लघु उद्यमी बन्दै दलित समुदाय

Dadeldhura Districtडडेल्धुरा १ असार । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका ७ पोखराका दलित समुदाय अहिले लघु उद्यमी बन्दै गएका छन् ।
परम्परागत रुपमा बनाईदै आएका बाँसबेतका सामाग्रीहरुको बजारमा माग बढ्न थालेपछि पोखरा तिलाडीका दलित समुदाय व्यवसायीक रुपमा यो पेशामा लागेका छन् । युवादेखी वृद्धवृदा अहिले दैनिक बासँनिङ्गालो र बेतबाट डोको, छाप्रा, नाङ्लो, किताव राख्ने ¥याक, दराजजस्ता विभिन्न सामाग्रीहरु बनाएर डडेल्धुरा जिल्ला बाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी, बझाङ सम्म विक्रि वितरण गरिरहेका छन् ।
पहिले पहिले यो पेशा हेलाको रुपमा रहेको भएपनि अहिले गैरदलितसमुदाय समेत यो पेशामा लागेको पोखरा ७ तिलाडीका चन्द्र बहादुर कैनीले बताए । उनले भने –‘यो पेशामा लागेको १३ वर्ष भयो मासिक १५ देखी २० हजार यसै पेशावाट कमाएको छु ।’
पहिले महाभारतको लेकबाट निङ्गालो र बेत ल्याउने गरेको भएपनि केही समय यता सामुदायिक बनहरुले रोक लगाएपछि बझाङबाट कच्चा पदार्थ किनेर ल्याउने गरेको उनले बताए । पोखरा ७ का दलित समुदायले जनकल्याण सहकारी संस्था लिमिटेड दर्ता गरेर व्यवसाय संचालन गरिहेका छन् । पोखराको तिलाडी गाउमा एक सय दलित परिवार रहेको छन् । उनीहरु अहिले सहकारीमा आवद्ध भई सामुहिक रुपमा सामाग्रीहरु निर्माण गरि विक्रि वितरण गर्दै आएका छन् ।
सहकारी निर्माण गरेपछि बैकहरुबाट क्रण लिन पनि सजिलो भएको सहकारीका अध्यक्ष लक्ष्मण कैनीले बताए । सामाग्री विक्रि गरेपछि केही पैसा सहकारीमा राख्ने गरेको समेत उनले बताए ।
‘निङला बासको काम गर्नका लागी आधुनिक मेशिनहरुको अभाव हुदा माग अनुसारका सामाग्रीहरु बनाउन सकिरहेका छैनौ, यसका लागी हामीलाई सहयोगको खाँचो छ,’ कैनीले भने ।
यहाँ बनाइएका हस्तसामग्रीको बाहिरी जिल्लामा माग बढ्दै गएपनि यातायात भाडादर महङ्गो भएकोले लैजान समस्या रहेको स्थानीयको गुनासो छ ।
सहभागीहरुले अहिले सम्म पुरानै प्रविधिहरुबाट काम गरिरहेकोले अव व्यवसायीक रुपमा अगाडी बढ्नका लागी नयाँ प्रविधि ज्ञानसिप सिकाई सहयोग गरिदिन आग्रह गरेका थिए ।
परम्परागत सिपलाई परिमार्जन गरि लक्षित समुदायसम्म पुरयाउनु पर्ने उद्यम विकास सहजकर्ता किशोर कैनीले बताए ।

प्रतिक्रिया