मंसिरमा जसरी पनि चुनाव हुन्छ : दाहाल

prachandaविराटनगर, ४ असार । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ४ मंसिरमा जुनसुकै हालतमा पनि संविधानसभा चुनाव हुने बताएका छन् । जनताले चाहेकाले संविधानसभाको दोस्रो चुनावलाई कसैले रोक्न नसक्ने दाहालको भनाइ छ ।

नेकपा–माओवादी, मधेसी जनअधिकार फोरम, संघीय समाजवादीलगायत ४२ दल अन्तरिम चुनावी मन्त्रिपरिषद्ले एकलौटी रूपमा चुनावको मिति घोषणा गरेको भन्दै विरोधमा उत्रिएका बेला दाहालको यस्तो अभिव्यक्ति आएको हो । ‘नेपाली जनताले संविधानसभा चुनाव चाहेका छन्,’ विराटनगर विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले भने, ‘त्यसैले दोस्रो संविधानसभा चुनाव जसरी पनि तोकिएकै मितिमा हुन्छ ।’
नेकपा–माओवादीलगायत दलहरूले चुनावको विरोध गरिरहेकोतर्फ इंगित गर्दै उनले जनताको चाहनाविपरीत कसैले चुनाव रोक्न नसक्ने पनि बताए । सरकारले मिति घोषणा गरिसकेको र अधिकांश दल चुनावको पक्षमा रहेकाले केही दलले विरोध गर्दैमा चुनाव नरोकिने स्पष्ट पारे । उनले आन्दोलनमा रहेका दलहरूलाई आन्दोलनका कार्यक्रम छाडी चुनावको तयारीमा लाग्न आग्रह गरे ।
उनले आन्दोलनरत दलहरूका जायज मागलाई सम्बोधन गर्न आफूहरूले सरकारलाई सिफारिस गरेको जानकारी दिए । ‘आज (सोमबार) बिहान बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा असन्तुष्ट दलहरूका जायज माग पूरा गर्ने विषयमा छलफल भएको छ,’ उनले भने, ‘बैठकमा ती दलहरूलाई वार्ताको टेबुलमा ल्याई सहमति कायम गर्न सरकारलाई सिफारिस गर्ने सहमति पनि भएको छ ।’
आन्दोलनरत दलहरूको मागअनुसार चुनावी मन्त्रिपरिषद्को विघटन र उच्चस्तरीय समिति कुनै पनि हालतमा खारेज नहुने बताए । प्रमुख दलहरूबीच सरकार र चारदलीय संयन्त्र खारेजीको माग पूरा हुन नसक्ने सहमति भएको उनले बताए । ‘आन्दोलनरत दलहरूका जायज मागलाई सम्बोधन गर्नुपर्छ तर सरकारको राजीनामा र उच्चस्तरीय राजनीतिक संयन्त्र भंग गर्ने कुरा हामीलाई मान्य छैन,’ उनले भने । उनले चुनावी मन्त्रिपरिषद् गठनका क्रममा भएको ११ बुँदे सहमति र राष्ट्रपतिबाट जारी २५ बुँदे बाधाअड्काउ फुकाउसम्बन्धी आदेश भंग गर्ने माग स्वीकार्य नहुने स्पष्ट पारे । उनले उपेन्द्र यादव, मोहन वैद्य र अशोक राईको पार्टीलाई उच्चस्तरीय समितिमा सहभागी गराउन बैठकमा गम्भीर छलफल भएको जानकारी पनि दिए ।
उनले उच्चस्तरीय समिति नेकपा–माओवादीलाई पन्छाएर चुनाव गर्ने पक्षमा नरहेको उल्लेख गर्दै अनेक थरीको बखेडा झिक्नुभन्दा निर्वाचनमा सहभागी भएर संविधान बनाउने कार्यमा सहयोग गर्न आन्दोरत दलहरूलाई आग्रह पनि गरे ।

प्रतिक्रिया