दुखायो कान्दाले

Bishnu-Gautamत्यति बेला हाम्रो परिवारमा कालरात्रि आइसकेको थिएन । जेठो छोरा पर्यटन व्यवसाय गथ्र्यो । माहिलो अध्ययनका लागि अमेरिकामा थियो । म यहाँ बसेर जेठालाई सघाउँथेँ । परिवार सुखद सञ्चालित थियो । जेठाको व्यवसाय राम्रो हँुदै थियो । माहिलो बलरामले पनि पढाइ सक्यो । ऊ सन् २००८ मा त्यहाँको युनिभर्सिटी टपर भयो । त्यो युनिभर्सिटी टप गर्ने पहिलो नेपाली ऊ नै थियो । छोराहरूको प्रगतिले हामी उत्साही थियौँ । यी सबै सफलताले सबैतिर उज्यालो भविष्य देखाइरहेका थिए ।
तर, पत्तो हुँदो रहेनछ– जीवनका सुख–शान्ति कसरी एक्कासि भताभुंग हुँदा रहेछन् । बज्रपात भयो हामीमाथि । जेठो छोरा कुमारको ०६५ साल मंसिरमा मोटरसाइकल दुर्घटनामा निधन भयो, २८ वर्षको थियो । त्यसको नौ महिनापछि माहिलो बलरामले पनि ०६६ असोजमा अमेरिकामा कार दुर्घटनामा ज्यान गुमायो । अब हामीसँग शोकसिवाय केही बाँकी रहेन । घरका कोठा अस्पतालको आकस्मिक कक्षजस्तो भएका थिए । एकातिर एक जना लडेको छ, अर्कातिर अर्को । परिवारको मूली भएका नाताले सबैलाई सम्हाल्ने दायित्व मेरो काँधमा थियो । चाहेर पनि रुन सक्दैनथेँ । छोराको लास बुझ्दा पनि आँसु खसाउन पाइनँ ।
अब मसँग दुइटा विकल्प थिए– सके सबै परिवारलाई यो शोक बिर्साउने, नसके परिवारै सखाप हुने । कति गर्दा पनि परिवार सम्हाल्न सक्ने अवस्था देखिनँ । कति दिन रुनु † बरु परिवारै गाडीमा बसेर भोटेकोसीमा खस्नुपर्छ कि भन्नेसम्म लाग्यो । त्यति नै बेला पश्चिमतिर गाडी दुर्घटना भएको समाचार आयो । दुर्घटनास्थलनजिक अस्पताल नभएर उपचारमा बाधा उत्पन्न भएको समाचार सुनेँ । पत्नी लक्ष्मीले एकाएक भनिन्, ‘हामी हाम्रा छोराहरूको नाममा एउटा अस्पताल खोलौँ न †’ उनको प्रस्तावले मेरो मस्तिष्कमा क्लिक गर्‍यो । छोराहरूका नामबाट रचनात्मक अनि सेवादायी काम गरे परिवारको मन भुलाउन सकिन्छ भन्ने लाग्यो । उनलाई ढाडस दिएँ, ‘हुन्छ म तिम्रो नामबाट छोराहरूको सपना पूरा गर्छु । म कामबाट उनीहरूको नाम जीवित राख्छु ।’ पत्नीकै नामबाट लक्ष्मी प्रतिष्ठान स्थापना गरेँ । सम्झाएँ, ‘भौतिक रूपमा जन्माएका छोरा अहिले साथ नभए पनि हामी भावनात्मक रूपमा धेरै छोरा जन्माउनेछौँ ।’
पुत्रवियोगको पीडा भुलाउन संस्था त खोलियो तर सञ्चालन गर्ने ज्ञान हामीसँग थिएन । सामान्य व्यवसाय गरेर बसेको मान्छे न थिएँ । सम्झिएँ– जेठो छोराले विभिन्न ठाउँबाट सहयोग जुटाएर २०/२२ जना बच्चा पढाउने गरेको थियो । काभ्रेस्थित आफ्नै गाउँ धुसेनी शिवालयको सरस्वती मावि र बालज्योति प्राविका विद्यार्थीलाई कम्प्युटरलगायत शैक्षिक सामग्री दिइरहन्थ्यो । मैले पनि संस्थामार्फत उसको अधुरो कामलाई निरन्तरता दिने योजना बनाएँ । शिक्षा क्षेत्रमै हात हालेँ । यति बेला विभिन्न पाँच क्षेत्रमा काम सञ्चालन गरेका छौं । शिक्षामा काम गर्दै जाँदा बुझेँ– सरकारी स्कुलमा पढ्ने एउटा बच्चालाई वर्षभरिमा पच्चीस सय–तीन हजार रुपियाँ खर्च गरे पुग्नेरहेछ । नेपालमा त्यति रकमका लागि अरूको भर पर्नुपर्ने मान्छे धेरै छन् । यो अति नै दु:खद कुरा हो । जति समस्या छन्, ती सबै बेरोजगारीका कारण उत्पन्न भएको पनि थाहा पाएँ ।
