ब्राजिलको सानदार सुरुआत

brazilरियो द जेनेरियो, ३ असार । एसियन च्याम्पियन जापानलाई ३–० ले पराजित गर्दै आयोजक ब्राजिलले अन्तरमहादेशीय फुटबल प्रतियोगिता कन्फेडेरेसन कपमा उपाधि दाबेदारी सुरु गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा ब्राजिललाई जित दिलाउने क्रममा अहिलेका सर्वाधिक चर्चित युवा फुटबलर नेयमारसँगै पाउलिन्हो र जोले गोल गरे । खेल सुरु भएको तीन मिनेट पनि बित्न नपाउँदै नेयमारले जापानलाई स्तब्ध पारेका थिए । उनको गोलसँगै ब्राजिल खेलभर हाबी भयो । ४८औँ मिनेटमा पाउलिन्हो र दोस्रो हाफको इन्जुरी समयमा जोले गोल थपे ।

नेयमारले हाफ भलीमा गरेको उक्त गोल निकै स्तरीय थियो । ‘गोल गरेकोमा निकै खुसी छु र त्यत्तिकै खुसी छु, ब्राजिल विजयी भएकोमा पनि ।’ सर्वकालीन महान् खेलाडी पेले जत्तिकै बन्नसक्ने खेलाडीका रूपमा हेरिएका २१ वर्षीय नेयमारले जितपछि भने । केही साताअघि मात्र घरेलु क्लब सान्तोषबाट वर्तमान क्लब फुटबलमा निकै सफल रहेको स्पेनिस बार्सिलोनामा स्थानान्तरण भएका नेयमार आगामी वर्ष ब्राजिलमै विश्वकप हुँदा घरेलु टोली विजेता बन्न सक्नेका बलियो आधार रहेका छन् ।
यस साताभित्र ब्राजिलको यो लगातार दोस्रो जित हो । मैत्रीपूर्ण खेलमा फ्रान्सलाई ३–० ले हराउँदै पाँचपटकको विश्व च्याम्पियन ब्राजिलले आफ्नो खराब लय तोडेको थियो । त्यसअघि खेलिएका पछिल्ला सातमध्ये दुईमा मात्र यस दक्षिण अमेरिकी टोली विजयी हुन सकेको थिएन । लामो समयसम्म टोली जितविहीन रहेपछि ब्राजिलका प्रशिक्षक लुइज फिलिप स्कोलारीको कडा आलोचना भएको थियो । घरेलु मैदानमै हुन लागेको विश्वकप आउन करिब एक वर्ष मात्र बाँकी छँदा आफ्नो टोलीले खेपेको आलोचना सम्भँmदै ब्राजिलका प्रशिक्षक स्कोलारीले भने, ‘सबैभन्दा ठूुलो कुरा नतिजा हो, जुन हामीले ल्याउन सुरु गरेका छौँ ।’
ब्राजिलले समूह चरणका अन्य खेलमा उत्तर अमेरिकी टोली मेक्सिको र युरोपियन टोली इटालीको पनि सामना गर्नेछ । जापानमाथि प्राप्त फराकिलो जितले ब्राजिलको मनोबल भने उच्च भएको छ । समूह ‘बी’मा उरुग्वे र स्पेनसहित चार टोली रहेका छन् । जापान भर्खरै मात्र आगामी ब्राजिल विश्वकपका लागि छनोट हुने पहिलो टोली बनेको थियो । ब्राजिल भने आयोजकका रूपमा विश्वकपका लागि यसअघि नै छनोट भइसकेको छ । यसअघि गत वर्षको अक्टोबरमा पनि ब्राजिलले जापानलाई ४–० ले हराएको थियो ।
यता प्रतियोगिताको उद्घाटन भइरहँदा ब्राजिलका सडकमा हजारौँका संख्यामा उत्रिएका मानिसले सार्वजनिक यातायातमा भाडा बढाएको र शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा लगानी नबढाएको भन्दै सरकारको चर्को आलोचना गरे । ब्राजिलका लागि यो प्रतियोगिता विश्वकप आयोजनाको रियर्सलका रूपमा पनि रहेको छ, जसले यस दक्षिण अमेरिकी टोलीले विश्वकप कसरी आयोजना गर्नेछ भनेर केही सन्देश प्रवाह गर्नेछ ।
मेसिको हयाट्रिक
मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा शनिबार राति अर्जेन्टिनाले ग्वाटेमालालाई ४–० ले पराजित गर्‍यो । अर्जेन्टिनाको जितमा लिओनेल मेसिले हयाट्रिक गरे भने थप गोल एउगुस्टो माटियास फर्डिनान्डले गरे । १५औँ मिनेटमा खेलकै पहिलो गोल गरेका मेसीले ४८औँ मिनेटमा हयाट्रिक पूरा गरेका थिए । अर्को मैत्रीपूर्ण खेलमा थाइल्यान्डले चीनलाई ५–० ले हरायो ।

प्रतिक्रिया