युवाको बहादुरीले २३ मजदुरको ज्यान जोगियो

Mahakali-Nadi-Kanchanpurमहेन्द्रनगर, ४ असार । स्थानीय युवाको बहादुरीले महाकाली नदीमा फसेका २३ मजदुरको ज्यान जोगिएको छ । सेना, जनपद र सशस्त्र प्रहरीको अथक प्रयास विफल भएपछि युवाहरूले आफ्नो ज्यान जोखिममा हालेर उद्धार गरेका हुन् ।

आइतबार दिउँसोदेखि महाकाली नदीको टापुमा फसेका २३ जना मजदुरको १७ घन्टापछि उद्धार भएको हो । स्थानीय युवाहरूले टयुबमा उनीहरूको उद्धार गरेका हुन् । ‘हामीलाई खबर गरेको भए हिजै (आइतबार) नै उद्धार गर्ने थियौँ,’ उद्धारमा खटिएका पिपरैयाका दीपक सिंहले सौर्यसँग भने, ‘ढिलै भए पनि उद्धार गर्न पाउँदा खुसी लागेको छ ।’
उद्धार टोलीमा स्थानीय १२ युवक र नेपाल प्रहरीका एक जवान थिए । उद्धारकर्मी रामबहादुर बोहराले अन्तिमपटकमा पाँच मजदुरलाई टयुबमा हालेर उद्धार गरेका थिए । अन्तिमपटक गएका चार युवकमध्ये दुई टयुबमा २, एक टयुबमा ३ र बोहराको टयुबमा पाँच जनालाई ल्याइएको थियो ।
आइतबार दिउँसो गिट्टी बालुवा चाल्न गएका मजदुर र गाडीका स्टाफहरू महाकालीमा एकाएक आएको बाढीका कारण नदीको टापुमै फसेका थिए । दिउँसो ३ बजेदेखि फसेका उनीहरूको सोमबार बिहान ११ बजे मात्र उद्धार गरिएको हो । उद्धारकार्यमा एक घन्टा ढिलाइ भए सम्पूर्ण मजदुर नदीमा बग्ने अवस्था थियो ।
उनीहरूलाई उद्धार गरिएको एक घन्टा नबित्दै महाकाली नदीमा ३ लाख ७६ हजार ६ सय क्युसेक पानी बगेको थियो । उद्धारको समयमा नदीमा १ लाख ६१ हजार क्युसेक पानी बगेको थियो । ‘उद्धार गर्ने बेला पानीको बहाव बढेको भए समस्या हुन्थ्यो,’ उद्धारकर्मी राम बोहराले भने । स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा नदीमा टयुबको सहाराले उनीहरूको उद्धार गरिएको प्रहरी प्रवक्ता डिएसपी बिर्खबहादुर रावलले बताए ।
उनीहरूको आइतबार राति २ बजेसम्म उद्धारको प्रयास गरिए पनि सफल हुन सकेको थिएन । सोमबार बिहान ८ बजेदेखि उद्धार कार्य सुरु गरिएको थियो । बिहान सेनाको टोलीले आफ्नो बोट (डुंगा) ल्याएर प्रयास गरे पनि सफल हुन सकेन । त्यसलगत्तै स्थानीयवासीले युवाहरूलाई खटाउने बताएपछि प्रहरीले उद्धार गर्न दिएको थियो ।
मजदुरको उद्धार गरिए पनि जेसिपी, ट्रिपर, ट्रक गरी आठ साधन भने नदीको बीच भागमै रहेका छन् । पानीको बहाव बढेकाले ती साधन बगाएको स्थानीय बासिन्दाले बताए । उद्धार गरिएकामा मिलन चौधरी, सीताराम चौधरी, विनयराम सुनार, हेमराज सुनार, दिनेश चौधरी, प्रेम चौधरी, सुरेश चौधरी, बिरु चौधरी, कृष्ण सुनार, यज्ञ पन्तलगायत २३ जना छन् ।
