जनताले फेरि साथ दिन्छन् : दाहाल

Puspakamal-Dahalचितवन, २ असार । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको दोस्रो चुनावमा पनि जनताले आफ्नो पार्टीलाई नै विश्वास गर्ने बताएका छन् ।

‘संविधानसभाको दोस्रो चुनावमा एमाओवादीलाई जनताले दुईतिहाइ मत दिन्छन् । त्यसपछि बलियो सरकार निर्माण होस् । पाँच वर्षसम्म,’ पार्टीनिकट अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनको चौथो राष्ट्रिय सम्मेलनको शनिबार चितवनको खैरेनीमा उद्घाटनपछि दाहालले भने, ‘तब १० वर्षमा नेपाल समृद्ध हुनेछ । २० वर्षपछि विश्वमा नेपालको अलग पहिचान हुनेछ ।’
दाहालले चुनावपछि बन्ने आफ्नो पार्टी नेतृत्वको सरकारले पाँच वर्षमा आर्थिक समृद्धिको आधार तयार गर्दै विश्वमा अलग पहिचान बनाउने दाबी गरे । जनताले आफूहरूलाई बुझेकाले चुनावमा दुई तिहाइ बहुमत ल्याउन कसैले नरोक्ने दाबी गर्दै उनले हेटौँडा महाधिवेशनपछि पार्टीमा जनलहर बढेकाले फेरि जनताले साथ दिने विश्वास व्यक्त गरे । ‘एकीकत माओवादीले दोस्रो चुनावमा पनि बहुमत ल्याउने डरले हाम्रो पार्टीलाई कमजोर बनाउन हजार किसिमका षड्यन्त्र भइरहेका छन्,’ उनले भने, ‘एकीकृत माओवादीले दुई तिहाइ बहुमत ल्याउने डरले मंसिरमा चुनाव हुन नदिन हजार किसिमका डिजाइन बुनिरहेको छ । अझ मिडियालाई समेत त्यही किसिमले परिचालित गरेका छन् । तर, तपाईंहरू नडराउनुहोस जनताको माया र मत एमाओवादीसँग छ ।’
एमाओवादीको चुनावी एजेन्डाको विरोधमा ठूलो डिजाइन बन्दै गएको दाबी गर्दै उनले त्यस्ता डिजाइनलाई निस्तेज पार्न सबैभन्दा ठूलो हतियार जनता आफूहरूको पक्षमा रहेको जिकिर गरे । ४ मंसिरका लागि घोषित चुनाव नगराउन तानाबाना बुनिरहेको भन्दै उनले देशभित्र र बाहिरका केही तत्त्वले एमाओवादीको परिवर्तनको एजेन्डालाई निस्तेज पार्ने योजना बनाइरहेको आरोप लगाए । देशमा परिवर्तन चाहने र  नचहाने पक्षबीच अझै द्वन्द्व चलिरहेकाले शिक्षकले विचार परिवर्तन गर्नसक्ने भन्दै उनले परिवर्तनलाई संस्थागत गर्नमा सहयोग पुर्‍याउन आग्रह गरे । उनले जनयुद्धदेखि ०६२/६३ को जनआन्दोलनबाट जनताले गरेको अपेक्षा धरापमा रहेको उल्लेख गरे ।
उपाध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसभाको दोस्रो चुनावमा आफूहरूलाई भोट दिन आग्रह गरे । नयाँ घर निर्माण गर्न बाँकी रहेको उल्लेख गर्दै नेता भट्टराईले आमूल परिवर्तन आवश्यक रहेको बताए । अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश विकासका लागि शिक्षा अपरिहार्य रहेको उल्लेख गर्दै वैज्ञानिक शिक्षा र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरे । शिक्षक संगठनको बन्दसत्र सौराहामा भइरहेको संगठनका चितवन अध्यक्ष पूर्ण दवाडीले जानकारी दिए । तीन दिनसम्म चल्ने सम्मेलनमा प्रतिनिधि पर्यवेक्षक गरी एक हजार एक सय जना सहभागी छन् । सात सय प्रतिनिधि, तीन सय पर्यवेक्षक र एक सय आयोजक समितिका सहभागी बनेको संगठनका संयोजक तुलसी घिमिरेले बताए । सम्मेलनमा करिब २७ लाख खर्च हुने आयोजकले जनायो ।

प्रतिक्रिया