सेवामा कुनै अवरोध नगर्ने प्रतिबद्धता

दोलखा, १ असार । दोलखाका राजनीतिक दल, नागरिक समाज तथा सम्बन्धित सरोकारवालाले बन्द, हड्तालका बेला पनि एम्बुलेन्स सेवामा कुनै अवरोध नगर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष एवं दोलखाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको अध्यक्षतामा भएको बैठकमा जिल्लाका सरोकारवालाले यस्तो प्रतिबद्धता जनाएका हुन् । जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी दोलखा शाखा र आइसीआरसीको संयुक्त आयोजनामा भएको बैठकले एम्बुलेन्स सेवालाई थपव्यवस्थित र प्रभावकारी बनाउन नौ बँुदे निर्णय गरेको छ । जसअनुसार दोलखाका एम्बुलेन्समा न्यूनतम ग वर्गमा हुने उपकरणको व्यवस्था गर्ने, एम्बुलेन्सको दुरूपयोगलाई रोक्ने, तेस्रो पक्ष बिमा अनिवार्य गरी आम्दानी विवरण सम्बन्धी अर्धवाषिर्क रूपमा प्रतिवेदन जिल्ला स्वास्थ्य कार्यालयमा बुझाउने निर्णय गरिएको छ । यस्तै, एम्बुलेन्स सेवालाई दुरूपयोग हुन नदिन सञ्चालन भएको दिनको अनिवार्य लक बुक राख्ने र नागरिक समाजका अगुवा तथा पत्रकारबाट अनुगमनको व्यवस्था मिलाइने भएको छ ।
विभिन्न दातृ निकाय एवं गाविसको सहयोगमा दोलखामा हाल १६ वटा एम्बुलेन्स रहेका छन् । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले चरिकोटदेखि काठमाडौंसम्मको भाडा ६ हजार र पक्की सडकमा प्रतिकिलो मिटर ५० र कच्ची सडकमा ७५ रुपियाँका दरले भाडा निर्धारण गरेको छ ।

प्रतिक्रिया