‘कहिलेकाहीँ पानी बढ्ने र घट्ने गर्ने गरेका कारण बहाव बढ्दा खासै ध्यान दिइएन,’ उद्धार गरी ल्याएका मिलन चौधरीले भने ‘पानीको बहाव नरोकिएपछि आशा नै मरेको थियो ।’
नदीको बीच भागमा फसेका मजदुरको उद्धार गर्न कठिनाइ भएको भन्दै प्रहरीले नेपाली सेनाको हेलिकोप्टरसमेत माग गरेको थियो । ‘प्रतिकूल मौसमले हेलिकोप्टरसमेत आउन सकेन,’ एसपी विनोद घिमिरेले भने । पानीको बहाव उच्च भएपछि शारदा ब्यारेजको ढोका बन्द गर्न भारतीय पक्षले नमान्दा उद्धारमा ढिलाइ भएको उनले बताए । महाकाली नदी क्षेत्रको झोलुंगे पुलबाट दुई किलोमिटर उत्तरी क्षेत्र पिपरिया घाटमा मजदुर फसेका थिए ।
यसैगरी, महाकाली नदीको बाढीले बगाएर कञ्चनपुरको चाँदनीका दुई जना बेपत्ता भएका छन् । चाँदनी–६ ब्रमेली टोलका ४० वर्षीय नन्दन ठगुन्ना र सोही ठाउँका ५२ वर्षीय कोशिल्यादेवी सुनार बेपत्ता भएका छन् । महाकाली नदीमा आएको बाढीले बगाएर ल्याएका दाउरा संकलन गर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरी प्रवक्ता डिएसपी बिर्खबहादुर रावलले बताए । पहाडी जिल्लामा परेको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव निकै उच्च भएको छ ।
पानीको बहाव उच्च भएपछि कञ्चनपुरको भुजेला, बडैपुर, पिपरिया, ओदालीलगायत आसपासका स्थानीयवासी नदी गाउँ पस्ने खतराले त्रसित बनेका छन् । महाकाली नदीमा पानीको बहाव चार लाख ४० हजार ७ सय क्युसेक नाघेको छ । यो हालसम्मकै उच्च हो ।
त्यसैगरी, भीमदत्त नगरपालिका–१ बाराकुण्डा क्षेत्रमा रौटेला खोला गाउँ पसेपछि स्थानीय ३२ घरपरिवार सुरक्षित स्थानमा बसाइँ सरेका छन् । उनीहरू घरमा पानी पसेपछि सुरक्षित स्थानमा गएको स्थानीय पूर्णबहादुर कुँवरले बताए ।
सोमबार बिहान एक लाख ३९ हजार क्युसेक मात्रै रहेको बहाव बेलुकीसम्म चार लाख ४० हजार पुगेको छ । नदीले कञ्चनपुरको चौकिसोता र भुजेला क्षेत्रका केही घर डुबाएको छ । गत वर्षको बाढीमा तीन लाख ७८ हजार क्युसेक पानीको बहावले भुजेला क्षेत्रमा बनाएको तटबन्ध भत्काएको थियो । ‘अहिले बेलुकी केही घटेको जानकारी आएको छ,’ प्रहरी प्रवक्ता रावलले भने, ‘पहाडमा पानी पर्ने क्रम नरोकिएकाले अझै पानीको बहाव बढ्न सक्नेछ ।’
सो क्षेत्रमा महाकाली नदीको भँगालो गाउँतिर पस्ने खतरा बढेको छ । तटबन्ध संरक्षण समिति पिपरिया संयोजक जनकबहादुर सिंहले असारको सुरुआतमै यस वर्ष बाढी आएको बताए । ‘नदीमा पानीको बहाव बढ्दै गइरहेकाले गाउँ नै पस्ने खतरा छ,’ उनले भने । आइतबारदेखि सुदूरपश्चिमका पहाडी जिल्ला र तराईका जिल्लामा समेत पानी निरन्तर रूपमा परिरहेको छ । निरन्तरको वर्षाका कारण कञ्चनपुर जिल्लाको जनजीवनसमेत प्रभावित भएको छ ।

प्रतिक्रिया