अस्पतालसहित ३ दर्जन बढी घर बगायो

khalanga 1

डडेल्धुरा, ३ असार । महाकाली नदीमा आएको बाढीले दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा गाविसका ४ र ५ वडामा रहेका तीन दर्जन बढी घर बगाएको छ भने एक महिला बेपत्ता भएकी छन् ।
बाढीले खलंगा–५, रिगेतालमा रहेका अंदाजी करीव ३० वटा सुकुम्वासीहरुले बनाएका कच्ची टहरासमेत बगाएको प्रहरीले जनाएको छ । महाकाली नदीले आईतबार मध्यरातिदेखि कटान शुरु गरेको हो ।
बाढीले सुनसेरा गाविसस्थित महाकाली किनारको छेउमा रहेको कालागाढ लघु जलबिद्युत्को पावरहाउस र ट्रान्समिटरसमेत बगाई लगेको छ ।
जिल्ला शिक्षा कार्यालयको स्रोत केन्द्रको २ तले भवन जिल्ला अस्पताल परिसरमा रहेको लास घर, रिगाउने तालमा रहेको वीरसिंह धामीसहित चारजनाको घर, ब्रहमदेव–७ स्थित नरेन्द्र बहादुर बमको किराना पसल र मन्दिरलगायतलाई पनि बाढीले बगाएको छ ।
खलंगा–२ बस्ने इन्द्रसिंह बिष्टको निर्माण पुरा भएको तीन तले घर बगाउनुका साथै सोही स्थानमा रहेको प्रेम बडुको घर तथा विरहरी राईको मेडिकल पसल, मानबहादुर बम, दिलबहादुर कुँवर, रिउले महरा, बहादुर ठगुन्ना, सुरेस बडुको घरसमेत बाढीले बगाएको छ ।
यसैबीच, दार्चुला धाप–५ बस्ने ३८ बर्षीया सरस्वती रैखौला नदीले बगाई बेपत्ता भएकी छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी भनाई छ ।
महाकाली नदी आसपासमा कटान कार्य जारी रहेकाले असुरक्षित घरका मानिसहरुलाई घरखाली गरी सुरक्षित स्थानतर्फ सार्ने कार्य भईरहेको छ ।
बाढीले जिल्ला प्रहरी कार्यालयको जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवान व्यारेकसमेत जोखिममा रहेकाले उक्त व्यारेकको सर–सामान सुरक्षित स्थानतर्फ सारिएको छ । दार्चुला आउने मोटर बाटो बर्षातकै कारण ठाँउ–ठाँउमा भत्किएकाले बाटोमा अवरोध भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट ६० जना र नेपाली सेनाको ५० जनाको टोली खटिई उद्धार कार्य गरिरहेको प्रहरी भनाई छ बाढीबाट भएको अन्य क्षतिको विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उकु र दत्तु गाउँ विकास समितिका दुईवटा झोलुङगे पुल पनि बाढीले बगाएको छ ।

(तस्विर : नेपाल सेना)

प्रतिक्रिया