शिक्षकद्धारा अनिश्चितकालीन विद्यालय बन्द

Talabandiराजविराज, २ असार । आफुहरुको सञ्चयकोष तथा शाब्दिक बीमा रकम प्रधानाध्यापकले दुरुपयोग गरेको भन्दै शिक्षक तथा कर्मचारीले नै सप्तरीको एक विद्यालयमा अनिश्चितकालीन तालावन्दी गरेका छन् । जिल्लाको पूर्वी उत्तर गाविस फत्तेपुर स्थित गोवर्धन वैरागी जनता उच्चमाविमा शिक्षक कर्मचारीले आज तालावन्दी गरेका हुन ।
प्रअ दिनेश्वर यादवले विद्यालयमा कार्यरत डेढ दर्जन शिक्षक तथा आधा दर्जन कर्मचारीको १८ महिनाको सञ्चय कोषको रकम, २८ महिनाको साब्दिक जिवन विमा रकम र सोहि अवधिको १ प्रतिशत आयकर कट्टी गरी बैकमा जम्मा नगरेको शिक्षहरुको आरोप छ । शिक्षकको मासिक तलववाट १० प्रतिशत र सरकारले थप्ने १० प्रतिशत गरी मासिक २० प्रतिशत रकम सञ्चय कोष कार्यालयमा जम्मा हुनु पर्नेमा १८ महिनादेखि १५ शिक्ष्ँक र ५ कर्मचारीको सञ्चयकोषमा कुनै रेकर्ड नभएको शिक्षक बाबुल बस्नेतले बताए । हाल माविको १८ हजार ७ सय, निमाविको १४ हजार ४ सय ८० र प्राविको १३ हजार ७ सय ५० तलव स्केल रहेको जानकारी दिदै आफु एक्लैको मात्र करिब ५० हजार रकम दुरुपयोग भएको उनले गुनासो गरे ।
आफुहरुको रकम दुरुपयोग भएको विषयमा पटक पटक जानकारी गराउदा प्रअ यादवले एक महिनाको समय माग गरेको र सो समयसीमामा पनि हिसाव फरफारक नगरेपछि बाध्य भएर विद्यालयमा तालावन्दी गरिएको विष्णुदेव चौधरीले बताए । तालावन्दीका कारण हाल विद्यालयको पठनपाठन तथा प्रशासनिक कामकाज पुर्णरुपमा ठप्प भएको स्थानीय खगेन्द्र कार्कीले वताए ।
रकम दुरुपयोग विषयमा प्रअ यादवसग सम्पर्क नभए पनि जिल्ला शिक्षा अधिकारी रुद्रहरी भण्डारीले भने आफुलाई सो विषयमा जानकारी नभएको बताउदै तत्कालै प्रअ यादवलाई सम्पर्क गरी समस्या समाधानमा पहल गर्ने वताए । यद्यपी १८ महिनादेखि सञ्चय कोषको रकम जम्मा नभएको भन्ने शिक्षकहरुको आरोप भने निराधार हुन सक्ने उनले बताए । (फाईल तस्विर)

प्रतिक्रिया