होसियार फन्दामा परिएला

देउखुरी १ असार । सार्वजनिकस्थलमा तपार्इं कतै चुरोट, सुर्ती, खैनी त खाँदै हुनुहुन्न् । यदि खाँदै हुनुहुन्छ भने तपार्इं प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ । अनि कानुन बमोजिम एक महिना कैद र दस हजार रुपियाँ जरिवाना तिर्नुपर्ला । नियमविपरीत सार्वजनिक स्थलमा मध्यपान, धुम्रपान र सुर्ती जन्य वस्तुको सेवन गरिरहुनुभएको छ भने प्रहरीले पक्रन सक्छ । वडा प्रहरी कार्यालय लमहीले अब सार्वजनिक स्थलमा मध्यपान, धुम्रपानलगायत सुर्ती जन्य वस्तुको सेवन गर्ने व्यक्तिलाई कारबाही गर्ने अभियान चलाएको छ । ‘सार्वजनिक स्थलमा धुम्रपान, मध्यपान तथा सुर्ती जन्य वस्तुको सेवन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्ने अभियान चलाएका छौँ,’ प्रहरी प्रमुख मेहन्द्र नेपालले भने, ‘समाजमा दिनप्रति दिन यसैका कारण विकृति बढ्दै जान थालेको छ ।’ प्रहरीले पहिलो चरणमा सम्झाउने अभियान चलाइरहेको छ । सडक, चौपारी, पार्टी, पौवा, प्रतीक्षालयलगायतका स्थानमा सुर्ती, चुरोट खाइरहेका व्यक्तिलाई यसो नगर्न भनी सम्झाउने काम गरिरहेको नेपालले बताए । ‘पहिलो चरणमा सम्झाउने अभियान चलाएका छौँ,’ नेपालले भने, ‘सम्झाउने अभियानअन्तिम चरणमा छ ।’ वडा प्रहरी कार्यालय लमहीले शुक्रबार लमहीमा जेठ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै सार्वजनिक स्थलमा धुम्रपान र सुर्तीजन्य वस्तुको सेवन गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने अभियान चलाएको जनाएको हो ।

जेठभर जघन्य अपराध शून्य
वडा प्रहरी कार्यालय लमहीले आफ्नो क्षेत्रभित्र जेठ महिनाभर जघन्य अपराध नभएको जनाएको छ । शुक्रबार मासिक पत्रकार सम्मेलनमा प्रहरी प्रमुख महेन्द्र नेपालले जेठ महिना भर आफ्नो क्षेत्रभित्र जघन्य अपराध शून्य भएको बताए । ‘जेठ महिनाभर जघन्य अपराध शून्य भयो,’ उनले भने, ‘तर जघन्य अपराध नभए पनि अन्य घटना भने घटेका छन् ।’ महिना दिनमा विभिन्न विषयमा अनुसन्धानका लागि प्रहरी कार्यालयमा ५५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ । मापदक पदार्थ सेवन, झै झगडा, सवारी दुर्घटना, सोधपुछका लागि महिला तथा पुरूष गरी ५५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । अपराध शाखामा १० वटा ठाडो रूपमा निवेदन परेको छ । जयमध्ये अधिकांश झै झगडा र महिला हिंसा सम्बन्धी छन् । ठाडो निवेदनमा आएका मुद्दा मध्ये सातवटा दुवै पक्षको समझदारीमा मिलापत्र गरिएको छ भने तीनवटा विषय मिलापत्रनजिक छन् । महिला तथा बालबालिका सेवा केन्द्रले विभिन्न स्थानका बालबालिकालाई अलपत्र अवस्थामा फेला पारेपछि उद्धारगरी सम्बन्धित अभिभावकलाई जिम्मा लगाएको छ । घर छोडी भागेका, अलपत्र अवस्थामा भेटिएका ६ जनालाई आफन्तको जिम्मा लगाइएको प्रहरी प्रमुख नेपालले बताए । त्यसैगरी नागरिक साहेता कक्षबाट सात जनाले सेवा लिएका छन् । यता जेठ महिना भर सवारी कारबाहीबाट एक लाख ७२ हजार नौ सय ५० रुपियाँ राजस्व संकलन भएको छ । एक हजार ५९ सवारी कारबाहीमा परेका थिए । जसमध्ये ८९ बस, ६ सय ३७ ट्रक, ९७ जिप कार, एक सय ४३ मोटरसाइकल र ८४ ट्याक्टर कारबाहीमा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया