बन्द फिर्तासँगै जनजीवन सहज हुँदै

Bandaकाठमाडौं, २ असार । नेकपा–माओवादीसहितका साना दलहरुले आह्वान गरेको बन्द फिर्ता भए लगत्तै मुलुक भरिको जनजीवन सहज भएको छ ।
बन्द खुल्ने वित्तिकै सवारी साधन सुचारु भएका छन् । बन्द रहेका बजार, पसल खुलेका छन् भने सर्वसाधारणको चहल/पहल पनि शुरु भएको छ ।
सरकारले एकलौटी रुपमा निर्वाचनको मिति घोषणा गरेको विरोधमा नेकपा–माओवादीसहितका साना दलहरुले नेपाल बन्द आह्वान गरेका हुन् ।
यसैबीच, बन्दकर्ताले दाङमा तीन वटा सवारी साधनमा तोडफोड गरेर क्षतिपुर्‍याई दिएका छन् ।
घोराही नगरपालिका–११, कटुवा खोला नजिक लु.१ ख ३२३८ नम्वरको बस, ना.४ ख ८२७३ नम्वरको मालबाहक ट्रक र रा.१ त ११९८ नम्वरको ट्याक्टरमा बन्दकर्ताले तोडफोड गरेका हुन् ।
उता, गोरखामा पनि बन्दकर्ताले खोलखाले–३ मा बा. ५ च ८२३८ नम्वरको कारमा ढुंगा प्रहार गरी सिसा फुटाई दिएका छन् ।
त्यसै गरी, झापामा मोटरसाइकलमा आएका २ जना बन्दकर्ताले मे.१ च १०१५ नम्वरको मारुती भ्यानलाई ढुंगा प्रहार गरी क्षति पुर्‍याएका छन् ।
यता, कैलालीमा पनि बन्दकर्ताले से.१ ख ३६४ नम्वरको ट्रकमा ढुंगा प्रहार गरी क्षतिपुर्‍याएका छन् । उनीहरुले सोही स्थानमा रहेको अवस्थी मिलको प्लाष्टिकको कुर्सी २ थान, टेबुल १, टेबुलको सिसा, टेलिफोन १ र ढोकाको सिसामा समेत क्षति पुर्‍याएका छन् ।
बन्दकर्ताले मकवानपुरको हेटौडा नगरपालिका–१० मा ना.४ ख ४६०४ नम्वरको ट्रकमा पनि क्षतिपुर्‍याको प्रहरीले जनाएको छ । (फाईल तस्विर)

प्रतिक्रिया