुर गाविसको मझेरा र राजापुर गाविसको छेदियालगायत गाउँका सबै घर पूर्णरूपमा क्षति भएको छ ।
जाजरकोटमा यातायात ठप्प
लगातारको वर्षाले दुई दिनदेखि जाजरकोटको यातायात सेवा अवरुद्ध भएको छ । नदीमा पानीको सतह बढेपछि छिन्चु–जाजरकोट सडकखण्डको सुर्खेत राकमदेखि जाजरकोट खलंगासम्म मात्र चल्ने गरेको यातायात पनि वर्षातका कारण अवरुद्ध भएको हो ।
वर्षाले सवारीसाधन नचलेपछि यात्रु सल्यानको सल्लीबजारसम्म एक दिनको पैदल हिँड्न बाध्य छन् भने बिरामी तथा बालबालिकाको बिचल्ली भएको छ । सुर्खेत, नेपालगन्जबाट सिधा यातायात चल्ने गरेकामा गत जेठ दोस्रो सातादेखि सुर्खेतको राकमबाट मात्र यातायात सञ्चालनमा थियो ।
नदीमा पानीको सतह बढेपछि सल्यानको सल्लीबजार र सुर्खेतको राकम जोड्ने भेरी नदीमा रहेको फेरी बन्द भएपछि सवारीसाधन राकमसम्म मात्र पुग्ने गरेका छन् । वर्षातले सडकको ठाउँ– ठाउँमा खाल्टाखुल्टी तथा हिलाम्य बनेपछि सवारी आवागमन ठप्प भएको भेरी गंगा यातायात व्यवयासायी समितिका इन्चार्ज महेश चौधरीले बताए ।
त्यस्तै, रुकुमको चौरजहारीदेखि सल्यान सल्लीबजारसम्मको सडक पनि वर्षातका कारण अवरुद्ध छ । कच्ची र साँघुरो बाटोले गर्दा वर्षातको समयमा बर्सेनि यात्रुले सास्ती खेप्दै आएका छन् ।
भैरहवा डुबानमा
अविरल वर्षाका कारण भैरहवा डुबानमा परेको छ । डुबानका कारण यहाँका अधिकांश सरकारी कार्यालयको काम प्रभावित भएको छ । सिद्धार्थनगर नगरपालिकाको विभिन्न वडा र केही सरकारी कार्यालय डुबानमा परेका छन् । डुबानका कारण नगरपलिकाका पक्लिहवा, झण्डी बजार, दरखसवा, गल्लामण्डी, हाटबजार, ज्योति पथ, श्रद्धापथ, देवकोटा चोक, सिद्धार्थ बसपार्क, बेलहिया, जनतापथ, नयाँ सडक, सिद्धार्थ रंगशालालगायत विभिन्न क्षेत्र पोखरीजस्तै देखिएका छन् ।
मुख्य सडक डुबानमा परेपछि भैरहवाबाट छुट्ने अधिकांश सवारीसाधन छुट्न सकेका छैनन् भने भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट कुनै पनि उडान हुन सकेको छैन । ­

प्रतिक्रिया