घर भत्किदा एकै घरका ७ को मृत्यू

Dailekha District

दैलेख, ४ असार । दैलेख जिल्लामा घर भत्किँदा मालिका–२ मा एकैपरिवारका सात जनाको मृत्यू भएको छ भने लाखैंको नोक्सानी भएको छ ।
बाढी/पहिरोले सोमबार राति रामागाड र तल्लो डुंगेश्वरका ३५ घर बगाएको हो । दर्जनौं घर डुबानबाट प्रभावित छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मालिकामा मोहन कुमालको घर भत्किँदा परिवारका सबै पुरिएर मृत्यू भएको हो । मृत्यू हुनेमा घरमुली ३० वर्षीय मोहन कुमाल, २७ वर्षीय तुल्सा, छोरा ११ वर्षीय गणेश, ७ वर्षीय खगेन्द्र, ६ वर्षीय नगेन्द्र, छोरी ३ वर्षीय कृष्णा र २ वर्षीय सुन्तली कुमाल रहेका छन् ।
तल्लो डुंगेश्वर र माथिल्लो डुंगेश्वर चौकीबाट खटिएको प्रहरीले मृतकको उद्धार गरेको छ ।
प्रहरीका अनुसार तीनदिनयताको भारि वर्षाले नदीनाला बढेपछि आसपासका थुपै्र बस्तीलाई समेत प्रभावित पारेको छ ।
कर्णाली र रामागाड खोलाको दोभानमा रहेको रामागाड बजारका १० घर पनि बगाएको छ । मंगलबार विहान बगाएकाले मानवीय क्षति हुन नपाएको स्थानीयले बताएका छन् । त्यहाँ ३० घर अझैं डुबानमा छन् ।
माथिल्लो कर्णालीको सुरक्षार्थ रहेको सशस्त्र प्रहरीको रक्तकाली गणले पीडितको उद्दार गरिरहेको छ । कर्णाली राजमार्गमा पर्ने सात्तला–१, रामागाड व्यापारिक क्षेत्र हो ।
कर्णाली नदी र लोहोरेखोलाको दोभानमा पर्ने तल्लो डुंगेश्वरमा बाढीले २५ घर बगाएको छ । नदीले वादी समुदायका घर बगाएपछि उनीहरु विचल्लीमा परेका छन् ।

प्रतिक्रिया