एसएलसी नतिजा न्यून भएपछि दुर्गमका प्लस टु संकटमा

उदयपुर, ३ असार । यसवर्षको एसएलसी परीक्षामा उदयपुरका झण्डै तीन दर्जन विद्यालयबाट न्यून संख्यामा विद्यार्थी उत्तीर्ण भएपछि अधिकांश उच्चमावि संकटमा परेका छन् । विद्यार्थी अभावमा कक्षा सञ्चालन गर्न नसक्ने भएपछि संकट आएको हो ।

जिल्लामा सामुदायिक ४३ र चारवटा संस्थागत गरी ४७ वटा उच्चमावि छन् । जसमा नौ वटा उच्चमाविबाट एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । अन्य उमाविमा पनि न्यून विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लामा यस वर्ष ३१ वटा विद्यालय निल भएका छन् । यसपटक जिल्लाको थानपोखरी उमावि ज्यामिरे, उमावि सिवाइ सुन्दरपुर, रसुवा उमावि भुट्टार, उमावि झिल्के पोखरी, उमावि छिद्रिङखोला बर्रे, जनमुखी उमावि बसेरी, महेन्द्रदीप उमावि ताम्लिछा, जनता उमावि रसुवा लाफागाउँ र पशुपति उमावि आँपटारको नतिजा शून्य आएको छ । यी उमाविले यसबर्ष विद्यार्थी नपाउँदा बन्द हुने अवस्थामा छन् ।
शिक्षक अध्यापनभन्दा बढी राजनीतिमा चासो दिने भएका कारण नतिजा शून्य भएको आरोप अभिभावकको छ । जिल्लाको एक उच्च माविका प्रधानाध्यापकले यसवर्ष विद्यार्थी नहुने भएपछि कक्षा ११ नचल्ने पक्का भएको बताए । सो विद्यालयबाट एक जान पनि विद्यार्थी उत्तीर्ण भएका छैनन् भने केही विद्यार्थीले मात्र मौका परीक्षा दिन पाउने भएका छन् ।
जिल्लाको पहाडी गाविसमा रहेको रसुवा उमावि भुट्टारमा पनि विद्यार्थी अभावका कारण उमावि संकटमा परेको छ । ‘जाँते, लाफागाउँ, बलम्ता, बाराहा, नामेटार, पोखरीलगायतका गाविसबाट विद्यार्थी आउथे एक शिक्षकले भने, ‘एसएलसीमा एक जना पनि उतीर्ण नभएपछि बन्द हुने आवस्था आएको छ ।’ जिल्ला शिक्षा अधिकारी दीर्घध्वज चापागार्इंले पनि जिल्लामा न्यून विद्यार्थी प्रवेशीका परीक्षामा उत्तीर्ण भएकाले कक्षा ११ को पढाइ संकटमा परेको बताए । अधिकारीले उमाविमा विद्यार्थी नभएपछि सञ्चालन गर्न संकट परेको बताए । ‘यी उमावि मात्र होइन अन्य उमाविमा पनि विद्यार्थी न्यून उतीर्ण भएका छन्,’ चापागार्इंले भने, ‘कतिपय उमाविबाट परीक्षा दिएका विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका ।’ २० साउनदेखि हुने पुरक परीक्षा पास गरे भने संस्था बचाउनका लागि केही सहयोग मिल्नेछ । गतवर्ष पनि उच्चमाविमा विद्यार्थी न्यून नै थिए । ‘पुरक परीक्षामा विद्यार्थीले केही मेहनतगरे उमावि चलाउन त्यति संकट पर्दैन,’ चापागार्इंले थपे ।
गतवर्ष २७ वटा स्कुलको नतिजा शून्य थियो भने यस वर्ष ३१ विद्यालयको नतिजा शून्य छ । त्यसैगरी गतवर्ष उमावि खाबु, उमावि रूपाटार र उमावि झिल्के परीक्षाकेन्द्रमा उतीर्ण संख्या बढी थियो । तर, यसवर्ष एक जना मात्र उतीर्ण भएका छन् । गत वर्ष विद्यार्थी अभाव भएपछि उमावि हाडेबास आफँैले पैसा खर्च गरेर गाउँ–गाउँबाट विद्यार्थी खोजेर उमावि कायम राख्न भर्ना गरेका थिए । बिएड पास गरेर रोजगारीका लागि जिल्लाबाहिर गएका व्यक्तिको शैक्षिक योग्यताको प्रमाणपत्र मागेर आफँैले राजस्व तिरी उमावि चलाएका थिए । परीक्षा दिने बेला विद्यार्थी उनुपस्थित भएको स्रोतले बतायो । यसवर्ष पनि जिल्ला शिक्षा कार्यालयले अनुगमन कडाइकासाथ नगरे गतवर्षको जस्तै हुने स्थानीय अभिभावक बताउँछन् ।

प्रतिक्रिया