महामन्त्री र १५ केन्द्रीय सदस्यको सूची तयार

suryabahadur-Dhankutaकाठमाडौं, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले महामन्त्रीसहित १५ केन्द्रीय सदस्यमा मनोनयनको अन्तिम तयारी गरेका छन् ।
स्रोतका अनुसार अध्यक्ष थापाले महामन्त्रीमा दीपक बोहरालाई नियुक्त गर्ने तयारी गरेका हुन् । पार्टी एकीकरण हुनु अघि पनि बोहरा राप्रपामा महामन्त्री थिए ।
थापाले पार्टीको प्रवक्ता र सह–प्रवक्ता पनि नियुक्त गर्दै छन् । प्रवक्ताको जिम्मेवारी ठाकुरप्रसाद शर्मा र सह–प्रवक्ताको जिम्मेवारी किरण गिरीले पाउन स्रोतको भनाई छ ।
अध्यक्ष थापाले केन्द्रीय सदस्यमा ठाकुरप्रसाद शर्मा, किरण गिरी, नीलकण्ठ काफ्ले, ईन्द्रप्रसाद ढुङ्गेल, रामकृष्ण भट्टराई, बाबुराम बस्नेत, मोहनराज मल्ल, पदमबहादुर बस्नेतलगायतलाई केन्द्रीय सदस्यमा मनोनयन गर्न सूची तयार बनाएका छन् ।
पार्टीमा कुनै बाधाव्यवधान नआएमा भोलि (सोमबार) बेलुका सम्म अध्यक्ष थापाले केन्द्रीय समितिलाई पूर्णता दिने छन् ।
यसैबीच, राप्रपाले असार महिना भित्र चुनावी सभा गर्ने भएको छ । पाँच विकास क्षेत्रमा हुने सभालाई अध्यक्ष थापा, वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्ने कार्यक्रम तय भईसकेको स्रोतको भनाई छ ।
काठमाडौंमा हालै सम्पन्न एकता महाधिवेशबाट राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण भई ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ भएको थियो ।

प्रतिक्रिया