हङकङका च्याम्पियन धरानमा सम्मानित

धरान, ४ असार । पाँचपटक हङकङ तेक्वान्दो च्याम्पियनसिप विजेता बनेका पूर्वगोर्खा सैनिक राष्ट्र राईलाई धरान तेक्वान्दो डोजाङले सम्मान गरेको छ । सुनसरी खेलकुद विकास समितिको कभर्ड हल धरानमा सम्मान ग्रहण गरेपछि राईले नेपालमा पहिलोपटक खेल क्षेत्रबाट आफ्नो कौशलको मूल्यांकन भएकोमा भावुक भएको बताए । उनले आफू जहाँ रहे पनि नेपालको तेक्वान्दो खेलको विकासमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए । राईलाई संघका अध्यक्ष गोपाल राई, प्रमुख अतिथि तथा खेलकुद विकास समिति सुनसरीका अध्यक्ष नरेन्द्र चोङवाङ, प्रशिक्षक तथा खेलाडीहरूले सम्मान गरेका थिए । सन् २००२ मा सैनिक सेवाबाट अवकाश पाएका उनी अहिले बेलायतमा रही एक दर्जन तेक्वान्दो डोजाङ सञ्चालन गर्छन् ।

बेलायती सेनामा कार्यरत रहँदै उनी सन् १९८५, १९८६, १९८७, १९९२ र १९९३ मा गरी पाँचपटक हङकङ तेक्वान्दो च्याम्पियन बनेका थिए । उनी सन् १९८८ मा युके फ्रिस्टाइलमा बेष्ट फाइटर घोषित भए भने उनले २००७ मा युकेमा बल्र्ड तेक्वान्दो च्याम्पियनसिपमा कास्यपदक जितेका थिए । झापाको दमक स्थायी घर भएका राईले विस. २०३७ सालमा धरानमा कराते सिकेका थिए । ०३९ सालमा गोर्खा भर्ती भएपछि पनि उनले तेक्वान्दो खेललाई निरन्तरता दिएका थिए ।

प्रतिक्रिया