सडकबत्तीले चोरी–डकैती हट्यो

देउखुरी, १ असार । केही महिना पहिले लमही बजार बासी राति पसल चोरिने समस्याले खुबै सताइए । राति अध्यारो हुने भएकाले सजिलै चोरले पसल फोडेर सामान लैजान थालेपछि तनाव खेप्न बाध्य बजारवासीले बजारमा सडक बत्ती र चौकीदारको माग गरे । बजारवासीको मागअनुसार देउखुरी उद्योग वाणिज्य संघले बजारका मुख्य–मुख्य ठाउँमा सडक बत्ती र चौकीदारको तयारी गर्‍यो । अहिले लमही बजार उज्यालो छ । राति हिँडडुल गर्ने व्यक्ति सजिलै चिन्न र देख्न सकिन्छ । ‘सडक बत्ती राखेपछि चोरीडकैतीका घटनामा कमी आएका छन्,’ वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद बेल्वासेले भने ।

कोइलावास रोड, लमही गल्ली, कान्छीरोड, पिसियो रोड, शाहा मार्ग, बगैँचा रोड, बैंक रोड, राजमार्ग क्षेत्रमा ६० वटा सडक बत्तीको व्यवस्था गरिएको छ । अन्य स्थानमा पनि सडक बत्ती विस्तार गर्ने योजना रहेको वाणिज्य संघका कार्यालय सचिव भेषराज भट्टराइले बताए । ‘उपभोक्ताबाट सडक बत्तीको माग बढ्दो छ । बजार क्षेत्रमा सडक बत्ती राखिएकै कारण चोरीका घटनामा कमिए आएको छ,’ वाणिज्य संघका उपाध्यक्ष गंगाराम भट्टराईले भने ।
विगतका वर्षमा पनि बजार क्षेत्रमा सडक बत्ती नराखिएको भने होइन । लमही नगर विकास समितिले बजार क्षेत्रमा सडक बत्ती हाले पनि त्यसको सुरक्षा र महसुल बुझाउनेमा समस्या भएपछि सडक बत्ती हटाइएको थियो । ‘नगर विकास समितिको लगानीमा सडक बत्ती थियो । तर, महसुल बुझाउने र बत्तीकै सुरक्षामा कमी आएपछि रोकियो,’ समितिका सबइञ्जिनियर तुलसिराम अर्यालले भने । सडक बत्ती बाले बापत व्यापारीले शुल्क तिर्दै आएका छन् । लमहीका व्यापारीले मासिक एक सय रुपियाँ शुल्क सडक बत्ती र चौकीदार राखे बापत वाणिज्य संघमा बुझाउँदै आएका छन् । विगतमा बत्ती महसुल नतिरेकै कारण लाइन काटिएको थियो । तर, अहिले भने नियमित विद्युत्लाई महसुल बुझाइदै आएको छ ।
अन्य ठाउँमा पनि बत्ती
गढवा, सिसहनीया, नर्ती क्षेत्रमा पनि सडक बत्ती राखिएको छ । गढवाबजार व्यवस्थापन समितिले बजार क्षेत्र र गाउँ क्षेत्रमा सडक बत्ती विस्तार गरेको हो । त्यसैगरी प्रगति नगरबजार व्यवस्थापन समिति सिसहनीयाले पनि बजार क्षेत्रमा सडक बत्तीको व्यवस्था गरेको छ । सोनपुर नर्ती क्षेत्रमा भने स्थानीय वासिन्दाले भैलो खेलेको रकम र स्थानीय रूपमा पैसा संकलन गरी सडक बत्ती राखेका छन् । गढवामा २४ वटा सडक बत्ती छन् । महसुल बजार व्यवस्थापन समितिले तिर्दै आएको बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष युवराज पोख्रेलले बताए । यसैगरी प्रगति नगर बजार व्यवस्थापन समितिले सिसहनीयाले पनि बजार क्षेत्रमा सडक बत्ती बाल्दै आएको छ । उपभोक्ताबाट पैसा उठाएर बत्तीको महसुल तिरिँदै आएको छ । सोनपुर नर्तीका उपभोक्ताले पनि राजमार्गसँग जोडिएको बजारलाई उज्यालो बनाएका छन् ।

प्रतिक्रिया