एसएलसी परिणाम र शिक्षा पद्धति

Shiba-raj-Bhandariभर्खरै ०६९ सालको एसएलसीको परीक्षाफल प्रकाशन भएको छ । परिणाम विगतको भन्दा निराशाजनक ढंगले खस्कँदो छ । फलामको ढोकाका रूपमा रहेको एसएलसीको स्तर मात्र खस्किएको भए खासै दु:ख मान्नुपर्ने केही थिएन । केही अपवादलाई छाडेर समग्र शैक्षिकस्तर नै गिर्दो अवस्थामा छ । शिक्षा मानिसका लागि तेस्रो आँखा हो । तेस्रो आँखा जब राम्रो हुँदैन तबसम्म उसको जीवनदृष्टि नै फेरिँदैन । नफेरिएको जीवनदृष्टिले परापूर्वजले जसरी बाँचेका थिए त्यो भन्दा फरक ढंगले बाँच्न सिक्दैन । शिक्षा भनेको नयाँढंगले जीवन जिउने साधन पनि हो । त्यो साधन कसरी मानिसले प्राप्त गर्न सक्छन् त ? यो सोचनीय विषय छ । हामीले पुरानो शिक्षा पढिरहेका छौँ, पढाइरहेका छौँ । धेरैलाई लाग्न सक्छ–यही शिक्षा पढेका मानिसले पनि त प्रगति गरेका छन्, जागिर खाएकै छन्, पेसा व्यवसाय गरेकै छन् भन्ने । केही मानिसले मात्र प्राविधिक ज्ञान आर्जन गरेका छन्, थोरै मानिसले नोकरी पाएका छन्, केहीले अन्य पेसा व्यवसाय गरेका छन्, यसलाई हेरेर आममानिसको समस्या हल भयो भन्ने निष्कर्ष निकाल्नु गलत ठहरिनेछ । आममानिसको समस्या ज्यूँका त्यूँ छ । केही अपवाद मानिसलाई हेरेर शिक्षाले परिवर्तन ल्यायो भन्न सकिने अवस्था छैन । शैक्षिक सुधारका लागि राज्यसँग नीति छैन । विद्वानहरूले सुझाव दिइराखेकै छन् तर विद्वानहरू सत्ताका आसेपासे नभएको हुनाले उनीहरूको कुरा सुनिँदैन, सरकारले सुन्दैन । शैक्षिक सुधारको मुद्दा जोडतोडले उठाउनेहरू सत्तामा गएपछि पनि कुनै सुधारको प्रयत्न नहुन निकै दु:ख लाग्दो विषय बनेको छ ।

यद्यपि, त्यो प्रहरी प्रशासन २०–५० वर्षपछि कस्तो बनाउने, कसरी चलाउने, सेवा प्रवेश, पदोन्नति आदिका विषयमा पनि ती गृह मन्त्रालय हानथाप गरेर लिन चाहने राजनीतिक दलहरू अनभिज्ञ नै छन् । आज मिहिनेत गरेर भोलि राम्रो बनाउने भन्दा आजै कसरी सुखसयलका साथ बाँच्न सकिन्छ भन्ने ध्याउन्न मात्र छ । शिक्षा मन्त्रालय कसैले रोज्दैन, किनकि त्यहाँ बुद्धि विवेकको प्रयोग गर्नुपर्छ । थुप्रै समस्याले जेलिएको छ, शिक्षा क्षेत्र । अनेक विश्वविद्यालय, लाखौँ लाख विद्यार्थी, थुप्रै प्राध्यापक, शिक्षक, कर्मचारीका समस्या सुन्नु र ती समस्या सुल्झाउनु कम जोखिमको कुरा छैन । त्यसैले शिक्षा मन्त्रालय रोज्दैनन्, नेताहरू र राजनीतिक दलहरू । शिक्षा क्षेत्र अस्तव्यस्त हुने देश नै लथालिंग हुन्छ । पहिलो कुरा त शिक्षा भनेको ‘घोकन्ते विद्या, धाउन्ते खेती’ भन्ने पुरानो उखानलाई चरितार्थ गर्ने खालको शिक्षा छ हाम्रो । किन घोक्ने त भन्दा परीक्षा पास गर्ने, किन परीक्षा पास गर्ने भन्दा जागिर खान भन्ने उत्तर प्रत्येक पढ्ने मानिसको ओठमा झुन्डिएको उत्तर हो । के परीक्षा पास गरेर जागिर खानकै लागि दुनियाँले पढ्छन् त ? यही सिकाइएको, रटाइएको छ अहिलेसम्म । जीवन निर्वाह गर्ने सयौँ उपाय शिक्षाले सिकाउँछ भन्ने होइन, केवल जागिर खान शिक्षा लिइन्छ वा परीक्षा पास गरेको प्रमाणपत्र लिइन्छ भन्ने मात्र सिकाइएको छ । घोकेको शिक्षा जीवनभर काम लाग्ने त परै जाओस् परीक्षा लेखेको भोलिपल्ट सबै बिर्सन्छ । हामी प्रत्येकले परीक्षा दिँदासम्म कनिकुथी घोक्छौँ । त्यसको प्रयोजन केवल परीक्षा लेख्नेसँग हुन्छ । परीक्षा लेखेको एक दिनपछि जसरी अग्निमा चरु होमेपछि सिद्धिन्छ त्यसरी नै सबै सिद्धिन्छ । शिक्षा भनेको जीवनपर्यन्त काम लाग्ने चिज हो भन्ने हामीले सिकाउन सकेकै छैनौँ । आजको युगलाई काम लाग्ने शिक्षा भनेको व्यावहारिक र फलदायी शिक्षा हो । परीक्षा पास गरेर जागिर खाने शिक्षाले आजको समस्या हल गर्न सक्दैन ।
करिब २० प्रतिशत मानिसले एसएलसी पास नगरी विद्यालय छाड्छन् किनकि त्यो शिक्षाबाट आफ्नो भविष्य सुरक्षित नहुने देखेपछि निराश भएर बीचमै पढाइलाई पूर्णविराम लगाउँछन् । पढेको शिक्षाले पहिलो जीवनदृष्टि चाहिन्छ, दोस्रो रोजीरोटी चाहिन्छ । हाम्रो शिक्षाले अत्यन्तै कमलाई मात्र रोजीरोटी दिएको छ । यसको अर्थ के हो भने कम मात्र मानिसलाई हाम्रो शिक्षाले सन्तुष्ट बनाएको छ । त्यसैले हाम्रो शिक्षा निरर्थक छ । परीक्षा पास गर्ने अनि जागिर खाने शिक्षाले सिंगो देशलाई कमजोर बनाएको छ । पैसा हुनेहरूले पढ्ने एक खालको शिक्षा, पैसा नहुनेहरूले पढ्ने अर्को कमजोर शिक्षा भएका कारण अर्को जटिल समस्या थपिएको छ । अहिले आएको एसएलसीको नतिजालाई हेर्दा के देखिन्छ भने संस्थागत विद्यालयको परिणाम नै खासमा एसएलसीको परिणाम हो । सरकारी विद्यालयका परीक्षार्थी नै सबैभन्दा कम उत्तीर्ण भएका छन् । धेरैभन्दा धेरै विद्यार्थी पास गराउनेहरू निजी विद्यालय नै हुन् । बोर्डिङ स्कुल पनि दक्ष छन्, राम्रो शिक्षादीक्षा दिएका छन् र राम्रो गुणस्तर कायम गरेका छन् भन्ने आशय होइन । परीक्षामा कसरी धेरै अंक ल्याउन सकिन्छ भनेर सिकाएकै कारणले यो परिणाम आएको हो । बोर्डिङ स्कुलले के विद्यार्थीलाई जीवन जिउने कला सिकाएका छन् ? सिकाएका छैनन् । परीक्षामुखी पढाइले शिक्षाको गुणस्तर सुधार गर्न सक्दैन । शिक्षाको गुणस्तर सुधारका लागि केही कदम चाल्नु जरुरी छ । शैक्षिक सुधारका लागि एउटै किसिमको शिक्षा हुनु जरुरी छ । शिक्षा धनी र गरिबका लागि छुट्टाछुट्टै हुन सक्दैन । देशको शिक्षाले आफ्ना नागरिकका लागि फरक–फरक शिक्षाको व्यवस्था गर्दैन । फरक–फरक विद्यालय, फरक–फरक शिक्षा, त्यसले नागरिकलाई उत्थान गर्न सक्दैन, देशलाई पनि उँभो लाउँदैन, यो उँभो नलाउने शिक्षा बोकेर देश लत्रिँदै छ । लत्रिएर देश अघि बढ्न सम्भव छैन । मिहिनेत गरे आफ्नै भूमिमा पैसा कमाउन सकिन्छ भन्ने भावना हामीले तयार गर्नै सकेनौँ ।
जलस्रोतको दोस्रो धनी देशमा पानीको अनन्त स्रोत बगेर खेर गइरहेको छ तर जहाँ मरुभूमि छ, पानीको एकथोपा पाउन गाह्रो हुन्छ, त्यस्तो ठाउँमा गएर १२ देखि १८ घन्टासम्म अत्यन्त कडा श्रम गरेर अत्यन्त न्यून मूल्य पाउने खाडी मुलुकमा हाम्रा नेपाली काम गर्न बाध्य छन् । शिक्षा राम्रो भए हाम्रा युवा खाडी मुलुकमा जाने थिएनन् । घोकन्ते शिक्षाले मानिसलाई कति कमजोर बनाउँदोरहेछ भन्ने कुराको प्रमाण भनेको हाम्रो शिक्षाले स्याउ र अंगुर खानुपर्छ भन्ने सिकायो तर स्याउ र अंगुर कहाँ फल्छ र कसरी फल्छ भन्ने सिकाएन । सहरका विद्यार्थीलाई आलु तरकारी हो भन्ने थाहा छ तर कहाँ फल्छ भन्ने थाहा छैन । कुनै पनि विद्यार्थीले अक्षर चिनेपछि उसको रुचिअनुसारको विषय छनोट गर्ने अवसर दिनुपर्छ । अभिभावकको इच्छाले विषयको छनोट गर्दा उसको रुचि मिल्छ कि मिल्दैन, त्यो हेक्का राख्नुपर्छ । भ्रमण, अवलोकनको माध्यमले पढाइलाई राम्रो र सिर्जनात्मक बनाउन सकिन्छ भन्ने चेत हाम्रो शिक्षा क्षेत्रका मानिसमा कहिले आउला ? समाजशास्त्रका विद्यार्थीलाई नेपालमा कति जातजाति छन्, उनीहरूको संस्कार संस्कृति के छन् भन्ने थाहै नभई कन किताब र गेसपेपरका आधारमा परीक्षा उत्तीर्ण गर्ने परिपाटीले कसरी शिक्षाको गुणस्तर सुधार हुनसक्छ ? शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा हो । एसएलसीको परिणामलाई हेरेर समग्र शिक्षाको मूल्यांकन गर्ने भन्दा पनि हाम्रो शिक्षा पद्धति नै बेठीक छ । बेठीक पद्धतिले ल्याएको परिणाम हो अहिलेको एसएलसी ।

प्रतिक्रिया