चटयाङ लागेर ६ को मृत्यु

काठमाडौं, ४ असार । पर्सा र सिराहामा सोमबार चटयाङ लागेर ६ जनाको मृत्यु भएको छ ।

पर्साको पोखरिया इलाका प्रहरीका अनुसार जिल्लाको बैरियाबिर्ता गाविसमा सोमबार बिहान चटयाङ खस्दा दुई जनाको घटनास्थलमै र दुईको उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज ल्याउँदै गर्दा मृत्यु भएको हो । बिहान खेतमा काम गर्दै गर्दा पानी परेपछि खेतनजिकैको छाप्रोमा ओत लागेर बसेका बेला अकस्मात् चटयाङ खस्दा बैरियाबिर्ताका मनिफ मियाँ र गयामुखिया बिनको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी धर्मेन्द्र चौरसियाले जानकारी दिएका छन् । चटयाङ लागेर गम्भीर घाइते भएका झौवागुठीका रामबावु राउत र बैरियाबिर्ताका शम्भु राउत कुर्मीको उपचारका लागि नारायणी अस्पताल वीरगन्ज ल्याउँदै गर्दा मृत्यु भएको अस्पालको आकस्मिक कक्षले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते दुर्गा साह कानुसहित दुई जनाको वीरगन्जमै उपचार भइरहेको छ ।
त्यस्तै, सोमबारै सिरहाको दक्षिणी सीमावर्ती गाविस सुखचैना–७ मा चटयाङ लागेर आमाछोरीको मृत्यु भएको छ । खेतमा घाँस काट्दै गरेका बेला चटयाङ खसेर उनीहरूको मृत्यु भएको सीमावर्ती प्रहरी चौकी माडरले जनाएको छ । मृत्यु हुनेमा सुखचैना–७ का ३५ वर्षिया गीता देवी र उनकी १५ वर्षिया छोरी रिंकु यादव छन् ।
चटयाङ लागेर गम्भीर घाइते भएका उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सिरहा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक मनोज नेउपानेले जानकारी दिएका छन् । मृतकहरूको शव जिल्ला अस्पताल सिरहामा राखिएको छ ।

प्रतिक्रिया