संस्था स्थापना गर्दा बाह्य सहयोग केही थिएन । आफूसँग जे थियो त्यसैबाट गाउँमा स्कुलमा लगानी गरे । शौचालय, पुस्तकालय बनाएँ । एक वर्ष अन्धाधुन्ध काम गरेँ, योजनाबेगर । जति बेला काम गर्ने तरिका थाहा पाएँ, मेरो सबै सम्पत्ति सकिइसकेको थियो । सायद शिक्षा क्षेत्रमा पूरै सम्पत्ति लगानी गरेर मैले पनि विद्यार्थीले जसरी केही पढेको थिएँ, यति बेला । लगानी गर्नुपर्ने क्षेत्र र काम गर्ने शैलीको ज्ञान हासिल गरेको थिएँ ।
संस्थाले गरेका कामको विवरण योजनासहित वेबसाइडमा अपलोड गर्थें । फेसबुक, ट्विटरमार्फत प्रचार गर्थें । हाम्रो प्रतिष्ठानलाई मान्छेहरू चिन्न थालेका थिए । विस्तारै सहयोगी हातहरू आउन थाले । मैले कहिल्यै नचिनेका र नदेखेका मान्छे पनि आए । यसमा केही छोराका साथी र शुभचिन्तकहरू पनि छन् । सहयोगको ठूलो माध्यम भनेको ‘अनलाइन’ हो । जसमार्फत दुई छोरा गुमाएर हजारौं छोरा पाएका छौँ हामीले ।
बुझ्न थालेको छु– कुनै एउटा कुराको समाप्तिले अर्को विषयको सुरुआत गर्दो रहेछ । व्यवसायी जीवनमा छँदा मैले नेपालका कुनाकाप्चा पढेर बुझेको थिएँ, हेरेर होइन । आज सामाजिक काममा लागेपछि नसुनेका गाउँ अनि नचिनेका मान्छेबीच पुग्न पाएको छु । उनीहरूको माया लाग्न थालेको छ ।
चितवनको ‘कान्दा’ जंगलको बीचमा चेपाङहरूको बस्ती छ । त्यहाँका मान्छे जंगली च्याउ खाएर मरेको समाचारमार्फत थाहा पाएँ । उनीहरूको गरिबीग्रस्त जीवन र अभावग्रस्त दैनिकीबारे बुझेपछि त्यहाँ गएर केही गर्न मन लाग्यो । त्यहाँ पुगेँ । देखेँ, उनीहरूका घर यति जीर्ण थिए कि घाम र पानी दुवै छिर्थे । अहिले ती चेपाङहरूका लागि घर बनाइदिने अभियानमा Bachhaलागेको छु
गाडीबाट झरेपछि सात घन्टाको पैदलयात्रामा कान्दा पुगियो । पहरा र भीरको बीचबाट हिँड्नुपर्ने, बाटै छैन । सुनेँ– त्यहाँबाट खसेको मान्छेलाई खोज्न जाने चलनै छैन । पक्कै मर्‍यो भन्दै कुशको लास बनाएर दाहसंस्कार गरिन्छ रे † यी र यस्ता दृश्य मेरा लागि हृदयविदारक बने । नेपाली भएकामा टाउको झुक्यो । चितवन विकसित जिल्लाका रूपमा चिनिन्छ तर त्यहीँ यति विकट ठाउँ पनि रहेछ । मन दुखायो यस्तो यथार्थले ।
कान्दा पुग्दा दिउँसोको १२ बजेको थियो । स्थानीय स्कुलमा गएर बसेका थियौँ । एउटी बाह्रवर्षे बालिका चौरमै ढलिन् । हाम्रो मेडिकल टिमले प्राथमिक उपचार गर्‍यो । थाहा पाएँ– उनी खाना नपाएर भोकले ढलेकी रहिछन् । त्यहाँ कुनै संस्थाले हरेक विद्यार्थीलाई सय ग्राम चनाको सातु दिँदो रहेछ । त्यही पानीमा घोलेर पिएर आँत धान्दा रहेछन् । त्यही सातुका लागि केटाकेटी तीन घन्टाको बाटो हिँडेर स्कुल आइपुग्दा रहेछन् । विकल्पमा अरू खानेकुरा नभएर नै उनीहरूले यस्तो दु:ख बेसाएका हुन् । त्यो दृश्य देखेपछि अनायासै मेरो मुखबाट फुत्किएछ, ‘थुक्क पातकी हो † यस्तै बालबालिकाका अधिकारका नाममा पाँचतारे होटलमा सेमिनार गर्दै प्राडो र पजेरो चडेर हिँड्छौँ । यहाँ यिनीहरूको जीवन यस्तो छ †’ मेरो हृदय निमोठियो । दुई छोरा गुमाउँदा नझरेको आँसु चेपाङ बस्तीको पीडा देखेपछि झर्‍यो ।
