‘बिनासर्त चुनावमा आऊ’

नेपालगन्ज : एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा चुनावको विपक्षमा उभिएका राजनीतिक दलहरूले जनताको राजनीति गरेका हुन् भने चुनावमा विनासर्त भाग लिनुपर्ने बताएका छन् ।
चुनावी मन्त्रिपरिषद् गठनप्रति असन्तुष्ट भई आन्दोलन गर्दै आएका दलहरू चुनावको मिति घोषणाविरुद्ध बन्दमा उत्रिएका बेला दाहालको यस्तो अभिव्यक्ति आएको हो । नेकपा–माओवादी, मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी नेपाललगायत दलहरू चुनावी मन्त्रिपरिषद् गठनपछि असन्तुष्ट छन् । दाहालले चुनाव जनताको लोकतान्त्रिक अधिकारसँग जोडिएको विषय भएको स्पष्ट पार्दै त्यसविरुद्ध जाने राजनीतिक दलहरू जनताका हिमायती हुन नसक्ने बताए ।
‘पहिलो संविधानसभाबाट संविधान जारी गर्न नसक्नु राजनीतिक दलहरूको ठूलो गल्ती हो,’ बाँकेको नरैनापुर गाउँमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै दाहालले भने, ‘तर, त्यसैलाई आधार बनाएर दोस्रो संविधानसभा चुनावको विरोध गरिरहने दललाई जनपक्षीय मान्न सकिँदैन ।’ मधेस, पहाड र हिमाल सबैतिरका जनता चुनावको पक्षमा उभिएको उल्लेख गर्दै उनले परिवर्तनलाई संस्थागत गर्न संविधान निर्माण पहिलो सर्त हुनुपर्ने बताए । ‘जनता कस्तो शासन व्यवस्था चाहन्छन्, त्यसको पक्षमा दलहरूले आफूलाई उभ्याउनुपर्छ,’ उनले भने, ‘एकात्मक शासन प्रणालीले जनताको हित गर्न सक्दैन, संघीयता पछाडी पारिएका जनताको अधिकार र पहिचानसँग जोडिएकाले त्यसविरुद्ध मोर्चाबन्दी गर्नेलाई जनताले चुनावबाट पाखा लगाउँछन् ।’
एकात्मक राज्य व्यवस्थाको पक्षधर सामन्ती, दलाल र प्रतिक्रियावादी संघीयताविरुद्ध षड्यन्त्र गरिरहेको उल्लेख गर्दै उनले त्यस्ता षड्यन्त्रकारीलाई जनताले अबको चुनावबाट पाखा लगाउनुपर्ने धारणा व्यक्त गरे ।
त्यस्तै, आइतबारै बाँकेको परशपुरमा आयोजित सभामा दाहालले चुनावका लागि मत माग्दै भनेका थिए, ‘चुनावमा हामीलाई दुई तिहाइ मत दिनुस् हामी तपाईंलाई नयाँ नेपाल दिन्छौँ ।’ (सौस)

प्रतिक्रिया