अवैध प्लटिङले विजयपुर प्रभावित

Dharanधरान, १ असार । धार्मिक र पुरातात्विक महत्त्व बोकेको धरानको विजयपुर पछिल्लो समय धार्मिकभन्दा जग्गा प्लटिङको कारण चर्चामा छ । विजयपुर धार्मिकस्थल भएका कारण धरान नगरपालिकाले कसैलाई पनि त्यस क्षेत्रमा डोजर चलाउने अनुमति दिएको थिएन । तर, जग्गा धनी र दलालहरूले डोजर लगाएर प्लटिङ गर्ने गरेका छन् । जसका कारण स्थानीयवासी जग्गा प्लटिङ गरकै ठाउँबाट भूक्षय हुन सक्ने सम्भावनाका कारण त्रसित छन् ।

साथै प्लटिङका कारण पर्यटक पनि प्रभावित हुने स्थानीयवासी बताउँछन् । धार्मिक पर्यटनलाई जोगाउन दातृ निकायले ध्यानकर्षण हुनु पर्ने स्थानीयवासीको भनाइ छ । विजयपुरमा बूढा सुब्बा, पञ्चकन्या, दन्तकाली र पिण्डेश्वरी मन्दिरलगायत रहेका छन् । ती मन्दिर वरिपरि खुला रहेका जग्गाहरूमा प्लटिङ गरिएका छन् । जग्गामा कोहीले घर निर्माण गर्नसमेत सुरु गरेका छन् । गत वर्षदेखि नै प्लटिङ असर पर्न थालिसकेको थियो । राम राईले डाँडागाउँमा जग्गा प्लटिङ गरेपछि पिण्डेश्वरी मन्दिरका पोखरीलाई गत वर्षा बाढीले पूरै पुरेको थियो । अघिल्लो वर्ष धरान–१४ डाँडागाउँमा गरिएको अव्यवस्थित जग्गा प्लटिङका कारण पिण्डेश्वर मन्दिर क्षेत्रको सरस्वती कुण्डमा माटो थुप्रिएर कुण्ड फुट्ने अवस्थामा पुगेपछि सरोकारवालाको पहलमा नगरपालिकाले विजयपुर क्षेत्रलाई महत्त्वपूर्ण क्षेत्र भएको भन्दै क्षेत्रमा डोजर, स्काभेटर प्रयोग गर्न नपाउने निर्णय गरेको थियो । त्यसपछि प्लटिङको काम केही समय रोकिए पनि गत फागुनमा धरान–१४ नारायणपुरमा डोजर प्रयोग गरेर अर्को प्लटिङ गरिको थियो । स्थानीय पुरुषोत्तम भट्टाईले बेचेको करिब एक बिघा जग्गा त्यसरी प्लटिङ गर्ने काम धरान नगरपालिकाकै ओभरसियर किशोर अधिकारीलगायतको समूहले गरेको स्रोतले बतायो । बस्तीलाई असर पर्नेगरी नगरपालिकाकै कर्मचारीको संलग्नतामा भएको सो प्लटिङको व्यापक विरोधपछि जग्गा अर्कैलाई बेचिएको स्थानीयवासी बताउँछन् ।
धरान–१४ हात्तीसारका वीर्खबहादुर श्रेष्ठबाट किनेर डोजर प्रयोग गरी प्लटिङ गरिएको खत्रिधारानजिकको ५४ कट्ठा जग्गामा पनि अहिलेसम्म कुनै निर्माण कार्य भएको छैन । धरान १३ का देवु सिटौलालगायतले प्लटिङ गरेको सो जग्गा त्यति बेलै युवा समूहबीच कमिसन नमिल्दा डोजर लगाउन नदिएपछि रोकिएको स्थानीयको भनाइ छ ।
जग्गा भित्रभित्र बिक्री भइरहेका यस्ता स्थानमा हाल निर्माण कार्य नभए पनि भविष्यमा ठूला भवन निर्माण हुने सम्भावना छ । डाँडागाउँमै राजेन्द्र शर्माबाट किनेर सम्राट श्रेष्ठले प्लटिङ गरेको जग्गामा त कंक्रिट भवन बन्न थालिसकेको छ । यसैगरी धमाधम आधुनिक घर थपिँदै गए विजयपुरको मौलिकता हराउन धेरै समय नलाग्ने स्थानीय बुद्धिजिवी बताउँछन् ।
धरान–१४ विजयपुरका वडा सचिव लालबहादुर क्षेत्रीले नगरपालिकाले आधिकारी रूपमा आफूलाई जग्गा प्लटिङ गर्नका लागि अनुमति नदिए पनि प्लटिङ गर्नले आफैँ मनोखुसी जग्गा प्लटिङ गरेको बताए ।

प्रतिक्रिया