कान्दामा आफ्नो बस्तीका लागि केही गराँै भनेर लागिपरेका चितबहादुर चेपाङ रहेछन् । उनको घरतिर लाग्यौँ । लागेको थियो– यिनको घर अरूको भन्दा व्यवस्थित होला । तर, उहाँको घर पनि आकार मात्रको रहेछ । सोधेँ– ‘कसरी बस्नुहुन्छ ? पानी चुहिँदैन ?’ उनले हाँस्दै जवाफ फर्काए– ‘चुहिँदैन ।’ कसरी ? उनले ठट्टा गरे– ‘घाम लागेको बेला घामै चुहिन्छ नि, पानी चुहिँदैन †’ उनको २२ वर्षे छोरो मेरो क्यामेरा देखेर तर्सिएर भाग्यो । सायद बन्दुक सम्झियो । कति अज्ञान र अचेतना होला त्यहाँ, सहजै अनुमान लगाउन सकिन्छ । धेरै बालबालिकाको शरीरमा एकधरो कपडा छैन । धेरैको शरीर कंकालजस्तो देखिन्छ ।
यी दृश्य देखेपछि हामीले निर्णय गर्‍यौँ– पहिला बासको व्यवस्था गरिदिनुपर्छ । बाबियो र जस्ता प्रयोग गरेर घर बनाइदिने योजनामा छौँ । २० वटाजति यही असोजसम्ममा बनाउँछौं । त्यहाँबाट फर्केपछि अनलाइनमार्फत त्यहाँका दृश्य र योजना प्रचार गर्‍यौँ । अनलाइन हेरेर १३ जना घर निर्माणमा सहयोग गर्न तयार भएका छन् । विदेशी पनि छन् । त्यो बस्तीमा ६४ वटा घर छन् । विस्तारै उनीहरूको जीवनशैली परिवर्तन गर्ने योजना अघि बढाउनेछौँ । उनीहरूलाई कुखुरा र बाख्रापालनदेखि जुम्लाको सिमी र स्याउखेती गर्न सिकाएर बीउ उपलब्ध गराएका छौँ । खान दिँदा केही दिनलाई मात्र हुन्छ, खेती सिकाए पछिसम्मलाई आत्मनिर्भर हुन्छन् । यो कुरा अहिले सायद उनीहरू आफैँले पनि बुझेका छैनन् । जब आफैँले उत्पादन गरेको स्याउले भोक मेट्न थाल्छन्, तब यसको महत्त्व बुझ्नेछन् । हामी चाहन्छौँ पनि त्यही ।
कान्दाका महिलाको कथा झन् यति कारुणिक छ कि उनीहरू सुत्केरी हुनुपर्दा जंगलतिर छिर्दा रहेछन् । नवजात शिशुको शरीर सफा गर्ने कपडासम्म घरमा उनीहरूसँग हुँदैन । शिशुलाई जंगलको पातपतिंगरले सफा गरी रक्तस्राव रोकिएपछि घर फर्कंदा रहेछन् आमाहरू । अहिले पनि अवस्था उस्तै छ । विश्वास नलागे, त्यहाँ गएर बुझे हुन्छ ।
दुई महिनाअघि एक नेपाली युवा कोरियाबाट आए । उनका पिताको निधन भएको रहेछ, आर्यघाटमा राखिएको रहेछ । तर, उनी ‘पहिला मम्मीलाई भेट्छु’ भन्दै आर्यघाट जानुअघि मेरी श्रीमतीलाई भेट्न आए । उनलाई हामीले कहिल्यै देखेका थिएनौँ । वेबसाइटमा हाम्रो काम देखेका आधारमा प्रभावित भएका रहेछन् । उनले हाम्रो प्रतिष्ठानलाई सहयोग पनि गरे । सबै नाता रगतको हुँदो रहेनछ । भावनात्मक नाता रगतको भन्दा कम हुँदो रहेनछ ।
यो सबै मेरो पारिवारिक दुर्घटनाले निम्त्याएको विक्षिप्तताका बेला उत्पन्न सामाजिक प्रेरणाका कारणले सम्भव भएको हो । नत्र आज म एउटा सफल व्यवसायी मात्र हुन्थेँ, खान–लाउन समस्या हुँदैनथ्यो । तर, म त्यति बेला आफू अनि आफ्नो परिवारका लागि मात्र हुन्थेँ, आजजस्तो समाजको हुन पाउँदैनथेँ । छोराहरूको निधनअघि यसरी सामाजिक क्षेत्रमा जिम्मेवार र सहृदयी किसिमले लागौंला भन्ने छेकछन्दै थिएन । कुनै घटनाले मान्छेलाई समाप्त गर्छ, कुनैले नयाँ जीवन र शिक्षा दिन्छ । त्यो सबै आफ्नो नियन्त्रणशक्तिमा भर पर्छ । यो अभियानबाट मैले पाएको शिक्षा यही हो ।

प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया